मुल्लर, बोएटेङ र हुमल्सको अन्तर्राष्ट्रिय खेलजीवन संकटमा

मुल्लर, बोएटेङ र हुमल्सको अन्तर्राष्ट्रिय खेलजीवन संकटमा

म्युनिख : जर्मनीको राष्ट्रिय फुटबल टोलीका तीन प्रभावशाली खेलाडी थोमस मुल्लर, म्याट हुमल्स र जेरोम बोएटेङको अन्तर्राष्ट्रिय खेल जीवन संकटमा परेको छ। प्रशिक्षक जोचिम लोयले यी तीनैजना खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश नगर्ने बताएका छन्।

प्रशिक्षक लोयको उक्त भनाइपछि मुल्लर, हुमल्स र बोएटेङको अन्तर्राष्ट्रिय खेल जीवनलाई लिएर विभिन्न चर्चा परिचर्चा सुरु भएको छ। ‘म अब बोएटेङ, हुमल्स र मुल्लरलाई राष्ट्रिय टोलीमा स्थान दिन इच्छुक छैन’, प्रशिक्षक लोयले भनेका छन्।

३० वर्षीय बोएटेङ, समान उमेरका हुमल्स र २९ वर्षीय मुल्लर तीनैजना जर्मन क्लब बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्छन्। जर्मनीलाई सन् २०१४ को विश्वकप जिताउन यी तीनैजना खेलाडीले महत्वपूर्ण योगदान गरेका थिए। तर, सन् २०१८ को विश्वकप र त्यसपछि पहिलो पटक आयोजना गरिएको नेसन्स लिगमा भने जर्मनीको प्रदर्शन ज्यादै निराशाजनक रहेको थियो। ‘सन् २०१९ जर्मनीको राष्ट्रिय फुटबल टोलीका लागि नयाँ सुरुवातको युग हुनेछ’, प्रशिक्षक लोयले भनेका छन्।

प्रशिक्षक लोयले आफु राष्ट्रिय टोलीमा नयाँ खेलाडीहरुलाई स्थान दिने तयारीमा रहेको बताएका छन्। ‘टोलीमा नयाँ अनुहारलाई स्थान दिनु आवश्यक छ। यसका लागि मैले आवश्यक तयारी पनि सुरु गरिसकेको छु’, उनले भने, ‘जर्मन टोलीलाई नयाँ रुपमा अगाडि ल्याउन नयाँ खेलाडीलाई स्थान दिनुको विकल्प छैन।’

बोएटेङ, हुमल्स र मुल्लरले पछिल्लो पटक राष्ट्रिय टोलीकोतर्फबाट गत अक्टोबरमा १३ तारिखमा नेसन्स लिग खेलेका थिए। उक्त खेलमा नेदरल्यान्ड्सले जर्मनीलाई ३-० गोलको फराकिलो अन्तरले हराएको थियो। जर्मनी टोलीका लागि मुल्लरले हालसम्म एक सय खेल खेलेर ३८ गोल गरेका छन्। उनी जर्मनीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नवौं स्थानमा छन्। बोएटेङले ७६ खेल खेलेर एक गोल र हुमल्सले ७० खेल खेलेर पाँच गोल गरेका छन्।

जर्मनीले मार्च २० तारिखमा घरेलु मैदानमा सर्बियासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। त्यसको चार दिनपछि जर्मनीले सन् २०२० मा आयोजना हुने युरो कपका लागि नेदरल्यान्ड्ससँग आफ्नो पहिलो छनोट खेल खेल्ने छ।

जर्मन फुटबल संघका अध्यक्ष रिनहार्ड ग्रिन्डलले पनि प्रशिक्षक लोयको योजनाप्रति आफ्नो सहमति व्यक्त गरेका छन्। ‘टोलीमा नयाँ खेलाडीहरुलाई स्थान दिने प्रशिक्षक लोयको योजना निकै राम्रो छ’, उनले भनेका छन्, ‘राष्ट्रिय टोलीमा सुधार गर्नुपर्ने समय आइसकेको छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.