सरकारले क्यान्सरका बिरामीलाई औषधि किनिदिन्छ : मन्त्री यादव

सरकारले क्यान्सरका बिरामीलाई औषधि किनिदिन्छ : मन्त्री यादव

भक्तपुर : सरकारले क्यान्सर बिरामीहरुको लागि औषधि किनिदिने भएको छ । क्यान्सर उपचारसँगै औषधि पनि महंगो छ । त्यसमाथि विदेशबाट औषधि आयात गर्नुपर्ने भएकाले बिरामीले बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । जसले गर्दा क्यान्सर उपचार महंगोमाथि महंगो हुने गरेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार क्यान्सरका एकसय पचासदेखि पाँच लाख रुपैयाँसम्म पाइने औषधि छन् । उनीहरुको अनुसार अधिकांश क्यान्सरका औषधिहरु विदेशबाट मगाउनुपर्छ । तर अब सरकारले विदेशी उत्पादकसँग औषधि किनेर सीधै बिरामीलाई उपलब्ध गराउने भएको हो ।

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको बुधबार सम्पन्न २४ औं वार्षिकोत्सवमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सरकारले औषधि किनेर सीधै क्यान्सर बिरामीलाई उपलब्ध गराउने बताएक हुन् ।

उनले लागत मूल्यभन्दा क्यान्सर बिरामीले दोब्बर मूल्य तिर्नुपर्ने भएकाले सरकारले नै औषधि किनेर बिरामीलाई उपलब्ध गराउन तयारी अघि बढाइएको स्पष्ट पारे ।

‘भारतमा १६ हजार भारतीय रुपैयाँ मूल्य पर्ने क्यान्सरको औषधि नेपालमा पुग्दा ५०–६० हजार लिन्छ’, राज्यमन्त्री यादवले भने, ‘यसले गर्दा पनि क्यान्सर उपचार महंगो हुँदै आएको छ । त्यसैले अब सरकारले नै औषधि किनेर बिरामीलाई सीधै उपलब्ध गराउने तयारी अघि बढाएका छौं ।’

यसले क्यान्सर बिरामीहरुलाई थप ठूलो राहत पुग्ने उनको दावी थियो । अहिले सरकारले गरिब तथा विपन्न बिरामीहरुको लागि एक लाख रुपैयाँको उपचार अनुदान दिँदै आएको छ । औषधिसमेत सस्तोदरमा उपलब्ध गराएपछि क्यान्सर उपचार थप सहज हुने राज्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।

‘क्यान्सर उपचार निःशुल्क गर्ने सम्बन्धमा मन्त्रालयले अध्ययन अघि बढाएको छ’, उनले भने, ‘सूर्तीजन्य पदार्थमा लगाइएको स्वास्थ्य सेवा करबाटै क्यान्सर उपचार निःशुल्क गर्न सकिने देखिन्छ ।’

उनले क्यान्सर उपचारको लागि विदेसिनुपर्ने अवस्थाको अन्त्यको लागि सरकार लागिपरेकोसमेत सुनाए । देशका मुख्य मुख्य ठाउँमा पेटस्क्यान मेसिन जडान गर्ने गृहकार्य अघि बढाइरहेको उनको भनाइ थियो ।

‘काठमाडौंसँगै देशका मुख्य मुख्य ठाउँमा पेटस्क्यान मेसिन जडान गर्ने गृहकार्य थालेका छौं’, राज्यमन्त्री यादवले भने, ‘पेटस्क्यानको लागि आवश्यक आइसोटपको आपूर्ति गर्न सकिने नसकिनेबारे अहिले अध्ययन भइरहेको छ ।’

देशका मुख्य ठाउँमा पेटस्क्यान सेवा सुरु गरिएपछि क्यान्सर उपचारको लागि विदेसिन नपर्ने उनको दावी थियो । राज्यमन्त्री यादवले मन्त्रालयले मौजुदा स्वास्थ्य नीतिमा परिमार्जनसहित खेस्रो तयार गरिसकेको समेत जानकारी दिए ।

देशको भौगोलिक क्षेत्र, जनसंख्या र आवश्यकताको आधारमा स्वास्थ्य सेवाको पहुँच र विस्तारबारे नयाँ स्वास्थ्य नीतिले सम्बोधन गर्ने उनको भनाइ थियो । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सँगसँगै रहेका भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर जिल्ला अस्पतालबाट एकीकृत स्वास्थ्य सेवा प्रवाह गर्ने गरी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सरकारले पेटस्क्यान मेसिन उपलब्ध गराए अस्पतालको क्यान्सर उपचार क्षमता सत प्रतिशत पुग्ने बताए ।सरकारसँग आर्थिक सहयोगभन्दा उपकरण माग गर्दै आएको उनको भनाइ थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालमा दैनिक औषत ९६ प्रतिशत अकुपेन्सी रहेको जानकारी दिए । त्यस्तै अस्पतालमा दैनिक नौजना नयाँ क्यान्सर बिरामी दर्ता हुने र २० जना भर्ना हुने उनको भनाइ थियो । कार्यक्रममा पाँच वर्षभन्दा माथि सेवा गर्ने चिकित्सक तथा कर्मचारीहरुलाई स्वास्थ्य राज्यमन्त्री यादवले सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.