पीएसजीको मैदानमा म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन, १११ सेकेन्डमै लुकाकुले गरे गोल
पेरिस : घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमै २-० गोलले पछि परेको इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमनसहित युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले बिहीबार बिहान खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई उसैको मैदानमा ३-१ गोलले हरायो । उक्त नतिजापछि दुबै टोलीको कुल गोल भिन्नता ३-३ भएको थियो । त्यसपछि ‘अवे गोल’ का आधारमा म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
पोर्चुगिज क्लब एफसी पोर्टो पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्यो । पोर्टोले घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा बलियो इटालियन प्रतिद्वन्द्वी एएस रोमालाई अतिरिक्त समयमा ३-१ गोलले हरायो । उक्त नतिजापछि पोर्टो ४-३ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो । रोमाको मैदानमा खेलिएको पहिलो लेग खेलमा पोर्टो २-१ गोलले पराजित भएको थियो ।
पीएसजीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकुले दुई र मार्कुस रासफोर्डले एक गोलको योगदान गरे । दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारको अवसरलाई रोसफोर्डले सदुपयोग गरेपछि म्यानचेस्टर युनाइटेडको क्वार्टरफाइनल यात्रा सम्भव भएको थियो । कुनै पनि प्रतियोगितामा रासफोर्डले म्यानचेस्टर युनाइटेडका लागि पहिलो पटक पेनाल्टी प्रहार गरेका हुन् ।
पेनाल्टीको विषयलाई लिएर केही समय विवाद पनि भएको थियो । इन्जुरी समयको चौँथो मिनेटमा डियोगो डालोटको प्रहार प्रेसनल किमपेम्बेको हातमा ठोक्किएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिका आधारमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी प्रहारको अवसर दिइएको थियो ।
खेल सुरु भएको १११ औं सेकेन्डमै लुकाकुले म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरेका थिए । च्याम्पियन्स लिगको इतिहासमा म्यानचेस्टर युनाइटेडले गरेको यो दोस्रो छिटो गोल हो । यसअघि सन् २०१० को मार्चमा भएको जर्मन क्लब बायर्न म्युनिखविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडका वेन रोनीले ६३ औं सेकेन्डमै गोल गरेका थिए । तर, १२ औं मिनेटमा पीएसजीका हुवाँ बेर्नटले जवाफी गोल फर्काएपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि ३०औं मिनेटमा बेल्जियमका अनुभवी स्ट्राइकर लुकाकुले नै म्यानचेस्टर युनाइटेडलाई पुनः २-१ गोलको अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा आफुले खेलेका पछिल्ला १२ मध्ये सात खेलमा पीएसजी पराजित भएको छ । बाँकी पाँचमध्ये चार खेलमा पीएसजी विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ ।
गत डिसेम्बरमा ओले गनर सोल्सकरले जिम्मेवारी समाले यता म्यानचेस्टर युनाइटेडले १४ खेलमा जित हात पारिसकेको छ । यस अवधिमा म्यानचेस्टर सिटीले मात्र म्यानचेस्टर युनाइटेडभन्दा एक खेल बढी जितेको छ । युरोपका पाँच ठुला लिगमा सहभागी अन्य क्लबले यस अवधिमा म्यानचेस्टर युनाइटेडभन्दा बढी खेल जित्न सकेका छैनन् ।
मासन ग्रिनउड म्यानचेस्टर युनाइटेडको तर्फबाट च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । उनी निर्धारित समयको ८७ औं मिनेटमा आस्ले योङको स्थानमा मैदानभित्र प्रवेश गरेका थिए । उनले केवल १७ वर्ष एक सय ५६ दिनमा च्याम्पियन्स लिग खेलेका हुन् ।
ग्रिनउडले जेरार्ड पिकेको कीर्तिमान तोडेका हुन् । पिकेले १७ वर्ष तीन सय १० दिनको उमेरमा पहिलो पटक च्याम्पियन्स लिग खेलेका थिए ।
यसैगरी एएस रोमाविरुद्धको खेलमा पोर्टोका लागि टिक्विन्हो, मोउसा मारेगा र एलेक्स टेल्सले एक/एक गोल गरे । टेल्सले अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए । पोर्टोले भीएआर प्रविधिका आधारमा पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
एएस रोमाका लागि भने एकमात्र गोल निर्धारित समयको ३७ औं मिनेटमा ड्यानियल डी रोसीले पेनाल्टीमार्फत गरेका थिए । कुनै पनि पोर्चुगिज क्लब सन् २०१४/१५ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।
तस्बिर : एजेन्सी