अख्तियारको स्टिङ अप्रेशन : ८७ हजार घूससहित अधिकृत र सुब्बा पक्राउ
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममा बुधबार दुई कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बुटवल कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी कार्यालयबाट दुईजनालाई घुससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एकजना नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा र अर्का क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत छन् । यी दुवैलाई अख्तियार टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो ।
अख्तियारले नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्षमण चन्दलाई उनको कार्यालयबाटै ५२ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।
त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पुगेको अख्तियारको टोलीले त्यहाँका एकजना अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार सरकारी कार्यालयमा थालिएको स्टिङ अप्रशेनका क्रममा दुवैजना पक्राउ परेका हुन् । अख्तियारले केही समययता जनसम्पर्क बढी हुने कार्यलयमा अनुसन्धान अधिकारी पठाएर घुस, ढिलासुस्ती र अन्य लेनदेनमाथि कडा निगरानी राख्न थालेको छ ।