१३औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बर १ देखि १० सम्म

१३औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बर १ देखि १० सम्म

काठमाडौं :  नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को नयाँ मिति घोषणा गरिएको छ । नयाँ घोषित मिति अनुसार अब १३औं साग सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै आयोजना हुनेछ । 

थाइल्यान्डको राजधानी बैंककमा शनिबार अबेर सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं सागको नयाँ मिति तय गरेको हो ।

हाल बैंककमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठक भइरहेको छ । सोही अवसर पारेर आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पनि बसेको हो । नेपालले आयोजनाको जिम्मेबारी लिएयता १३औं सागको मिति तेस्रो पटक सारिएको हो ।

सरकारले समयमै बजेट उपलब्ध नगराउँदा भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएको कारण देखाउँदै नुवाकोटको ककनीमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले १३औं सागको मिति सार्ने निर्णय गरेको थियो ।

सोही अनुरुप नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत उक्त प्रस्ताव दक्षिण एसियाली ओलम्पिक काउन्सिलमा पठाइएको थियो । राखेपले आगामी सेप्टेमबरमा सागको नयाँ मिति प्रस्ताव गरे पनि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले भने डिसेम्बरमा आयोजना गर्ने गरी नयाँ मिति तोकेको हो । 

सन् २०१६ को फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागको समापन समारोहमा १३औं साग आयोजनाका लागि नेपाललाई झण्डा हस्तान्तरण गरिएको थियो ।

सोही अनुशार नेपालले सन् २०१८ मै १३औं साग आयोजना गर्नुपर्ने थियो । तर, उक्त समयमा प्रतियोगिता आयोजना हुन सकेन । साग आयोजना हुन नसक्नुको कारण भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइलाई देखाइएको थियो । त्यसपछि काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्चमा प्रतियोगिता आयोजना गर्ने गरी अर्को मिति घोषणा गरेको थियो ।

दोस्रो पटक तोकिएको समयमा पनि प्रतियोगिता आयोजना हुन नसक्ने भएपछि आइतबार डिसेम्बरको नयाँ मिति घोषणा गरिएको हो । देशको प्रतिष्ठासँग जोडिएको साग आयोजनामा ढिलासुस्ती भएपछि दुई साताअघि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पनि यसप्रति गम्भिर चासो ब्यक्त गरेको थियो । संसदीय समितिको छलफलमा सहभागी अधिकांश खेल पदाधिकारीले सरकारको ठोस प्रतिबद्धता बिना १३औं साग आयोजना हुन नसक्ने बताएका थिए ।

छलफल कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ घोषित मितिमा पनि आयोजना गर्न नसकिए नेपालमा १३औं साग हुने सम्भावना कम रहेको दाबी गरेका थिए । 

‘अहिलेदेखि नै गम्भीरतापूर्वक काम थालिएन भने भौतिक पूर्वाधार मात्र निर्माण गरेर पनि नयाँ मितिमा १३औं साग आयोजना हुन सक्दैन’, श्रेष्ठले भनेका थिए, ‘त्यसैले हामी १३औं साग आयोजना गर्न सक्दैनौं भने अहिले अरूलाई छाडेर पछि अर्को संस्करण आयोजना गर्दा पनि हुन्छ । तर, पटकपटक समय तोकेर प्रतियोगिता आयोजना गर्न नसक्दा अन्तर्राष्ट्रिय रूपमा राम्रो सन्देश जाँदैन ।’

सांसदसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले सन् २०१९ भित्र हुन नसके १३औं साग नेपालमा आयोजना हुने सम्भावना निकै कम रहेको धारणा पनि व्यक्त गरेका थिए । उनको भनाइलाई आधार मान्दा १३औं साग आयोजनाका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलले तोकेको नयाँ मिति नेपालका लागि अन्तिम समयसीमा हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.