एट्लेटिकोको जितमा मोराटाको दुई गोल
म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको आइतबार राति भएको खेलमा जित हात पार्दै एट्लेटिको म्याड्रिडले ‘लिग लिडर’ बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ । तालिकाको दोस्रो स्थानमा आसिन एट्लेटिकोले आफ्नो पछिल्लो खेलमा रियल सोसिएडाडलाई २—० गोलले हराएको हो ।
भ्यालेन्सियाले पनि आफ्नो पछिल्लो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै एथलेटिक बिल्बाओमाथि २—० गोलको जित हासिल गर्यो । अघिल्लो दिनमात्र ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडलाई उसैको मैदानमा हराउँदै बार्सिलोनाले लिग तालिकामा १० अंकको अग्रता लिएको थियो ।
सोसिएडाडविरुद्घको खेलमा एट्लेटिको म्याड्रिडका लागि दुबै गोल अल्भारो मोराटाले गरेका थिए । उनले दुबै गोल चार मिनेटको बीचमा गरेका थिए । खेल सुरु भएको ३०औं मिनेटमा पहिलो गोल गरेका मोराटाले ३३औं मिनेटमा अर्को गोल थपेका थिए ।
खेलको ६२औं मिनेटमा एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिएको थियो । एट्लेटिको म्याड्रिडका कोके दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि करिब ३० मिनेट एट्लेटिको म्याड्रिड १० खेलाडीमा सिमित भए पनि सोसिएडाडले त्यसको फाइदा उठाउन सकेन ।
ला लिगामा सबै टोलीले २६÷२६ खेल खेलिसक्दा ६० अंकसहित बार्सिलोना पहिलो र ५३ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा छन् । जारी सिजनमा निराशाजनक प्रदर्शन गर्दै आएको रियल म्याड्रिड भने ४८ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।
भ्यालेन्सिया भने ३६ अंकसहित सातौं स्थानमा छ । भ्यालेन्सियाको जितमा रोड्रिगो मोरेनो र केभिन गामिरोले एक÷एक गोल गरे । अर्को खेलमा गेटाफेले रियल बेटिसलाई उसैको मैदानमा २—१ गोलले हरायो । ४२ अंकसहित गेटाफे चौथो स्थानमा छ ।