चर्को ध्वनिले सुन्ने शक्तिमा ह्रास
काठमाडौं : गीत-संगीत सुन्दा कानमा इयर फोन लगाउने बानी छ ? चर्को हर्न बजाउँदै गुड्ने सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्। सुन्ने क्षमतामा ह्रास आउने समस्याले सताउला। एयरफोनमा चर्को ध्वनीकासाथ गीत-संगीत सुन्ने किशोर किशोरीको श्रवणशक्तिमा ह्रास आएको चिकित्सकहरू बताउँछन्।
वीर अस्पतालको नाक, कान घाँटी विभाग प्रमुख डा.ढुण्डिराज पौडेल भन्छन, ‘पहिला संक्रमणको समस्याले सुन्ने क्षमता गुमाउनेहरू थिए। अहिले ध्वनी प्रदूषणले गर्दा श्रवणशक्ति गुमाउँदै गएका पीडित बढेका छन्।’
एकै पटक चर्को आवाज सुन्दा र लामो समयसम्म एकै खालको चर्को ध्वनीले श्रवणशक्तिलाई क्षति पुर्याउँछ। आवाज जति चर्को भयो त्यति नै छिटो श्रवण क्षमतामा हानी पुग्छ। कल-कारखानाका मजदुर, विमानस्थल वरपरका बासिन्दा, सार्वजनिक यातायातको चर्को ध्वनि, लामो समय ठूलो आवाजसहित एयर फोन प्रयोग गर्ने वानी, चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक कार्यक्रमले श्रवणशक्तिमा ह्रास ल्याइरहेको चिकित्सकहरू भनाइ छ। ‘ श्रवण शक्तिमा ह्रास आउँदै गएर पछि बहिरोपनको समस्या निम्तिने गरेको छ’, डा.पौडेलले भने।
काठमाडौंलगायत सहरमा ध्वनि गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड विपरित सार्वजनिक सवारी साधन गुडिरहेका छन्। कार, बस, ट्रक, भ्यानलगायतका साधनले बजाउने चर्को हर्नका कारण कानको भित्री भागको संवेदनशील संरचनालाई क्षति पुर्याउने चिकित्सकहरू बताउँछन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार, चालु आव ०७५÷०७६को फागुन १८ गतेसम्म चर्को हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ६ हजार ६ सय ६२ सवारी साधनलाई कारबाही गरिएको छ। गत वर्ष ०७४÷०७५ मा १५ हजार चार सय पाँच सवारी साधनलाई कारवाही गरिएको महाशाखा प्रमुख एसएसपी वशन्तकुमार पन्तले जानकारी दिए।
प्रहरीले ध्वनि प्रदूषण गर्ने सवारी साधनलाई आयतमा नै रोक लगाउन अनुरोध गरे पनि कार्यान्वयन हुन सकेको छैन। ध्वनि प्रदूषण गरे वापत सवारीसाधनबाट पाँच शय जरिवाना लिँदै आएको छ। २०७४ साल वैशाख १ गते हर्न निषेध क्षेत्र घोषणा गरिए पनि कार्यान्वयन भएको छैन। आवाजको शक्ति मापन गर्ने इकाइ डेसिबल हो।
४० डेसिबल भन्दा बढीको ध्वनी वा आवाजले कानको भित्री मागमा गम्भीर असर पुर्याउने चिकित्सकहरूको भनाइ छ। कार्यस्थलमा विद्युतीय यन्त्रले निकाल्ने चर्को आवाज कारण पनि श्रवणशक्ति गुमेको पाइएको छ। त्यस्तै कलकारखानामा कार्यरत मजदुर पनि श्रवणशक्ति ह्रास हुने जोखिम पेशाकर्मीका रुपमा रहेका छन्।
नर्भिक अस्पतालको नाक-कान-घा“टी विभागले गरेको निःशुल्क जाँच एवं परामर्शमा आएका कलकारखानामा कार्यरत मजदुरमा श्रवणशक्ति ह्रासको समस्या देखिएको थियो। ‘मजदुरहरू बढी पीडित भएको पाइयो’ अस्पतालका नायवमहाप्रबन्धक आरपी मैनालीले जानकारी दिए। अस्पतालमा ६० जना भन्दा बढीले निःशुल्क जाँच गराएका थिए।
वंशाणुगत कारण र दुर्घटनामा परेर पनि श्रवणशक्ति गुम्न सक्ने डा. पौडेल बताउँछन्। कान पटक पटक पाकिरह्यो भने पनि सुन्ने शक्ति घट्दै जान्छ। श्रवण शक्तिमा ह्रास आउँदा पीडितहरूले सञ्चार क्षमतामा कमी, सिक्ने क्षमतामा अरुचि, काम र जीवनप्रतिको उत्साहमा कमी परिवार÷समाजमा एक्लोपनको महशुश गरेको पाइएको छ। ‘आफ्नो श्रवण शक्ति जाँचौं’ भन्ने नाराका साथ नेपालमा आइतबार विविध कार्यक्रम गरि विश्व श्रवण दिवस मनाइएको छ।
त्रिवि शिक्षण अस्पताल र गणेशमान सिंह नाक, कान, घाँटी अध्ययन प्रतिष्ठानले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थिए। विश्व स्वास्थ्य संगठनका अनुसार, हाल विश्वभर करिब ४६ करोड मानिस श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित छन्।
तीमध्ये ३४ करोड त बालबालिका मात्रै छन्। नेपालमा श्रवणशक्ति ह्रास हुनेको आधिकारिक तथ्यांक छैन। कुल जनसंख्याको करिब १६ प्रतिशतलाई कुनै कुनै खालको बहिरोपनको समस्या भएको अनुमान रहेको डा.पौडेलले जानकारी दिए।