काठमाडौँमा कविता कृष्णमूर्ति र एल सुब्रमण्यमको सांगीतिक प्रस्तुति
काठमाडौँ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भारतीय दूतावासकोले शुक्रबार साँझ परोपकारी सांगीतिक साँझ आयोजना गरेको छ । यो सांगीतिक साँझमा विश्व विख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम र चर्चित बलिउड गायिका कविता कृष्णमूर्तिले सांगीतिक प्रस्तुति दिए ।
लैनचौरस्थित भारतीय दूतावासमा आयोजित सांगीतिक साँझमा नेपाली संगीत क्षेत्रका चर्चित कलाकार पनि उपस्थित थिए । कार्यक्रममा नेपाली राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिकर्मी, विद्यार्थी सञ्चारकर्मीसहित एक हजार ५ सय भन्दा धेरै उपस्थित थिए।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा यो कार्यक्रम भएको हो । कार्यक्रममा डा. एल. सुब्रमण्यम र गायिका कविता कृष्णमूर्तिसँगै अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर)लगायतले सांगीतिक मनोरञ्जन दिए ।
डा. एल. सुब्रमण्यम विश्वविख्यात भायोलिन बादक हुन् । नेपाली गीतसमेत गाइसकेकी कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिका हुन् । उनले हालसम्म १६ भन्दा धेरै भाषामा १८ हजार भन्दा धेरै गीत रेकर्ड गराएकी छन् ।
सांगीतिक प्रस्तुतिपछि भारतीय दूतावासले दुई युगल जोडी समूहको सांगीतिक प्रस्तुति अविस्मरणीय रहेको जनाएको छ। 'आफ्नो आधुनिक, शास्त्रीय भायोलिन वादन र गायनबाट दुवैले दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाए', दूतावासले विज्ञप्ती निकालेर भनेको छ, 'उनीहरुको प्रस्तुतिलाई दर्शकले लामो समय सम्झिरहने छन् ।'