देही आर्ट : कला साहित्य उत्सवमा चित्रको सामाजिक चेतना (भिडियो)
काकडभिट्टा : नेपालको पूर्वी नाका काकडभिट्टा यति बेला कला साहित्य उत्सवमा ब्यस्त छ । यो उत्सवमा समसामयिकदेखि साहित्यिक मुद्दामा पनि गर्मागर्मी बहस भइरहेको छ ।
देही आर्टसहित विभिन्न संघ संस्थाको आयोजनामा भइरहेको यो कला साहित्य उत्सवमा आइतवार विभिन्न छ वटा विद्यालयका भाइ बहिनी चित्रकला प्रतियोगितामा सहभागी भए ।
देशको पूर्वी प्रवेशद्वारका भित्ता भित्तामा यसअघि नै फरक फरक चित्रकलाले सजाइएको छ । देही आर्टका कलाकारले पुर्वी नाकाको प्रवेशद्वार सजाएसँगै यो कलाको चर्चा भइरहेको छ।
कला साहित्य उत्सवमा पनि देही आर्टको चर्चा भइरहेको छ। आखिरी के हो त देही आर्ट ? 'देही आर्ट भनेको भित्री मनैबाट आफ्नो भावना चित्रकलामार्फत् निकाल्ने एउटा विधि हो', नानीबाबुबलाई साहित्य उत्सवमा लिएर आएका ताराकुञ्ज बोर्डिङ स्कुलका शिक्षक दिपेश सुवेदी भन्छन्', 'यस्ता खालका चित्रले समाजलाई चेतना र सन्देश पनि दिइरहेका हुन्छन् ।'
ताराकुञ्ज बोर्डिङका आर्टिस्ट शिक्षक पनि रहेका सुवेदीले देही आर्टमार्फत् समाजमा गतिलो सन्देश दिन सकिने सुनाए। त्यसकै नानीबाबुलाई कला साहित्य उत्सवमा लिएर आएको उनले बताए । कला साहित्य उत्सवले नानीबाबुलाई राम्रो प्लेटफर्म दिएको पनि उनले सुनाए ।
'यो कला हामीले स्कुलमा पनि सिकाइरहेका छौँ, भित्रैबाट भावलाई निकाल्ने आर्ट देही आर्ट भएकाले यो कलामा आत्मा बोल्छ', उनी थप्छन्, 'स्कुलमा किताब र घरमा मोबाइल कम्प्युटरमा व्यस्त हुने नानीबाबुलाई यस्ता सिर्जनात्मक काममा लगाउने गरेका छौँ ।'
शिक्षक सुवेदीले अब नानीबाबुलाई जबरजस्ती पढाउनु भन्दा उनीहरुले मन परेको विषयमा केन्द्रित गराउनुपर्ने बताए । 'पढाईमा कम्जोर भएका विद्यार्थी चित्रकलामा भने एकदमै राम्रो छ भने हामीले उनलाई चित्रकलामै केन्द्रित गराउन खोजेका छौँ', उनले भने ।
भिडियो