१३ पटकको उपाधिधारी रियल म्याड्रिडको लज्जास्पद हार, आयाक्स र टोट्टनहाम क्वार्टरफाइनलमा
म्याड्रिड : लामो समयदेखि लय गुमाएको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड घरेलु मैदानमै लज्जास्पदक हार ब्यहोर्दै च्याम्पियन्स लिग फुटबलको उपाधि होडबाट बाहिरिएको छ। बुधबार बिहान खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा डच क्लब आयाक्सले रियल म्याड्रिडलाई ४-१ गोलले हरायो।
उक्त नतिजापछि आयाक्स ५-३ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो। यसअघि आयाक्सको घरेलु मैदानमा खेलिएको खेलिएको पहिलो लेग खेलमा रियल म्याड्रिड २-१ गोलले विजयी भएको थियो।
इङ्लिस क्लब टोट्टनहाम भने सजिलै युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो। टोट्टनहामले बुधबार बिहान खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई उसैको मैदानमा १-० गोलले हरायो।
उक्त नतिजापछि टोट्टनहाम ४-० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो। यसअघि पहिलो लेग खेलमा टोट्टनहाम ३-० गोलले विजयी भएको थियो।
रियल म्याड्रिडविरुद्धको खेलमा आयाक्सले दुबै हाफमा दुई/दुई गोल गर्यो । खेल सुरु भएको सातौं मिनेटमै आयाक्सका लागि हकिम जियचले पहिलो गोल गरे। १८ औं मिनेटमा डेभिड नेरसले अर्को गोल थपेपछि पहिलो हाफमै आयाक्स २-० ले अगाडि बढ्यो।
यसैगरी ६२ औं मिनेटमा सर्बियन खेलाडी डुसान टाडिचले आयाक्सका लागि तेस्रो गोल गरे। अघिल्ला दुई गोलको लागि पनि उनले नै पास उपलब्ध गराएका थिए। खेलको ७० औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले जवाफी गोल फर्काए। तर, त्यसको दुई मिनेटपछि नै लेस सोनले अर्को गोल थप्दै आयाक्सलाई ४-१ को महत्वपूर्ण जित दिलाए।
खेलको अन्तिम समयमा लगातार दुईवटा पहेँलो कार्ड पाउँदै नाचो फर्नान्डेज मैदानबाट बाहिरिएपछि रियल म्याड्रिड १० खेलाडीमा समेटिएको थियो। रियल म्याड्रिड सर्वाधिक १३ पटकको च्याम्पियन्स लिग विजेता क्लब हो।
च्याम्पियन्स लिगको अघिल्ला तीनवटै संस्करणको उपाधि पनि रियल म्याड्रिडले नै जितेको थियो। आयाक्ससँग हारेपछि रियल म्याड्रिडको लगातार चौथो पटक उपाधि जित्ने सपना अधुरै रह्यो। आयाक्स भने २२ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।
खेलको प्रारम्भमा रियल म्याड्रिड अनुभवी खेलाडी गारेथ बेल बिना नै मैदानमा ओर्लिएको थियो। २९ औं मिनेटमा लुकास भासक्वेज घाइते भएपछि मैदानभित्र छिरेका बेलले गरेको एउटा शक्तिशाली प्रहार विपक्षीको गोल पोष्टमा ठोक्किएको थियो।
यसैगरी रियल म्याड्रिडमा नियमित कप्तान सर्जियो रामोस पनि अनुपस्थित थिए। अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनी प्रतिबन्धमा छन्। आयाक्स च्याम्पियन्स लिगको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा २-१ ले पछि परेर पनि दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अघिल्लो चरणमा पुग्ने पहिलो डच क्लब पनि बनेको छ।
यसैगरी रियल म्याड्रिड सन् २०१२/१३ सिजनयता च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न नसक्ने पहिलो साविक विजेता बनेको छ। सन् २०१२/१३ सिजनमा तत्कालिन साविक विजेता चेल्सी क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो।
रियल म्याड्रिडले बर्नाबेउ रंगशालामा इतिहासमै तेस्रो पटक लगातार चार खेलमा हार भोगेको हो। रियल म्याड्रिड यसअघि कुनै पनि युरोपियन प्रतियोगिताको नकआउट चरणमा घरेलु मैदानमा ४-१ गोलले पराजित भएको थिएन। च्याम्पियन्स लिगमा आफुले पहिलो गोल गरेपछि आयाक्सले पराजय भोग्नु नपरेको यो ४८ औं खेल हो। यस्ता ४८ मध्ये ४० खेलमा आयाक्स विजयी भएको छ। यसअघि आयाक्स सन् १९९६/९७ सिजनमा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको थियो।
च्याम्पियन्स लिगअन्तर्गत बर्नाबेउ रंगशालामा खेलिएको अवे खेलमा चार वा सोभन्दा बढी गोल गर्ने आयाक्स विश्वकै तेस्रो टोली पनि बनेको छ। यसैगरी च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो लेग खेलमा पछि परेर पनि दोस्रो लेगमा रियल म्याड्रिडलाई हराउने आयाक्स दोस्रो टोली पनि हो।
यसैगरी बोरुसिया डर्टमन्डको घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा टोट्टनहामका लागि ४९ औं मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए। केन युरोपियन प्रतियोगितामा टोट्टनहामका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्।
केनले जर्माइन डेफोयको कीर्तिमान तोडेका हुन्। केनले हालसम्म युरोपियन प्रतियोगितामा क्लबका लागि २४ गोल गरिसकेका छन्। टोट्टनहाम केवल दोस्रो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो। यसअघि सन् २०१०/११ सिजनमा टोट्टनहाम लिगको क्वार्टरफाइनलमा पुगेको थियो।