झापा गोल्डकप : आर्मी सेमिफाइनलमा
बिर्तामोड : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफको ४३औं मिनेटमा अग्रता लिएको थियो । टंक बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथोकीले गरेको प्रहार पोस्टमा लागेर फर्किएपछि टंकले बललाई जाली चुमाएका हुन् ।
दोस्रो हाफको अन्त्यतिर आर्मी लगातार दुई गोल थप्न सफल भयो । खेलको ८२औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले प्रहार गरेको फ्रिकिकले सीधै जाली चुमेको थियो । त्यसपछि नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । एपीएफका गोलरक्षक विकेश कुथुले रिलिज गरेको बललाई नवयुगले गोलमा परिणत गरेका थिए ।
मंगलबारको खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बुधबार विभागीय टोली नेपाल पुलिस र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने छ । यसअघि आयोजक झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । एपीएफ, मोरङ–११ र हङकङ नेप्लिज एकेडेमी घर फर्किसकेका छन् । गोल्डकपको विजेताले १२ लाख ५५ हजार रुपैयाँ पाउनेछ ।