विप्लवको राप्ती बन्दले पाँच जिल्लाको जनजीवन प्रभावित
दाङ: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण दाङसहित ४ जिल्लाको जनजीवन प्रभावित भएको छ। नेकपाको राप्ती व्युरोले बिहीबार गरेको बन्दका कारण दाङसहित पहाडी जिल्लाको जनजीवन कष्ठकर बनेको हो।
बन्दका कारण, शैक्षिक संस्था, उद्योग कलकारखाना, व्यापार, व्यवसाय र यातायात पूर्णरुपमा बन्द छन्। लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन संचालनमा नआउँदा सर्वसाधारण समस्यामा परेका छन्।गन्तव्यमा हिँडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन्। सम्भावित घटना हुन नदिन बिहानैदेखि दाङका विभिन्न सडक, चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।
राप्तीका पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, र प्युठानमा पनि बन्दको प्रभाव परेको छ।दाङको तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइको माग गर्दै बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ। बन्द बेलुका ६ बजेसम्म गरिने बताइएको छ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै सल्यानको त्रिवेणी गाउँपालिका-५ सल्यखोलामा ट्रक र जीपमा तोडफोड भएको सल्यान प्रहरीले जनाएको छ।सल्यान श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३३८ ट्रक र लु२ च २७२५नम्बरको बलेरो जीपमा त्रिवेणी ५ सल्लेखोला खोलामा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए ।