ओखलढुंगामा मोतियाविन्दुको निशुल्क उपचार
ओखलढुंगा : सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका मोतियाबिन्दुका बिरामीको निशुल्क उपचार भएको छ ।
सोलुखुम्बुकै अति दुर्गम गाउँपालिका लिखुपिकेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट छनोट भएका मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको हो ।
हिमालयन आँखा परियोजना, तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक तथा आर्थिक सहयोग र जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा सम्पन्न शिविरमा गाउँपालिकाभित्रका ५५ मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको थियो ।
गाउँपालिकाभरी सञ्चालन गरिएको एकदिने आँखा शिविरबाट पहिचान भएका मोतिविन्दुका ५५ जनाको जिल्ला सदरमुकाम सल्लेरीमा ल्याएर शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र, सोलुखुम्बुका पुष्पबाबु बस्नेतले बताए ।
मोतियाविन्दुको शल्यक्रिया सफल भएपछि लिखुपिके गाउँपालिका १ का नोर्वु भुजेलले खुसी व्यक्त गरे । सोलुखुम्बुको डाँडापारीको क्षेत्र भनेर परिचित लिखुपिकेबाट दुई दिन हिँडेर सल्लेरी आएका ७५ बर्षे भुजेलले भने, ‘परिवारमा एक्लो छु । आँखा नदेखेर दैनिक असहज भएको थियो । म जस्तो गरिबलाई निशुल्क अप्रेसन सेवा निकै राम्रो भयो ।’
मोतियाविन्दु शल्यक्रियामा सहभागी तिलगंगा आँखा प्रतिष्ठानका डा. प्रतिभा लामाले आँखामा मोतियाविन्दु समस्या भएको चाल पाउनसाथ उपचार गरे सजिलै निको हुने बताइन् । कतिपय चोटपटकका कारण पनि मोतियाविन्दु हुने भए पनि अधिकांशलाई ढल्कँदो उमेरका कारण मोतियाविन्दुको समस्या देखा पर्ने उनको भनाइ छ ।