सिन्धुलीमा माझी समुदायले लदीघाट धुमधामका मनाउँदै
सिन्धुली : माझी जातिको सबैभन्दा ठूलो सांस्कृतिक पर्वको रुपमा मानिने (लदी घाट)पूजाको अवसरमा शुभकामना आदान प्रादन गरिएको छ। नेपाल माझी उत्थान संघ मरिन गाउँपालिकाको आयोजनामा सोही गाउँपालिका- ६ मरिण छापस्थित धमीलेमा सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा शुभकामना आदन प्रदान गरिएको हो।
माझी जातिले फागुन २१ गते विशेष धुमधामका साथ लदी पूजा गर्दैछन्। माझी जातिले नदी (घाट)मा गएर डुंगा र नदीको पूजा गर्ने पर्वलाई कोशी या घाटपूजा समेत भनिन्छ। सोही अवसरमा कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री दुलालको उपस्थिति रहेको थियो। कार्यक्रममा दुलालले आदीवासी जनजाती माझी समुदायकै ठूलो पर्वका रुपमा मानिने लदी पूजाले धार्मिक र सांस्कृतिक रुपमा सबै समुदायले जोड्दै लैजान सहयोग पुर्याएको बताए।
उनले भने, 'नेपालको संविधानमै भाषा, धर्म र संस्कृतिलाई मौलिकहकमा उल्लेख गरेकाले लोपउन्मुख जाती र समुदायको संस्कृतिको जगेर्ना गर्न सरकार लागिपरेको छ।'
प्रकृति पुजक माझी समुदायको महान पर्व कोसी पूजा (लदि पर्व) को पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा विविध सांस्कृतिक झाँकीसहित नाच, गान प्रस्तुत गरिएको थियो। माझी जातिको घना वस्ती रहेको मरिणमा लदी पूजाको उपलक्ष्यमा मरिण गाउँपालिकाले फागुन २१ गते सार्वजनिक विदा दिएको छ।