सन्दीप र सीता वर्ष खेलाडी

सन्दीप र सीता वर्ष खेलाडी

काठमाडौं : सन्दीप लामिछाने र सीता रानामगर नेपाली क्रिकेटको वर्ष खेलाडी घोषित भएका छन्। क्रिकेट खेलाडी संघ नेपाल (सीपान)ले मंगलबार गरेको एनसीसीएस सीपान क्रिकेट अवार्डमार्फत पुरुषतर्फ सन्दीप र महिलातर्फ सीता वर्ष खेलाडी घोषित भएका हुन्। गत एक वर्षको अवधिमा राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा दुवै खेलाडी वर्ष खेलाडी घोषित भएका हुन्।

पुरुषतर्फको वर्ष खेलाडीको मनोनयनमा सन्दीपसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए। महिलातर्फ सीतासहित राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासे, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगर थिए। सन्दीपले गत वर्ष राष्ट्रिय टोलीबाट ८४ विकेट लिएका थिए। उनले एक लाख ३२ हजार रुपैयाँ नगद पुरस्कार पनि हात पारे। हाल पाकिस्तान सुपर लिग खेल्न दुबईमा रहेका सन्दीप अवार्ड समारोहमा अनुपस्थित थिए। उनको तर्फबाट कप्तान पारसले अवार्ड लिए।

महिलातर्फ भने यो अवधिमा राष्ट्रिय टोलीले एउटा मात्रै प्रतियोगिता खेलेको थियो। थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितालाई नै आधार मानेर वर्ष खेलाडी छनोट गरिएको हो। सो प्रतियोगितामा सीताले एक सय ३८ रन प्रहार गर्दै चार विकेट पनि लिएकी थिइन्। उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। सीताले आफ्नो सफलतामा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिइन्। ‘मलाई अहिलेको अवस्थासम्म आउन सहयोग गर्नुहुने अभिभावक र ज्ञानेन्द्र (मल्ल) दाइसहित केसीटीसी क्रिकेट ऐकेडेमीलाई धन्यवाद दिन चाहन्छु’, सीताले भनिन्।

अवार्ड लिँदै सीता। 


यस्तै वर्षको महत्वपूर्ण क्षणको अवार्ड करण केसी र उदीयमान खेलाडीको अवार्ड रोहितकुमार पौडेलले जिते। उनीहरू दुवैले जनही ६६ हजार रुपैयाँ प्राप्त गरे। करणले सन् २०१८ को फेब्रुअरीमा भएको आईसीसी डिभिजन दुईमा क्यानडाविरुद्ध गरेको प्रदर्शनका आधारमा सो अवार्ड जितेका हुन्। १०औं नम्बरमा ब्याटिङ गरेका करणले सो खेलमा हार नजिक पुगेको नेपाललाई अविश्वसनीय प्रदर्शन गर्दै जित दिलाएका थिए।

वर्षको महत्वपूर्ण क्षणको निर्णय फेसबुक लाइक र अनलाइन भोटिङका आधारमा गरिएको थियो। यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई)सँग हालै भएको एकदिवसीय शृंखलाका क्रममा डेब्यु खेलमै अर्धशतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान कायम बनाएका रोहितले सोही प्रदर्शनमा अवार्ड जितेका हुन्। सीप्यानले पूर्वक्युरेटर कोमलबहादुर पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो।

‘क्रिकेटमा केही गरेजस्तो लाग्छ’

नेपाली क्रिकेटको विकास र विस्तारमा विभिन्न भूमिकामार्फत आफ्नो जीवनको महत्वपूर्ण समय बिताएका कोमलबहादुर पाण्डे सीप्यानद्वारा मंगलबार लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए। काठमाडौं डिल्लीबजारका कोमलले खेलाडी र त्यसपछि क्युरेटरको भूमिकामा नेपाली क्रिकेटमा लामो समय योगदान पुर्‍याएका थिए। मंगलबार सम्मानित भएपछि कोमलबहादुरले नेपाली क्रिकेटसँगको आफ्नो यात्राको स्मरण गरे।

‘नेपाली क्रिकेटसँग मेरो धेरै रमाइला पल जोडिएका छन्। यही खेलबाट अन्तर्राष्ट्रिय दिग्गजहरूसँग भेट्ने अवसर पनि पाएको थिएँ’, उनले भने, ‘नेपाली क्रिकेटमा केही गरेजस्तो लाग्छ।’ उनले नेपाली क्रिकेटको उपलब्धिलाई आफूले नजिकबाट हेर्ने अवसर पाएको र त्यसमा आफूलाई खुसी लागेको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.