सुख्खाग्रस्त क्षेत्रको घर-घरमा पानी
फिदिम : लामो समयदेखिको खानेपानीको समस्या समाधान गर्ने उदेश्यले पाँचथरको सुख्खाग्रस्त क्षेत्रको यासोक बजारका प्रत्येक घरमा खानेपानी पुर्याइएको छ। डीटीएच डीप बोरिङ सञ्चालन गरेर बजारमा पानी पुर्याइएको हो। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले शनिबार यासोक बजारको धारा खोलेर औपचारिक रुपमा बजारमा पानी वितरण सुरु भएको घोषणा गरे।
पानीको अभावले काकाकुल भएका कुम्मायक वासीको समस्यालाई समाधान गर्न डीप बोरिङ सञ्चालन गर्न प्रदेश सरकारले तत्परता देखाएको आङ्बोले बताए। ‘अब पानीको समस्याले बसाइँ जाने क्रम रोकिन्छ,’ आङ्बोले भने ‘यो अल्पकालीन योजना हो। दीर्घकालीन रुपमा यहाँको खानेपानी समस्या समाधान गर्नका लागि बृहत खानेपानी आयोजनाको काम पनि भइरहेको छ।’ कुम्मायक गाँउपालिकाको खानेपानी समस्या समाधान गर्नका लागि तमोर लिफ्टििङ खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ।
बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाको वितरण लाइनबाट डीप बोरिङको पानी वितरण गरिएको हो। पाइप लाइन विस्तार नभएको ठाँउमा वितरण केन्द्रमार्फत वितरण सुरु गरिएको छ।
एक करोड ९० लाख रुपैयाँको लगानीमा खानेपानीको व्यवस्था गरिएको छ। जसमा प्रदेश सरकारको एक करोड ६० लाख र स्थानीयको ३० लाख लागानी रहेको डीप बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिए। ‘अहिले तीनवटा डीप बोरिङबाट पानी वितरण सुरु गरिएको छ,’ उनले भने, ‘दुईवटा डीप बोरिङ सञ्चालनमा ल्याउन बाँकी छ।’ पाँचवटा डीप बोरिङबाट गाँउपालिकाका १५ सय घर धूरीमा खानेपानी पुर्याउने लक्ष्य राखिएको उनले बताए। छ सय ५० घरधूरीले अहिले डीप बोरिङको पानी प्रयोग गर्न थालेका हुन्।
कुम्मायक गाँउपालिकाको काफ्ले पानी, निगाले र यासोक बजार छेउमा डीप बोरिङ सञ्चालन गरिएको हो। यासोक बजार छेउको उत्तिसमा सञ्चालन गरिएकोमा डीप बोरिङको पानीलाई पम्पिङ गरेर देउराली खानेपानी आयोजनाको वितरण लाइनबाट यासोक बजारको घर–घरमा पानी पुर्याइएको छ। कुम्मायक– ५ विजुवा पानी र वडा नम्बर ३ को देवल भन्ने स्थानमा निर्माण गरिएको डीप बोरिङ सञ्चालनमा ल्याउन बाँकी छ।
जमिनबाट दुई सय २० देखि तीन सय मिटर गहिराईसम्म खनेर पानी निकालिएको हो। यसरी निकालिएको पानी सोझै पिउन मिल्ने बताइएको छ। एउटा डीप बोरिङबाट प्रति सेकेण्ड अढाई लिटर पानी आउने बताइएको छ।
यही ठाँउमा तमोर लिफ्टिङ खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ। उक्त आयोजनाले पाइप लाइन विस्तार र ट्यांकी निर्माणको काम सम्पन्न गरेको छ। डीप बोरिङ आयोजनाको पानी घर घरमा पुगेपछि पानीको अभावमा कष्टकर जीवन विताइरहेका कुम्मायकवासी खुसी भएका छन्। ‘प्रभावकारी रुपमा खानेपानी वितरण हुन्छ भन्ने विश्वास बढेको छ,’ उद्योग वाणिज्य संघ यासोकका पूर्व अध्यक्ष नरेन्द्र बोहोराले भने, ‘वर्षौदेखिको तिर्खा बल्ल मेटिने भो भनेर हामी सबै हर्षित भएका छौँ।’ डीप बोरिङ सञ्चालनबाट कुम्मायक गाँउपालिका – १, ३, ४ र ५ का स्थानीय लाभान्वित भएका छन्।