चीनको जीडीपी साढे ६ प्रतिशत

चीनको जीडीपी साढे ६ प्रतिशत

पइचिङ : हरेक मार्च महिना चीनका लागि दुईवटा महत्वपूर्ण अधिवेशनको अवधि मानिन्छ। यो समयमा राष्ट्रिय जन कंग्रेस र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक बैठक चीनको राजधानी पइचिङमा आयोजना हुन्छन्। यो चीनले एक वर्षका लागि गरिने कार्य योजना मात्रै नभई विश्वका लागि चीन सम्बन्धमा अवलोकन गर्ने महत्वपूर्ण झ्याल पनि हो।

चीनको सबैभन्दा उच्चस्तरीय अधिकार संगठनको वार्षिक सम्मेलन अर्थात् चिनियाँ राष्ट्रिय जनकंग्रेस अधिवेशनको वार्षिक सम्मेलन मंगलवार मार्च ५ तारिख बिहान पइचिङमा शुरु भयो। चिनियाँ राष्ट्रपति सी चिनफिङसहित चिनियाँ पार्टी र सरकारका नेताहरू गरी ३ हजारभन्दा बढी राष्ट्रिय जनकंग्रेसका प्रतिनिधिहरू तेह्रौं राष्ट्रिय जनकंग्रेस अधिवेशनको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भए।

चीनका प्रधानमन्त्री ली खछ्याङले उक्त वार्षिक सम्मेलनमा गएको वर्षको सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुका साथै यस वर्षको सरकारी कार्य प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्तावमाथि वैचारिक आदानप्रदान गरी करिब दश दिनभित्र नयाँ योजना तथा लक्ष्य सार्वजनिक गरिनेछ। प्रधानमन्त्री लीले तेह्रौं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा चीनले सन् २०१८ को आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य सुचारु रूपमा पूरा गरेको भन्दै सन् २०१८ मा चीनको कुल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा नौ नील (नौ सय खर्ब) चिनियाँ रनमनपी पुगेको र ६.६ प्रतिशतले बढेको बताएका छन्। साथै चीनले यो वर्ष कुल गार्हस्थ उत्पादनको अनुमानित लक्ष्य ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म निश्चित गरेको छ।

प्रतिवेदनका अनुसार चीनले सन् २०१९ का लागि रक्षा बजेट ७.५ प्रतिशत तोक्ने देखिएको छ। जुन १.१९ ट्रिलियन चिनियाँ रनमनपी (१७७ ट्रिलियन अमेरिकी डलर) हुनेछ र गत वर्ष ८.१ प्रतिशतको रक्षा बजेटमा १.११ ट्रिलियन चिनियाँ रनमनपी सैन्य खर्च थियो। उक्त कार्य प्रतिवेदन अनुसार बेल्ट एन्ड रोडको संयुक्त रूपमा निर्माण गर्ने पक्षमा ठूलो प्रगति भएको छ। वैदेशिक लगानीको वास्तविक प्रयोग मात्रा १ खर्ब ३८ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ र विकासोन्मुख मुलुकको प्रथम स्थानमा रहेको छ। साथै वैदेशिक व्यवसाय थप ७० प्रतिशतले बढेको छ। सन् २०१९ मा चीनले अरू बढी विदेशी लगानी भिœयाउने, विदेशी व्यापारीको वैधानिक हकहित संरक्षणलाई सबल पार्ने पनि जानकारी दिइएको छ। योपटक वैदेशिक लगानी सम्बन्धमा नयाँ कानून पनि पारित हुनेछ। यो वर्ष चीनले नयाँ थप रोजगारी लक्ष्यअनुसार १ करोड १० लाखभन्दा बढी मानिसलाई रोजगारी दिने पनि बताइएको छ।

यसैगरी यही मार्च ३ बाट चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा दुई हजारभन्दा बढी सदस्यले चीनको समग्र विकास सम्बन्धमा छलफल गर्दै छन्। यसै अवधिमा यी दुई राष्ट्रिय अधिवेशनको आयोजनास्थल ग्रेट हल अल पीपुल जुन पइचिङको थ्यानआनमन चोकमा अवस्थित छ, यहाँ पहिलोपटक फाइभ जी नेटवर्कको प्रयोग गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.