दुबईमा गुञ्जिँदै नेपथ्य
काठमाडौं : संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ मा त्यहाँस्थित अल नासर लेजर ल्यान्डमा कन्सर्ट आयोजना गरिने छ।
अरब जगत्को यो व्यस्त व्यापारिक केन्द्रमा ब्यान्ड दोस्रोपटक पुग्न लागेको हो। यसभन्दा पहिले मुलुकले कठिन परिस्थिति बेहोरिरहेको क्षणमा पूर्वनिर्धारित कार्यक्रमको बाध्यताले नेपथ्य त्यहाँ पुग्नु परेको थियो। भुइँचालोलगत्तै तय रहेको सन् २०१५ मे २१ को दुबई कन्सर्टलाई ब्यान्डले ‘राष्ट्रिय सन्तापको संगीत’का रूपमा लिएको थियो। त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्यान्डले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।
‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पूरै जोशजाँगरका साथ दुबई आउँदै छौं’, ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ श्रोता दर्शकलाई नचाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन्।’
मुलुकभित्र अवसरको अभावले गर्दा देशभरिका तन्नेरी लामो समयदेखि खाडीको तातो मरुभूमिमा परि श्रम गरेर कमाउन बाध्य छन्। खाडी राष्ट्रमध्ये साउदी अरब र कतारपछिको उल्लेख्य नेपाली कामदार संख्या संयुक्त अरब इमिरेट्समै छन्। घरपरिवारबाट टाढा रहेका उनीहरू त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन्। रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महŒवपूर्ण योगदान दिने ती तन्नेरीका सामु ब्यान्डलाई पूरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको योजना बल्ल पूरा हुन लागेकामा गुरुङ सन्तुष्टि व्यक्त गर्छन्।
‘यसअघिको कन्सर्ट शोकको क्षणमा आयोजना भए पनि झन्डै दुई हजार दर्शकको उपस्थितिले हौस्याएको थियो’, अमृत भन्छन्, ‘त्यति बेलै हामीले नयाँ रेकर्डिङ भएको गीत ‘कोसीको पानी यो जिन्दगानी’को म्युजिक भिडियो पनि त्यहीँ खिचेका थियौं।’ दुबईको यसै स्थलमा कन्सर्टको बेला खिचिएको त्यो गीत नेपथ्यको आधिकारिक म्युजिक भिडियोका रूपमा युट्युबमा उपलब्ध छ।