किड्स अफ दी इयरमा स्टेला
काठमाडौं : राजधानीमा सम्पन्न नेसनल किड्स अफ दी इयरमा स्टेला शाह छानिएकी छन्। उनी सिंगापुरमा हुने इन्टरनेसनल किड्स अफ दी इयरमा सहभागी हुँदै छिन्। १८ वटा स्कुल सहभागी प्रतियोगिताबाट आठ वर्षीया स्टेला छानिएकी हुन्।
स्टेला युलेन्स स्कुल सीतापाइलामा कक्षा २ मा पढ्छिन्। प्रतियोगितामा भाग लिएपछि हरेक काममा आत्मविश्वास बढेको उनी बताउँछिन्। उनले क्याटवाक गर्न सिकिन्। नडराई माइकमा बोल्न जानिन्। प्रतियोगितामा सहभागी हुनुअघि उनलाई यस्ता कुरा थाहा थिएन। उनी अहिले तीन महिनापछि हुने प्रतियोगिताका लागि तयारी गर्दै छिन्। उनी बाबा ममीसँग सिंगापुर जाने सल्लाह भइरहेको बताउँछिन्। उनलाई स्कुलमा साथी र म्यामले शुभकामना र बधाई दिएपछि औधी खुसी मात्रै लागेको छैन, केही गर्न सक्छु भन्ने आँटसमेत पलाएको छ।
प्रतियोगितामा क्राउन लगाउँदा उनी मक्ख परिन्। त्यति बेला उनले मामुलाई सम्झिएको सुनाइन्। उनी भविष्यमा डाक्टर बनेर अशक्त, असहायलाई सहयोग गर्ने इच्छा राख्छिन्। उनी आफ्नो जन्मदिनमा पनि असहाय, अशक्तलाई सहयोग गर्न बाबा मामुसँग पुनस्र्थापना केन्द्रमा पुग्छिन्। उनलाई त्यहाँ पुग्दा रुन मन लागेको सुनाउँछिन्।
प्रतियोगितामा उनलाई शारीरिक सजायसम्बन्धी प्रश्न गरिएको थियो। उनले नधकाई जवाफ दिएको बताइन्। स्टेला नाच्न र गाउन रुचि राख्छिन्। त्यस्तै, उनी साथीसँग खेल्न, पेन्टिङ गर्न र परिवारसँग समय बिताउन मन पराउँछिन्। उनलाई गणित र विज्ञान विषय पढ्न मन पर्छ। उनलाई फिल्ममा र सिरियलमा खेल्ने रुचि छ। अंग्रेजी गीत बढी गाउने उनलाई ‘म त नेपालकी छोरी’ भन्ने गीत मन पर्छ। उनी दिनहुँ डायरी लेख्छिन्। उनलाई घुम्न मन पर्छ। उनी पोखरा जाँदा फेवातालमा डुंगामा सयर गरेको र कञ्चनपुर जाँदाको घटना सम्झिन्छिन्।
स्टेलाले बेस्ट स्पिकर अवार्ड पनि जितेकी छन्। ‘सुरुमा म डराएकी थिएँ। पछि लजाएँ। विस्तारै सबै कुरा हराउँदै गयो। अनि नडराई आफ्नो प्रस्तुति दिएँ’, उनले प्रतियोगिताको स्मरण गरिन्। उनी भिडियो हेर्दै नाच्न सिक्ने गरेको बताउँछिन्।