फेडेररलाई एक सयौं एटीपी टुर उपाधि
दुबई : दुबई टेनिस च्याम्पियनसिपको उपाधि स्विट्जरल्यान्डका प्रभावशाली खेलाडी रोजर फेडेररले जितेका छन्। यो उपाधिसँगै फेडेररले एक सयौं एटीपी टुर उपाधिको कोशेढुंगा पनि पार गरेका छन्।
३७ वर्षीय फेडेररले पहिलो एटीपी टुर उपाधि जितेको ६ हजार ६ सय दिनपछि एक सयौं उपाधिको कोशेढुंगा पार गरेका हुन्। उनले सन् २००१ को फेब्रअरी ४ तारिखमा इटालीको मिलानमा आफ्नो खेल जीवनको पहिलो एटीपी टुर उपाधि जितेका थिए। त्यतिबेला उनले फाइनलमा फ्रान्सका युलियन बुटरलाई हराएका थिए।
फेडेररले दुबई टेनिस च्याम्पियनसिपको फाइनलमा ग्रिसका स्टेफानोस सिसिपसलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरे। फेडेररले हालसम्म २० पटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि पनि चुमिसकेका छन्।
उनले हालसम्म ६ पटक अस्ट्रेलियन ओपन, एक पटक फ्रेन्च ओपन, आठ पटक विम्बल्डन र पाँच पटक यूएस ओपनको उपाधि जितेका छन्।
‘मेरो सपना पुरा भएको छ। मेरा लागि सबैभन्दा खुसीको दिन हो’, दुबई टेनिस च्याम्पियनसिपको उपाधि चुमेपछि उनले भने। उनी सोमबार एटीपी बरियताको चौथो नम्बरमा उक्लने छन्।
फेडेरर एक सयौं एटीपी टुर उपाधि जित्ने विश्वकै दोस्रो खेलाडी हुन्। यसअघि सन् १९८३ मा अमेरिकाका जिमी कोनर्सले यस्तो उपलब्धि हासिल गरेका थिए।
‘मैले पहिलो एटीपी टुर उपाधि जित्दा स्टेफानोस जन्मिएका थिए वा थिइनन् मलाई थाहा छैन। तर, विश्व टेनिसमा उनको भविष्य उज्ज्वल छ’, फेडेररले स्टेफानोसको प्रशंसा गरेका छन्। स्टेफानोस सन् १९९८ को अगस्तमा जन्मिएका हुन्।