लोकदोहोरी कलाकार बुटवलमा
बुटवल : लोकदोहोरी गायकहरूको बुटवलमा जमघट भएको छ। बुटवलमा सुरु पाँचौं राष्ट्रिय खुल्ला (रनिङ सिल्ड) दोहोरी गीत प्रतियोगिताका लागि कलाकारको जमघट भएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा फागुन २५ गतेसम्म चल्ने प्रतियोगितामा ५० वटा समूहले भाग लिँदैछन। दोहोरी गीत प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले एक लाख २० हजार पाउनेछन्। काठमाडौंबाहिर पहिलो पटक यस प्रकारको प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले जनाएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिष्ठानको पूर्वअध्यक्ष तथा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले लोक तथा दोहोरी संस्कृतिलाई संकटमा पर्न लागेको भन्दै नयाँ पुस्ताको लागि बचाएर राख्नुपर्ने बताए। ‘नयाँ पुस्ताले पनि मज्जाले दोहोरी गाउन सक्नु पर्दछ। यसलाई लोप हुन दिनु हुँदैन,’ उनले भने। न्यौपानेले दोहोरीका प्रतियोगिताको लागि चर्चित नेपालका केही ठाउँमध्ये बुटवल पनि एक रहेको भन्दै विगतका मेला महोत्सवदेखि नै आफू बुटवलमा गाउन आउने गरेको सुनाए।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले प्रतियोगिताले लोक संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास गरे। ‘संस्कृति भनेको महान् कुरा हो, नयाँ पुस्ताले पनि संस्कृतिको विषयमा जानकारी पाउनुपर्छ, उनले भने– ‘दोहोरीले सबै समुदायलाई एकै ठाउँमा जोड्नेछ।’
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विगतमा काठमाडौंमा मात्र हुने गरेको प्रतियोगिता बुटवलमा हुनु यस क्षेत्रको गौरव रहेको बताए। कार्यक्रमको उद्घाटनमा खुमन अधिकारीले गाएको गीतमा पुरुषोत्तम न्यौपानेसँगै, प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, उपाध्यक्ष पशुपति शर्मालगायतका पदाधिकारीहरू नाचेका थिए। आइतबार प्रतियोगिताको उद्घाटन भए पनि सोमबारबाट औपचारिक रूपमा दोहोरी गीत प्रतियोगिता हुने छ।