विद्युतलाइन विस्तारले गुराँसको सौन्दर्य गुम्दै
तेह्रथुम : प्रदेश १ मा पर्ने राष्ट्रिय गौरवको कोसी करिडोर दुई सय २० केभीए विद्युत प्रसारण लाइन बिस्तारको क्रममा रहेको छ। लालीगुराँसको राजधानीका रूपमा परिचित तीनजुरे, मिल्के र जलजले क्षेत्रको मध्य भागबाट विद्युतको प्रसारण लाइन बिस्तार गर्ने योजना छ।
आयोजना बिस्तार हुँदा दुई हजारभन्दा बढी गुराँसका रुख काट्नु पर्ने अवस्था छ। यसले त्यहाँको पर्यटकीय सौन्दर्यता र सम्भावना गुम्ने खतरा बढेको चिन्ता व्यक्त गर्दै स्थानीयले विकल्पको खोजी गर्नु पर्ने माग अघि सारेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले प्रवद्र्धन गर्ने भनिएका नयाँ सयवटा पर्यटकीय गन्तव्यमध्ये तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्र पनि एक हो। राज्यले संरक्षण र प्रवद्र्धनको सूचीमा राखेको यस क्षेत्रलाई करिडोरको कार्यले असर पुर्याउन नहुने स्थानीयको माग छ। लाइन बिस्तारका क्रममा गुराँसै गुराँस भएको तेह्रथुमका चैते, चित्रे, तीनजुरे–रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी र डाँगी जोरी सामुदायिक वन क्षेत्रमा रुख कटान हुनेछ। गुराँस पर्यटनको केन्द्र तीनजुरेको मध्य भागबाट लाइन बिस्तार हुँदा गुराँस मासिएर मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए। उनले भने, ‘हाम्रो पहिचान र यस ठाउँको सौन्दर्य नै गुराँसे वन हो। यही नरहे गुराँसको राजधानीको विशेषता सकिन्छ।’
तीनजुरे, मिल्के, जलजले गुराँसका लागि प्रसिद्ध छ। २८ प्रजातिका गुराँस पाइने भएकाले यो क्षेत्रमा यस सिजनमा पर्यटकको घुइँचो लाग्छ। प्रत्येक वर्षको फागुनदेखि वैशाखसम्ममा स्वदेशी तथा विदेशी पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको मेयर माबोहाङले बताए। ‘विद्युत बिस्तारको काम पनि रोकिन हुँदैन’, उनले भने, ‘गुराँसका रुखहरू पनि काटिन हुँदैन।’ उनले विद्युत प्रसारण लाइन बिस्तार गरिँदा गुराँसका रुख मासिनबाट जोगाउनु पर्नेमा जोड दिए। दुर्लभ प्रजातिका गुराँसका रुख काटिए त्यसैमा टिकेको पर्यटन प्रभावित हुने चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युकबहादुर बस्नेतले बताए।
‘गुराँस वन फँडानी भए गुराँस हेर्नकै लागि आउने पर्यटकले के हेरेर जाने ? ’, उनले प्रश्न गरे। ‘गुराँसले नै यहाँको पर्यटन व्यवसाय धानेको छ। रुख मासिँदा त्यो पनि चौपट हुन्छ’, अध्यक्ष बस्नेतले भने, ‘गुराँसकै संरक्षणका लागि दर्जनभन्दा बढी संरक्षण समिति गठन भएका छन्। गुराँस बचाउन पनि कोसी करिडोर दुई सय २० केभीए विद्युत प्रसारण लाइन बिस्तारका लागि यस ठाउँको विकल्प खोजिनु पर्छ।’ गुराँसको घना जंगल भएर कोसी करिडोर प्रसारण लाइन बिस्तारको तयारी भएकाले हजारौं गुराँसका रुख मासिने अवस्था रहेको बस्नेतले बताए।
करिडोरको कार्यले वन क्षेत्रमा क्षति हुने भए पनि राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सुनिलकुमार सिंहले बताए। ‘कसरी कम रुख काट्न सकिन्छ त्यसबारे सोच्न सकिन्छ’, सिंहले भने, ‘ट्रयाक नै परिवर्तन गर्ने र विकल्प नै खोज्ने चाँही अवस्था छैन।’ ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादित विद्युत तेह्रथुम वसन्तपुरको टुटे शव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत आयोजनाको शव–स्टेशनमा जोड्नका लागि कोसी करिडोर प्रसारण लाइन बिस्तार भइरहेको छ।