सिर्जना प्रतिबन्ध कथा
यस वर्ष एउटा गीतले पशुपति शर्मालाई भाइरल बनाइदियो। शर्मालाई भाइरल बनाउनुमा नेपालका केही युवा राजनीतिक संगठनको भूमिका अहम् रह्यो। गायक शर्माको गीत र युवा संघको नेतृत्व समूहबीचको अमूक वार्तापछि गीत र यसका गायकलाई बहिष्कार गर्नुपर्ने ‘धम्कीपत्र’ आएको पनि भनियो। यससँगै काँचको पर्दामा पशुपति शर्मा भर्सेस युवा संघ चर्चाका विषय बने।
पशुपति शर्माको गीतभन्दा पहिला नेपालमा गीतमाथि सेन्सर वा प्रतिबन्ध, बहिष्कार वा हस्तक्षेप भएका छन् त खोजीको विस्तार लाग्यो। नेपाल टेलिभिजन सुरु भएयता पहिलो पटक नेपाल टेलिभिजनले बद्री अधिकारी निर्देशित टेलिफिल्म ‘कोरस’लाई सेन्सरको चंगुलमा पारेर लामो समय प्रदर्शनबाट रोक्यो। २०४६ को बहुदल प्राप्तिसँगै बनेको यो सिरियलमा केही पात्रको नाम र अनुहार जीवित पात्रसँगै मिलेको भन्दै यसलाई प्रदर्शनमा रोक लगाइयो। त्यति बेला नेपाल टेलिभिजनबाहेक अन्य प्रसारण माध्यम थिएनन् र रोक लगाइयो।
कोरस नामक सिरियलमा मिसेज पाण्डे, मिसेज राणा र मिस्टर शाहका प्रसंगले गर्दा सरकारी स्तरमा यसलाई रोक लगाइएको थियो। पछि निर्देशक बद्री अधिकारीले नेपाल टेलिभिजनसित आन्तरिक सम्झौता गरेर पुनः प्रसारण गर्ने सर्तमा यसलाई सच्याइयो। र, यसले बाहिरको उज्यालो देख्यो।
कोरस बनेको समय नेपालमा अञ्चलाधीश कार्यालय भंग भइसकेको थियो। तर केही पर राजदरबारको शक्ति कायमै थियो। राजदरबारले आफ्नो प्रभाव जमाइरहेको बेला नै थियो त्यो। कोरस सरकारी टीभी च्यानलबाट देखाइनुको मात्र समस्या थियो। तर त्यति बेला र त्योभन्दा पहिल्यै पञ्चायती शासनकालमा पनि सेन्सरका निम्ति केही निकाय र नियमन थिए, ती भईकन पनि कतिपय अवस्थामा सिर्जनामा बन्देज, बाधा वा अड्चन नआउने होइनन्।
शाही शासनकालको पञ्चायती व्यवस्थाको समयमा रत्नपार्कमा रहेको अञ्चलाधीश कार्यालयले लिखित पाण्डुलिपि सेन्सर गरेपछि मात्र काठमाडौंको रंगभवनमा नाटक, प्रहसन वा गीत प्रस्तुत गर्ने अनुमति दिइन्थ्यो। अनुमति पाउन अलग्गै सजाय हुन्थ्यो भने अनुमति पाइसकेपछि पनि प्रदर्शन भएको स्थलमा जाँचकी वा खुफियाको निरीक्षणपछि कलाकार गिरफ्तार भएको र प्रदर्शनमा रोक लागेका घटना धेरै छन्। तर प्रतिबन्धित भन्ने शब्द भने प्रयोग भएको देखिँदैन।
भारतमा प्रतिबन्धित भनेर रोक लगाइएको अनिल वर्बेको उपन्यास ‘थ्यांक यु मिस्टर ग्ल्याड’लाई नाट्य रूपान्तरण गरेर सांस्कृतिक संस्थानको नाचघर हलमा प्रदर्शन गर्ने अनुमति दिइएको ११ दिनपछि तत्कालीन अञ्चलाधीश कार्यालयले केही बुझ्नुपर्ने भन्ने पत्र पठाएर नाटक प्रदर्शनमा रोक लगायो। यो २०४१ सालको कुरा हो। सोही वर्ष मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसन ‘यमलोक’को प्रदर्शनको समय केही संवादमा आपत्ति जनाएर दुवै कलाकारलाई केही समय हनुमानढोकाको हावा खुवाइएको थियो। यी सबै कुरा बिनाकुनै तर्क वा ज्ञान हुने गर्थे। पछि यसबारे सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाले नियमावली बनाउन थाल्यो र चलचित्रमा पनि यही सूत्र लागू भयो।
चलचित्र निर्माता वा निर्देशकले सिनेमा बनाउनुअघि कथासार र त्यसको पूर्ण पाठ (पाण्डुलिपि) तीन प्रति बुझाउनुपर्ने र त्यहाँका खरदारसरहका कर्मचारीले त्यो पाण्डुलिपि पढेपछि मात्र सेन्सरमुक्त बनाउने वा थपघट केही गर्नुपर्ने भए सच्याएर दिने गर्न थालियो।
नेपालमा प्रतिबन्धको कुनै तार्किक असर कहिल्यै देखिएन। बलिउडका चलचित्रमा अभिनय गर्ने दुई कलाकार धर्मेन्द्र र नन्दा लामो समय नेपालमा प्रतिबन्धित भए। उनका चलचित्र यहाँ देखाउन अनुमति दिइएन। यसबारे आधिकारिक विज्ञप्ति न सरकारसित छ, न त कुनै सरोकारवाला निकायसित।
नेपालमा प्रदर्शन कला विकास भएपछि सेन्सरका संयन्त्र सबै सरकारको अधीनमा रहे पनि रेडियो नेपाल जस्तो संस्थाले रेडियो नेपालबाहिरका प्राज्ञिक व्यक्तिलाई चुनेर गीत सेन्सर गर्ने परम्परा बसालेको थियो। यो परम्परा रेडियो नेपालका तत्कालीन उपनिर्देशक राममणि रिसालले सुरु गरेका थिए। उनले ईश्वरवल्लभ जस्ता स्रष्टाबाट यो काम सुरु गराएका थिए। तर रेडियो नेपालमा पनि त्यस समय प्रसारणका नाममा केही केही असामाजिक, असहिष्णु गीतको मारमा नपरेको होइन।
उदाहरणका लागि त्यस समय केही गीत सेन्सरको चंगुलमा परेको देखिन्छ, जसमा उदितनाराण झा र मधु क्षेत्रीको ‘साइँली र माइँली पोइल गएछन्’, डैजी बराइलीको ‘तिमीले पनि खेलाउने, उसले पनि खेलाउने, म त सस्तो धेरै सस्तो’, कुमार बस्नेतको ‘डल्ली मगर्नी हौ’, उदितनारायण झाकै स्वरमा रहेको ‘बाँसुरी’ चलचित्रको हिमाल जलेर ज्वाला भएछ त्यही समय ब्यान्ड जस्तै भएका थिए।
ती अघोषित रूपमा प्रतिबन्ध लागेका गीत अझै पनि रेडियो नेपालबाट बज्न सकेका छैनन्। ती गीत अहिले युट्युब र सामाजिक सञ्जालमा भेटिनु मुस्किल नै भयो। यस्ता धेरै प्रकरणमा नारायणगोपाल, अम्बर गुरुङ, सरोजगोपाल वज्राचार्य आदिका गीत परेका छन्।
अम्बर गुरुङको ‘घाम, जून पञ्चलाई साक्षी राखी माया गरौंला’ अहिले गणतन्त्र स्थापना भएपछि बज्न छोडेका गीत हुन्। बहुदलीय व्यवस्थाको स्थापना भइसकेपछि खेमराज गुरुङको ‘एकादशी बजारैमा’ गीतलाई त्यही समय केही राजनीतिका पार्टीका युवाले केही शब्द हेरफेर गर्न भनेपछि गायक खेमराज गुरुङले अनुसूचित केही पंक्तिको पुनर्लेखन गरेका थिए। यद्यपि लोकगीतमा त्यस किसिमका सेन्सर नहुनुपर्ने हो। तर भएर आएको देखिन्छ। कुमार बस्नेत र झलकमान गन्धर्वका गीत पनि त्यसकारणले कैंयौ पटक विवादमा नपरेका होइनन्।
नेपालमा प्रतिबन्धको कुनै तार्किक असर कहिल्यै देखिएन। बलिउडका चलचित्रमा अभिनय गर्ने दुई कलाकार धर्मेन्द्र र नन्दा लामो समय नेपालमा प्रतिबन्धित भए। उनका चलचित्र यहाँ देखाउन अनुमति दिइएन। यसबारे आधिकरिक विज्ञप्ति न सरकारसित छ, न त कुनै सरोकारवाला निकायसित।
धर्मेन्द्रको फिल्म यहाँ प्रतिबन्धित भएपछि उनकी पत्नी नायिका हेमा मालिनी भारतबाट यहाँ आएर प्रज्ञाप्रतिष्ठानमा कार्यक्रम गर्न आइन्। र उनले आफ्ना पतिको सिनेमा यहाँ चल्न दिनुपर्ने धारणा राखिन्। त्यसको एकाध महिनापछि काठमाडौंस्थित रञ्जना सिनेमा हलमा लेख टन्डनको ‘खुदा कसम’ रिलिज भयो। विनोद खन्ना अभिनीत खुदा कसममा धर्मेन्द्र अतिथि कलाकारमा थिए, यसरी उनी बन्धनमुक्त भए।
त्यसैगरी नायिका नन्दा बीआर चोपडा निर्देशित मजदुर फिल्ममार्फत काठमाडौंको पर्दामा पुनः प्रकट भइन्। यी दुवै कलाकार केकति कारणले यहाँ प्रतिबन्धित वा सेन्सरमा परे भन्ने नेपाल र भारत दुवैतिरका सांस्कृतिक प्रकोष्ठलाई कुनै ज्ञान छैन। धर्मेन्द्रबाहेक भारतको नेपाली बहुल दार्जिलिङमा कुनै समय मिथुन चक्रवर्तीका सिनेमा पनि प्रतिबन्धित थिए। अभिनेता मिथुनको गोर्खाल्यान्ड आन्दोलनप्रतिको नकारात्मक विचार आएपछि यो प्रतिक्रिया आएको हो।
मिथुन जस्तै कुनै समय नेपालमा हृृतिक रोशनका चलचित्र पनि प्रतिबिन्धत भएको ताजा इतिहास छ। तर रोशनले नेपालबारे भनिएको नकारात्मक अंश कतै भेटिएको छैन। हामीकहाँ केही हदसम्म हावामा भनिएजस्तै हल्ला फैलिन्छ। र त्यसले तत्कालै गलत नजिर बनाउँछ।
रेडियोमा बोल्नु भनेको हावामा बोल्नु हो, अन दी एयर। तर हावामा बोल्ने भनेर हावादारी कुरा बोल्ने होइन भन्ने चेतना भने हाम्रा सञ्चारकर्मीमा छैन। बलिउडमा उदाउँदै गरेका नायक हृतिक रोशनले विवाह गर्दै गर्दा नवविवाहितासित हनिमुन मनाउन नेपाल वा अस्ट्रेलियाको बदला स्विट्जरल्यान्ड जान्छु भनेको प्रसंगलाई काठमाडौंबाहिर मोफसलको पत्रिकाले प्रकाशित गरेको समाचारलाई काठमाडौंमा रहेको लार्जेस्ट एफएमले समाचारमा पढिदिएपछि दिनदहाडै आगलागी र तोडफोड सुरु भयो। पछि यसको असर तराईमा समेत पर्यो, जसका कारण त्यसले जातीय दंगाको रूप लिन पुग्यो।
मूलतः एफएमको एउटा सानो गल्तीले यो समाचार बन्न पुग्यो। र यही समाचारका कारण पश्चिम नेपालको नेपालगन्ज र नवलपरासीमा समेत यसको असर पर्यो। क्षति हाम्रै भयो। हृतिक रोशनको एउटा चलचित्र नेपालमा प्रतिबन्धित भन्ने घेरमा पर्यो।
कहिलेकाहीँ हाम्रा साना गल्ती र अज्ञानताले इतिहासमा कति ठूलो भूल हुन पुग्छ, त्यसको एउटा ज्वलन्त उदाहरण हृतिकको बहिष्कार गरिएको फिल्म हो। अहिलेको सन्दर्भमा हामीले आफ्नो अमूल्य समय गुमाएको एउटा गीत जसका निम्ति युवा संघले सञ्चारमन्त्रीदेखि लिएर प्रधानमन्त्रीलाई समेत बोल्न कर लगाए।
पशुपति शर्माको गीतको लोकप्रियता, भाइरल, गीतमा चिन्तनमनन, विचार गोष्ठी सबै गर्नमा अहिलेको युवाको कति ऊर्जा गयो, त्यसको हिसाब त बाँकी नै छ।
तर एउटा गजलको शेरलाई यसले घरिघरि पुष्टि गर्यो,
बर्बाद गुलिस्ताँ करने को एक उल्लू ही काफी था
हर शाख पे उल्लू बैठा है अन्जाम एक गुलिस्ताँ क्या होगा
ः शौक बरराइची