महाधिवेशन समय र परिस्थितिमा भरपर्छ : देउवा
विराटनगर : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन समय र परिस्थितिमा निर्भर रहने बताएका छन् ।विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै देउवाले महाविधेशन तोकिएकै मितिमा गर्ने प्रयास भइरहेको जानकारी दिए। 'तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने हो, उनले भने, 'भएन भने जस्तो परिस्थिति आउँछ त्यही अनुसार अघि बढ्ने हो।' देउवाले परिस्थिति अनुकूल नभए महाधिवेशन सार्न सकिने संकेत पनि गरे ।
उनले नेता प्रकाशमान सिंहको घरमा पार्टीका अन्य नेताहरु बीचमा भएको गोप्य बैठकलाई सामान्य रुपमा लिएको बताए। 'पार्टीका साथीहरु एक ठाउँ बसेर छलफल गर्नुलाई नराम्रो रुपमा लिन हुँदैन,' सभापति देउवाले भने, 'त्यस्ता छलफल र बैठकले पार्टीभित्र कुनै फरक पार्ने पनि छैन।' पार्टीमा जसले जे गरे पनि आफूलाई काम गर्न भने कुनै गाह्रो नभएको उनको भनाइ छ।
संचारकर्मीको जिज्ञासामा उनले बोलेकै भरमा कोही कसै नेतामाथि कारवाही गर्ने पार्टी कांग्रेस नभएको स्पष्ट पारे।'मैले दुई पटकसम्म बोलाएर मेरो र पार्टीको विरुद्धमा कुरा नगर्नुस् भनेर सम्झाउँदा उहाँ मान्नु भएन। पार्टी र मेरा विरुद्ध अभियाननै चलाउनुभयो,' नेता शेखर कोइरालाप्रति लक्षित गर्दै देउवाले भने, 'त्यही भएर मैले पनि उहाँका विरुद्धका कुरा गर्नुपर्ने अवस्था आयो।
तर पार्टीले उहाँलाई कारवाही चैं गर्दैन।' सभापति देउवाले बोलेकै भरमा कारवाही गर्ने पार्टी कांग्रेस नभएकाले पनि कोइरालामाथि कुनै कारवाही नगरिने बताए।विराटनगरमा केही दिनअघि डा. कोइरालाले राजनैतिक संस्कार नभएको भनेर देउवाका बारेमा टिप्पणी गरेका थिए।