डेजरीमा मनको चिउचिउ
‘समुद्र नहेरी हुन्छ त !’
दोहामै बसेका थियौं हामी। हामी भनेको उद्धव भट्टराई र म। बिहानको चारै बजेदेखि आँखै तिर्मिराउने ओर्लिसकेको छ घाम। झ्यालबाट बाहिर हात निकाल्दा बफ्याउँदो तातो आएको लागिरहेको छ।
प्रदीप कुँवरले फोनमा भनेका रहेछन् भट्टराईलाई।
हाम्रो बसाइ छ सलवा रोडमा। काममा जाने र आउने साथीहरूसँग उतिसारो भेट भइरहेको छैन।
दिउँसोको टन्टलापुर घाम र उखर्माउलो गर्मीमा हामी हुँइकियौं— सी लाइन बीचतिर। कुँवरले हामीलाई बाटोका अनेक घुम्तीमा देश, समाज, राजनीति र जीवनकै पनि प्रशस्तै मोड सुनाए।
एकोहोरो हुइँकिइरहेका छौं, हामी।
बाटोमा तेल खानीहरू देखिन्छन्। आगोका मुस्लो ओकलिरहेका अग्ला-अग्ला चिम्नीहरू निकै देखिए। त्यतातिर नि मनग्गे नेपालीले काम गरिरहेको सुनाए कुँवरले।
बालुवाको रास चिरेर बनेका लमतन्ने कालोपत्रे सडक नाप्न आँखालाई छ भ्याइनभ्याइ। उँटका बथान पनि ठाउँठाउँमा देखा पर्छन् बाटोका दायाँबायाँ।
आँखा मात्र पिलिक्क देखाएर अरू सबै शरीर छोपिएका मान्छे पनि बाटाभरि देखिन्छन्। बालुवाको रास, उँट, छालै खुइल्याउने तातो र उँटका गोठालाहरू हेर्दै मनमा धेरै खालका उकुसमुकुसमा आपैंm पाकिन्छु म।
एक घण्टाभन्दा बढी हुइँकिएपछि हामी पुगेका थियौं— सी लाइन बीच।
‘यो अरब सागर !’
समुद्रको पानीले मुख धोइरहँदा सँगै उभिएका टीबी कार्कीले बोलेको सुनेँ मैले। कार्कीसँगै आएका घनश्याम भुसालले अड्कल गरे, ‘यो त पर्सियन खाडी हैन र ? ’
कुरा सुन्दै म विशाल समुद्रभित्र पसेँ।
आँखाले नभ्याउने सागर छ। पूर्व, पश्चिम भएर दक्षिणसम्म पैmलेको अथाह समुद्र। नीलो सागर कति धेरै विशाल, विराट्, विस्तृत !
समुद्रका किनारमा ‘जुमा रात’को मज्जा लिन आएका छन् कतारीहरू। किनारमा ठूलाठूला छाता छन् रंगीबिरंगी। आइमाई, केटाकेटी समेत समुद्रमा पौडिरहेका छन्।
केही जलबाज पानीमा हुइँकिने साना डुंगाहरूलाई तुफानसँग हुइँक्याइरहेका थिए। पानीका फोहराले आकाशसम्म छेडूँलाजस्तो सिर्का हानेको देखिरहेको छु म।
नीलो आकाश। नीलै समुद्र। त्यसमाथि तैरिएर गइरहेका छन् औधी ठूलाठूला पानीजहाजहरू ! क्षितिजका किनारसम्म पुगेका अग्लाअग्ला पानीजहाजमा मन पुगेर कुन बेला कुन बेला थेच्चिइसकेछ।
पूर्वपट्टि समुद्रको माझतिर ठूलाठूला तेलखानी थिए। खानीका टुप्पाबाट आगोका लप्का निस्किरहेका थिए अटुट।
‘यी जहाज कता गएका हुन् ? ’
मैले औंल्याएँ।
‘कति इरानसम्म पुग्छन्। कति चैं बहराइनतिर पनि लाग्छन्। यी दक्षिण लागेकाहरू साउदी अरबसम्म गएका हुन सक्छन् !’
तेज कटुवालले पनि अड्कलै काटे।
समुद्र हेर्न आएको हाम्रो ठूलो बथान छ। सबैलाई समुद्र हेर्ने आआफ्नै हतारो छ। कोही पानी छोइरहेका छन्। कोही छन् मुख धोइरहेका। कोही घुँडाघुँडासम्म पाइन्ट सुर्केर तस्बिर खिचिरहेका छन्। कोही पानीमा आफ्नो अनुहारलाई गहिरिएर हेरिरहेका।
मैले पानी सूर्यतिर छर्केर आमासम्म पुगोस् भनी मनमनै कल्पेँ।
हामीजस्तो हतारो छैन समुद्रलाई। शान्त छ ऊ। गम्भीर छ। चुपचाप छ। ढलपल-ढलपल उसका छालले किनारको बालुवासँग कानेखुसी गरेर गएको लाग्छ।
मैले आँखाले पिउनसम्म पिएँ अथाह समुद्रलाई।
‘हामी अब अर्को हेर्न जाने। लौ चढ्नु होस् गाडीमा !’
कार्कीले हामीलाई उनकै मोटरमा लाने रहर देखाए।
‘अघि आउने मित्रहरू मिलिजुली बेग्लैमा आउनुस्। म उहाँहरूसँगै लागेँ !’
कार्कीले गाडी मोडे।
अनि हामी लाग्यौं समुद्रको किनारबाट पश्चिमतिर। रातै छ बालुवाको पहाड। त्यै पहाडमा पनि कुदिरहेका थिए अनेक रंगीबिरंगी सानासाना फुच्चे गाडीहरू।
‘डेजर्ट सफारीमा जाऊँ !’
कार्कीले गाडी कुइँक्क मोडेर हुतुतु उकाले— बालुवाको चुच्चो चुली। गाडी देब्रे-दाहिने हुँदै कुदिरहेछ। बालुवाको रासमा बनेको बाटो गाडी कुदेसँगै पुरिन्छ। फेरि हावाको प्रचण्ड लहर उर्लिएर आइरहेको छ बेतोडले। तर त्यसलाई पनि बेबास्ता गरी गाडी हुइँक्याउँछन् कार्की।
बालुवै-बालुवाले बनेका खैरा पहाडहरू। पहेँला र सुनौला रङले लिपिएका डाँडाकाँडा। आँखामा शीतलता थप्ने बालुबाका चुलीको रङरोगन।
बालुवाका आपट्टे अनेक चुलीमा पर्दा खस्छ सरर्र। तिनमा हावाको तेजले बालुवाको पहाडलाई छिनछिनमा बेग्लै पारिदिन्छ। पहिरो खसिरहेको देखिन्छ भिराला पहाडहरूमा।
फेरि हावाले ती पहिरिएका भिरालामा लगत्तै बालुवा थपेर बनाइहाल्छ निकै राम्रो र कलात्मक। सरर्र खसेका बालुवाको पहिरोमा अदभुत कला बन्न पुग्छन् छिनभरका लागि। दोहोर्याएर हेरुन्जेलमा ती लापत्ता भइसकेका हुन्छन्।
राता र खैरा मरुभूमिका पहाडहरू देखिइरहेथे झनै उत्ताउला र लोभलाग्दा। मेरा लागि मरुभूमिको बालुवाको पहाडले फत्काइरहेको थियो, धेरै कुरा। हावाको फुर्ति त्यति बेला देखापथ्र्यो— जब केही अघिदेखि देखिएको भीर छिनभरमै अत्यन्तै कलात्मक मैदान जस्तो देखिन्थ्यो।
हामी हुइँकिइरहेका छौं मरुभूमिका पहाड, खोँच र भिरालामा।
‘न्यान्सी ताल खोज्नु छ !’
कार्कीको बोली जति चर्को छ— त्योभन्दा बढी उनको हात घुमाइ कडा छ स्टेरियङमा।
बालुवै-बालुवा छ जतासुकै। पहेँलो छ रङ कतै, कतै राताम्मे। यी रङका बालुवाका ढिस्का, खोँच, भीर र समथर टारहरू देखिरहेको छु म।
हामी निकै कष्टसँग बालुवाको चुलीमा पुग्थ्यौं। गाडी कोल्टिएर पल्टिऊँला-पल्टिऊँला जस्तो हुन्थ्यो— तर कार्की गाडीलाई अनेक पाराले उकालिहाल्थे बालुवाको उत्तुंग उकालोमा। भीरमा देब्रे-दाहिने दगुराएर उनी नागबेली बाटो बनाइहाल्थे। बालुवाको पहिरो जित्न उनी चम्किन्थे झन्-झन्।
उनको गाडी हाँक्ने कला अद्भुत लाग्थ्यो।
पछाडि बस्नेहरूले हँसाइरहेका थिए, ‘टीबी भनेको मधेसमा ‘टाँगन हाँक्ने बहादुर’ होला भनेको त कसैलाई ‘टेरपुच्छर नलाउने बहादुर’ पो रहेछ नि !’
हाँसो कम आउँथ्यो।
फसफसी खसिरहेको बालुवाको भीरबाट स्वात्त उकालिइरहेको जिपमा हामी उफ्रिपाफ्री भइरहेका थियौं। यस्तो बेलामा हाँसोभन्दा डरकै बोली चर्को लाग्थ्यो।
हामीभन्दा पछाडि-पछाडि आएको जिप कता छेलियो कता। हामी निकै दक्षिण पुगिसकेका छौं। बालुवाको मैदानमा पनि बेस्सरी मोटर कुदेर बसेका बाटोका डाम अनौठा देखिन्थे। कतै पुरिएका, कतै भर्खरै बनेजस्ता बलौटे बाटाहरू।
मरुभूमिका पहाडको बनोट पनि अचम्मैलाग्दो। आँखाले नभ्याउनेसम्म बालुवै-बालुवा छ। यस्ता बालुवाको रासमा पनि कतिपय कडा काँडे पोथ्रापोथ्री देख्दा छक्क परेर मेरा आँखा तिल्मिलाउँथे।
‘यिनले बाँच्न चैं सकेकै हुन् है !’
मैले कटुवाललाई सोधेँ।
‘नेपाली नै भन्दिए हुन्छ यी पोथ्राको नाउँ !’
मैले उनीबाट सुनेँ।
हो, यी ठिकै भनिरहेका छन्। यिनका भनाइमा छैन बनावटी। यिनका विचारमा नक्कलीपना छैन, छँदै छैन कत्ति नि।
छालै खुइल्याउने यो गर्मीमा पसिना चुहाइरहेका परि श्रमी नेपाली छन् असंख्यौं। सयौं होइन हजारौं। हजारौं होइन लाखौं।
कति मन छुने उत्तर अनायास बोलेथे कटुवालले।
हामी डेजर्ट सफारीमा गुडिरहेका छौं।
‘यति त आइयो, नहेरी जानै हुन्न !’
ताल पुर्याइछोड्ने अड्डी छ कार्कीको।
हामी पूर्व, दक्षिण भएर गुडेका-गुडेकै छौं। ठाउँठाउँमा ठूला र अग्ला न अग्ला टावर छन्। त्यहाँ क्यामेरा जडान गरिएका देखिन्छन् प्रशस्तै।
परपर उँटका बथान छन्। आँखै तिर्मिराउने घाम र गर्मीले शरीर गलाएको छ। गाडी बेस्सरी हल्लिएर थिलथिलो भइसकेका छन् ज्यानका धेरै अंग।
एक ठाउँमा त गाडी मास्तिर उक्लिनै सकेन— कार्कीले मरुन्जेल गाडी उकाल्न खोजे। बालुवाको रास गुरुरु तल झरेर गाडी नै सुलुलु आपैmं तल आएर थच्चिन पुग्यो।
मुटुको तातो स्वात्तै हरायो र चिसिन पुगेँ म।
‘आज यत्ति नै होला दुनियाँ देख्न लेखेको !’
मेरो मन अत्तालिएर बोलिरहेको छ।
मसँगै अरूका अनुहारमा पनि अँध्यारो ओर्लियो एकाएक। सबैको मनको कहाली अनुहारमा आएर बस्यो थपक्क। भय, त्रास, अत्यासको भुँवरी एकै पटक आँखामा आएर छताछुल्ल पोखियो।
तर टीबीले छोडेनन्। फेरि एक फन्को गाडी मोडेर पश्चिमी पाटो भएर भीरैभीरै भई तीनचार तरेली मोडेर थाप्लामा पुर्याइछोडे— बालुवाको धारिलो चुलीमा।
‘मरुभूमिको चक्कर यस्तै हुन्छ !’
कार्की बोलिरहेका छन्।
निकै तेर्छो देखियो। पूर्वपट्टि आपट्टे समुद्रको अटलता छ नजिकै। सागर र सगर दुवैको नीलोले केही बातचित गरिरहेको लाग्दै छ। हामी सागरको छेउमै जोडिएको बालुवाको खानीमा दगुरिरहेका छौं।
तीनवटा बालुवाका चुली चढ्ने र ओर्लिने क्रम सकिएपछि एउटा निकै टारजस्तो विशाल मैदानमा हामी रोकियौं।
पहेँलो र राताम्मे टाकुरामा फुत्तफुत्त खस्थे आकाशबाट वेग मारेर आएका आपैmं उडाउन मिल्ने छाते धोक्राहरू। जहाजे पाराका ती थैलाहरूमा एकदुई उडुवाहरू हावाका तालमा यताउता खसिरहेथे।
‘समुद्रमा झ्वाम्म खस्दैनन् ? ’
‘यी उडिरहेका हेलिकप्टरले टपक्क टिपिहाल्छन् नि !’
मेरो गनगनले कार्कीबाटै उत्तर पायो।
आँखाले नभ्याउने पहेँलपुर बालुवाका पहाड, टार र खोँचमा चकमन्न थुप्रेको थियो। बेलाबेलामा हावाको फुइँकीले हुइँहुइँ आवाज छर्दा कोलाहलमय हुन पुग्थ्यो सिंगो मरुभूमि। अझ खोँचबाट बटारिएर निस्केको हावाको फुइँकी निकै त्रासद सुनिन्थ्यो।
मैले चारैतिर हेरेँ।
पश्चिमतिर घामको डल्लो ‘अभैm पनि खरानी पार्न सक्छु’ भन्ने हाँक दिएर डुब्ने तर्खरमा थियो। गर्मी केही मत्थर थियो। धर्तीमा तापको राप मत्थर भएको थियो थोरै भए नि।
‘हाम्रा साथी कता छुटे ? ’
बोलिरहेका छन् टीबी।
हामी हुइँकिएर निकै पर पुगिसकेका छौं। अघि देखिएका बालुवाका शिखरहरू बेग्लै भइरहेका छन् फेरि। भिन्नै रङ र आकारमा टुप्लुक्क आँखासामु झुल्किन्छन्। डुब्दो घामसँगै हुत्तिएको हावाले बालुवाका पहाडमा पोखिरहेछ अनेक खालको कला र रूप।
कतै टुप्लुकिइरहेका छन् गहिरा खोँचहरू। कतै स्वात्तै चिप्लिने भिरालाहरू देखिइरहेका छन्। कतै आँखा शान्त हुने समथर पखेरा भेटिइरहेका छन्। कतै मुटुको कम्पनसमेत चुप लाग्ने सुन्दर नागबेली तरेली सामुन्निएका छन्।
म त हेरेको हेरेकै भएँ— बालुवाको चमत्कार। बालुवाको खानीको अद्भुत संसार।
आँखाले देखेको मरुभूमिको रूप ओठले भन्न मानिरहेको छैन। हो, खलबल छ। बेजोडसँग त्यो उकुसमुकुसले कोहीसँग बातचित गर्न मन गरिरहेको छ।
‘अझै भेटिएन न्यान्सी ताल !’
कार्कीले गाडी स्टार्ट गरे।
उनको भूतमा हामी सबै परेका छौं। उनी बालुवाको पहाडमा सुलुलु चिप्ल्याएर बेस्सरी गाडी हुइँक्याइरहेका छन्... हुइँक्याइरहेका छन्। घरिघरि गाडी पल्टिएर उत्तानचित खाला जस्तो हुन्छ। मुटुले ठाउँ छोड्छ बेलाबेला !
हामी सबै डल्लो पर्छौं एकै ठाउँमा।
‘यता हुनुपर्ने हो !’
उनी गाडी पहाडबाट तल ओराल्छन्।
‘यता पनि देखिएन !’
कार्की फेरि गाडी मोडेर पहाडतिरै हुइँक्याउँछन्। बालुवाको चुलीमा त हेर्दाहेर्दै पहिरो खसेर गाडीका पांग्रा सबै पुर्रिइन्छन्।
तर पनि कार्कीले अनेक जोडबल लगाएर ठीक ठाउँमा ल्याइपुर्याउँछन् गाडी।
हामी पूर्व निकै हुत्तिएपछि आकाशबाट उडेका प्यारासुट निकै परको खोँचमा ओर्लिएको देख्यौं। उडिरहेको प्यारासुटले दिएको संकेत समातेर हामी नि हुइँकिएका थियौं बेतोडले।
ओहो, अघि नै छोडेको समुद्रसँग त फेरि पो भेट भो। त्यही नीलो समुद्र। त्यही चकमन्न सागर। त्यही अपार जलराशि।
‘लौ, संसार घुमियो भनेको त त्यै समुद्रको फन्को मार्दै बसिएछ !’
दिक्क भएँ म।
गाडी फेरि रोकियो।
निकै माथि पो पुगिएछ त। चारैतिरबाट बालुवाका चहकिला थुम्का, टार र नागबेली चुलीहरू टुप्लुकिए मज्जा मज्जाका। राता, खैरा र कतैकतै त घुर्मैला मैदानहरू पनि।
कतैकतै छायाको बढी प्रभावले काला खोँचसमेत देखिए।
गाडी मोडिएर दक्षिणतिर सुलुलु चिप्ल्याउन मन गरेछन् कार्कीले। तह तह परेको भीरमा गाडी थामिन मुस्किल पर्यो। एकै बाजी पुल्टुङबाजी खालाजस्तो पो भइयो— गाडीसँगै हामी सबै।
गाडी पनि खसिरहेको छ। बालुवाको रास झन् बेतोडले झरिरहेको छ। गाडीको आधा-आधासम्म बालुवाले पुर्यो। निकै कसरत गरे कार्कीले। बालुवामा नमज्जाले फँस्यो गाडी।
हामी सबै झर्यौं। अनि बिस्तारै गाडी पछाडि सारेर तेर्छो फाँटमा पुर्याए उनले।
‘मरी त हालिन्न थियो। घाइतेसम्म होइन्थ्यो !’
भट्टराई फुसफुसाए।
तर मैले र कटुवालले भने मानेनौं उनका कुरा।
मरुभूमिमा बालुवाले पुर्रिएर मरिन्थ्यो होला। समुद्रका छेउमा ‘पानी-पानी’ भनेर परान जान्थ्यो होला हाम्रो।
मैले त यस्तै कुरा भनेँ।
तर कार्कीले झनै बेतोडसँग बालुवाको खोँचतिर गाडी हुत्याएर मेरा कुरालाई हावामा उडाइदिए। गाडी र कार्की दुबै जब्बर। बरु मरुभूमिको बालुवा हार्यो।
हामी पाँचसात नागबेली उकाली र ओराली छिचोलेर पूर्वतर्पmको फाँटिलो थुम्कोमा पुग्यौं। भीरकै छेउमा घ्याच्च रोकियो गाडी।
‘ऊ त्यही हो !’
पश्चिमतिर औंल्याए कार्कीले।
‘यत्रो समय लगाएर खोजेको ताल यै हो !’
हामीले समुद्र घुसेर बनेको सानो र सङ्लो पोखरी जस्तो देख्यौं।
अनि सरर्र फेरि झर्यौं समुद्रकै छेउमा। गहिरो तालको पिँधमा मास्तिरको भीरको रातो रङको छाया झन् उत्ताउलिएर बसेथ्यो। यति परबाट नि त्यसको रूपौलो सौन्दर्यले मायालु छुवाइ भर्यो मनमा।
लस्करै बसेका मान्छेहरू माछा मारिरहेका थिए समुद्रका कलिला लहरमा। पारि... समुद्रपारि देखिन्थ्यो सानो टापु। त्यहाँ केही घरहरू पनि देखा परे। समुद्रले घेरेको टापु एक्कासि देख्दा खुसी बेग्लै खालको उम्रियो मनमा।
‘त्यो साउदी अरब हो !’
एउटा सिपाहीले हाम्रो चासोलाई मत्थर पार्यो।
हामीसँग छुटेको गाडी पनि आइपुग्यो। लस्करै बसेर खिटिक-खिटिक फोटाहरू खिच्यौं।
साँझ निकै रमाइलो भइरहेको थियो। राता र खैरा मरुभूमिका पहाडहरू देखिइरहेथे झनै उत्ताउला र लोभलाग्दा।
केही साथी तालको पानी छुन गए। मैले त्यो छुने मन गरिनँ। मेरा लागि मरुभूमिको बालुवाको पहाडले फत्काइरहेको थियो धेरै कुरा। हावाको पूmर्ति त्यति बेला देखा पथ्र्यो— जब केही अघिदेखि देखिएको भीर छिनभरमै अत्यन्तै कलात्मक मैदानजस्तो देखिन्थ्यो।
बालुवा खस्थ्यो बुरर्र... बुरर्र। फेरि हावाले खसाइरहेको बालुवा रोकिएर अरू थपिन्थ्यो। पहिरिएको बालुवालाई फेरि हावाले नै रोकेर बनाइहाल्थ्यो बेग्लै आकारको।
कस्तो-कस्तो गजब लाग्ने ! कस्तो-कस्तो छक्कै पार्ने ! कस्तो-कस्तो दंगै तुल्याउने ! आँखा र मनले पक्क परिरहने मरुभूमिका पर्दाहरू।
ओहो, कस्तो लुकामारी हावा र बालुवाको !
मरुभूमिको अद्भुत संसारमा मेरा आँखा हराइरहेका छन्। आँखाले एउटा दृश्य हेरिनसक्दै मनले अर्कै भाषा बोलिसक्ने समयको परिवर्तन— मैले मरुभूमिमा मात्र देखेँ। एकदमै अचम्म, अनौठो र अपत्यारिलोसमेत। निकै बेर समुद्र छेउमा टहलियौं हामी। साथीहरू छरिएर हातको पानी साटासाट गरी-गरी खायौं।
मैले बालुवामा लेखेँ— ‘९ वैशाख, २०७३। अरब सागरलाई पढेको दिन !’
साँझमा दोहा फर्किन लाग्दा कार्की बोले, ‘डेजर्ट सफारी कस्तो लाग्यो तपाईंहरूलाई ? ’
अरूहरू अनेक कुरा जोडेर धेरै-धेरै बयान गरिरहेका थिए। मसँग मौनता थियो— अगाडिको समुद्रजस्तो। यो अथाह बालुवाको पहाडको चुपचापजस्तो।
अहिले भन्न मन लागेको छ, ‘कार्की सर, त्यो घुमघाम अद्भुत भयो। जीवनलाई नयाँ शैलीमा एक पटक पढेर फर्कन पाएँ। कृतज्ञ छु तपाईंप्रति !’