लिभरपुलले पहिलो स्थानमा फर्कने अवसर गुमायो
लन्डन : लिभरपुलले इङ्लिस प्रिमियर लिग तालिकाको पहिलो स्थानमा फर्कने अवसर गुमाएको छ । आइतबार राति खेलिएको खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल लिग लिडर म्यानचेस्टर सिटीसँग एक अंकले पछाडी परेको हो ।
प्रिमियर लिगमा २९ खेलको समाप्तिपछि म्यानचेस्टर टिसी ७१ अंकसहित पहिलो र लिभरपुल ७० अंकसहित दोस्रो स्थानमा छन् । यसैगरी टोट्टनहाम ६१ अंकसहित तेस्रो, म्यानचेस्टर युनाइटेड ५८ अंकसहित चौथो र आर्सनल ५७ अंकसहित पाँचौं स्थानमा आसिन छन् ।
तालिकाको छैटौं स्थानमा आसिन चेल्सीले भने आइतबार राति भएको खेलमा फुलहामलाई उसैको मैदानमा २—१ गोलले हरायो । चेल्सीको २८ खेलबाट ५६ अंक छ । चेल्सीका लागि गोन्जालो हिग्वेन र जर्जिन्होले एक÷एक गोल गरे ।
अर्को खेलमा वाट्फोर्डले घरेलु मैदानको फाइदा उठाउँदै पूर्वविजेता लेस्टर सिटीमाथि २—१ गोलको जित हासिल ग¥यो । खेलका क्रममा ६० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि लिभरपुलका खेलाडीले एभर्टनको दरिलो रक्षापँक्तिलाई चिर्न सकेनन् ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बराबरीको नतिजाबाट निराश हुनुपर्ने कारण नरहेको प्रतिक्रिया दिएका छन् । ‘पछिल्लो नतिजा सोचेजस्तो रहेन तर, यसबाट आत्तिनु पर्ने अवस्था छैन । हामी अझै पनि उपाधिको बलियो दाबेदार नै हौं’, खेलपछि उनले भने ।
दुबै टोलीले उत्तिकै सँख्यामा खेल खेलेको अवस्थामा लिभरपुल गत डिसेम्बरको ७ तारिखपछि पहिलो पटक म्यानचेस्टर सिटीसँग पछाडि परेको हो । म्यानचेस्टर सिटी भने शनिबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा बर्नमाउथलाई १—० गोलले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लिएको थियो ।
सन् २०१९ सुरु हुनुअघि म्यानचेस्टर सिटीभन्दा लिभरपुल सात अंकले अगाडि थियो । तर, जनवरी ३ तारिखमा इत्तिहाद रंगशालामा खेलिएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई २—१ गोलले हराएपछि अन्तर चार अंकमा झरेको थियो । जारी सिजनमा लिभरपुलको त्यो पहिलो हार थियो । त्यसयता लिभरपुल चारवटा खेलमा बराबरीमा रोकिएको छ ।