अनमोलको काँधमा ‘क्याप्टेन’
फुटबल विश्वमै सबैभन्दा बढी हेरिने र मन पराइने खेलमा पर्छ। यही खेललाई आधार बनाएर फिल्म ‘क्याप्टेन’ तयार गरिएको हो। अनमोल केसी स्टारर यो फिल्ममा निम्न मध्यमवर्गको परिवारमा हुर्किएका झापाका युवाको कथा छ जसको एउटै मात्र सपना हुन्छ राष्ट्रिय फुटबल खेलाडी बन्नु। तर फिल्मले खेलाडीको जीवन र खेल मैदानको संघर्ष प्रस्फुटन गरेकोे छ।
विभिन्न अप्ठ्याराका कारण नेपालमा खेलकुदलाई आधार बनाएर कमै फिल्म बन्छन्। यस्तोमा फुटबल जस्तो लोकप्रिय खेलमाथि व्यावसायिक फिल्म बन्नु नेपाली चलचित्र उद्योगको उपलब्धि नै मान्नुपर्छ। त्यसमाथि मेगा स्टार अनमोल केसी खेलाडीको रूपमा पर्दामा देखिनु भनेको भविष्यमा वास्तविक खेलाडीप्रति आम सर्वसाधारणको अपेक्षा र विश्वास दुवै बढ्नु हो।
राष्ट्रिय खेलाडी बन्न नपाएका मदन खड्का (सरोज खनाल) को फुटबल प्रतिको लगाव फिल्मको सुरुआतमा नै देख्न सकिन्छ। उनी छोरा ईशान खड्का (अनमोल केसी) लाई आफ्नो अधुरो सपना पूरा गराउन सधंै उद्यत् रहन्छन्। आत्म सन्तुष्टिका लागि फुटबल खेल्ने मदनले यही खेलबाट आफ्नो गरिबी मेटाउन भने सक्दैनन्।
परिवारको आवश्यकता पूरा गर्न उनी उमेर ढल्किसकेपछि खाडी मुलुक जान्छन्। फर्कंदा प्यारालाइसिस हुन्छ। यता छोरा ईशान ठूलो भइसकेका छन्। उनले फुटबल खेल्न छाडेका छैनन्। घरको आर्थिक अवस्था कमजोर हुँदा उनले भरियादेखि वेटर, पोस्टर टाँस्ने, भित्तामा रङ लगाउने जस्ता काम गर्दै हिँडेका छन्।
यसै क्रममा ईशानको भेट एक फुटबल कल्बका कोच (प्रशान्त ताम्राकार) सँग हुन्छ। उनीसँगको भेटबाट नै ईशानको खेलजीवनमा टुइस्ट आउँछ। त्यसपछि ईशान राष्ट्रिय खेलाडी बन्ने संघर्षमा मैदानमा उत्रन्छन्। ठूलो लगानीमा बनेको क्याप्टेनको कथावस्तु आम खेलाडीको नै हो। जसमा हरकोहीले विश्वास गर्न सक्छन्। नयाँ कलाकार र नयाँ विषयवस्तुको बाबजुद फिल्म बनाउने पुरानै फर्मुला क्याप्टेनले अपनाएको छ। निर्देशक दिवाकर भट्टराईको भन्दा पनि ‘क्याप्टेन’ अनमोलको स्टाडमको भरमा उभिएको छ।
वास्तविक जीवनमा फुटबल नखेलेका अनमोलका लागि खेलाडीको भूमिका नयाँ एक्सपेरिमेन्ट बन्न सक्छ। उनले फुटबलका लागि के कस्तो अभ्यास गरे, कसरी उनी क्याप्टेन बन्न लायक छन् भन्ने विषयमा फिल्म केन्द्रित छैन।
क्याप्टेनमा खेल क्षेत्रमा हुने राजनीति, पैसाको खेल र म्याच फिक्सिङको विषय उठाइएको छ। राम्रा खेलाडी राष्ट्रिय टिमबाट कसरी निकालिन्छन्, त्यतिबेला मिडिया र दर्शकको प्रतिक्रिया कस्तो हुन्छ ? भन्ने पक्ष समेटेर फिल्मले प्रशंसनीय काम गरेको छ।
मूलत यस फिल्मको कथावस्तु पनि यही हो। सुटिङताका तीन महिनासम्म फुटबल खेल्न सिकेका अनमोलको अभ्यास र दुःख फिल्ममा कहीँ कतै देख्न पाइँदैन। फिल्मकी नवनायिका उपासना सिंह ठकुरी ( श्रेया) को काम तारिफयोग्य छ। ईशानको दुःखले भन्दा श्रेयाको मित्रवत् व्यवहारले दर्शकको मन छुन्छ।
अर्की नायिका प्रियंका एमबीलाई निर्देशकले उचित भूमिकामा उभ्याउन सकेका छैनन्। राम्रो अभिनयका बाबजुद प्रियंका कथावस्तुबाट बाइकट गरिएकी पात्र झैं लाग्छिन्। सुनील थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राईको काम राम्रो छ फिल्ममा कयौं पटक ईशानलाई मैदानमा देखाइन्छ। उनले आफ्नो टिमको लागि पटकपटक गोल गर्छन्। तर सुरुदेखि अन्त्यसम्म एउटा पनि यस्तो गोल छैन जसले दर्शकलाई रिझाउन सकोस्।