लैङ्गिक समानताका बहुआयाम

लैङ्गिक समानताका बहुआयाम

‘उत्तमका लागि सन्तुलन’ तय गर्दै यस वर्षको नारी दिवस सम्पन्न भएको छ। आजको परिवेशमा नेपाललगायत विश्वमै हरेक क्षेत्रमा महिला पुरुषसरह सशक्त भइसकेका उदाहरण प्रशस्त भए पनि केही प्रतिशत महिलाको आँकडा मात्र हेरेर सबै महिलाको स्थितिलाई तुलना गर्न मिल्ने स्थिति छैन। संविधानको हकमा महिलाका लागि धेरै अधिकार सुरक्षित गरिएको छ। हाँसो उठ्छ– स्वतन्त्र रूपमा पुरुषसरह प्राकृतिक अधिकार लिएर जन्मिएका महिलालाई त्यो देशका राजनेताले संविधानमार्फत महिलाका अधिकार छुट्ट्याएका छन्।

 महिलालाई आरक्षण दिइएको छ। महिला पनि बाध्य छन् आरक्षण लिन र कानुनतः आफ्ना अधिकार माग्न। किनकि यहाँ नमागे, नलडे पाइन्न, पछि परिन्छ, पछि पारिन्छ, अधिकार लडेर लिनु छ। एउटी आमाले छोरा जन्माउँदा र छोरी जन्माउँदा उही प्र श्रव पीडा र आमा हुनुको उही खुसी अनुभूति गरेकी हुन्छिन् तर समाजले, घरका परिवारले छोरी जन्माएर पनि कसरी खुसी हुन सकेकी होली भनेर खुसीलाई लुकाउन बाध्य पारिदिन्छ। 

अशिक्षित, गरिबी र परम्परगत संस्कारमा हुर्केकालाई मात्र होइन, भित्रभित्रै शिक्षित र धनाढ्य अनि प्रतिष्ठित परिवारमै छोराको चाहना हटेको छैन। पितृ तार्न, पुस्ता धान्न छोरा चाहिन्छ नै चाहिन्छ। किन ? यसको तार्किक जवाफ सबैसँग होला तर भावनात्मक र वैज्ञानिक जवाफ प्रश्न उठाउनेसँग नै पनि छैन। न त शास्त्र, पुराण र कुनै धार्मिक ग्रन्थले नै यसको पुष्टि दिन सक्छ। समानता हृदयबाट प्रस्फुटन हुनुपर्दछ, संवेदनाबाट जागृत हुनुपर्दछ कानुनद्वारा समान बनाउनुपर्‍यो भने अधिकार त मिल्ला प्रेम भने मिल्दैन। प्रेम अपनत्वबाट मिल्छ अदालतबाट होइन।

लैंगिक समानताका लागि कुनकुन आयाममा महिला पनि पुरुषसरह स्वतन्त्र र सशक्त छन् जान्नु जरुरी छ।

आर्थिक समानता

एउटा घरको छोरा र छोरीले या एउटा देशको पुरुष र महिलाले पाउनुपर्ने आर्थिक सुविधा, आर्थिक लगानी, आर्थिक योगदान हरेक पक्षमा पुरुषले जत्तिकै गर्न सक्छन् महिलाले र यो उनीहरूको स्वतन्त्रता हो भन्ने ख्याल नहुँदासम्म लैंगिक समानता कायम हुन सक्दैन। रोजगारको सृजना, अर्थोपार्जन, उद्यमशीलता, व्यापार, व्यवसाय हरेक पक्षमा महिला पुरुषजत्तिकै सशक्त छन्। त्यसैले अवसरबाट वञ्चित नगरी हौसला प्रदान गर्नु र पुरुष प्रधान मस्तिष्कले यसलाई विश्वास राख्ने खुबीको विकास हुनु समानताका लागि पहल हुनेछ।

 घरको सम्पत्ति छोरा र छोरी या छोरा र बुहारीलाई बराबर बाँड्ने मनस्थितिबाट माथि उठेर बराबर रूपमा कसरी आयआर्जन गर्न सकिन्छ त्यो वातावरण तयार गरिदिनु उत्तम हुनेछ। श्रम, तलब र ज्यालादारीमा समेत पुरुष श्रमिकको तुलनामा महिलालाई कम दिने गरिएका प्रशस्त उदाहरण छन्। 

महिला मात्र होइन, पुरुष पनि अग्रसर भएमा मात्र चेतनाको स्तर उकास्नमा मद्दत पुग्छ।

महिला श्रमिकको कदर गरी कामप्रति उनीहरूलाई हौसला प्रदान गर्नु सम्बन्धित सबै क्षेत्रको दायित्व र मानवताको लक्षण पनि हो। महिलालाई अक्षम आँखाले हेर्नुभन्दा देशको अर्थतन्त्रमा महिला सहभागिता, देशको आर्थिक विकासमा महिलाको योगदान भन्ने समाचार पनि आउनहुन्छ।

सामाजिक मूल्य, मान्यता र संस्कारमा समानता

महिलाले यसो गर्नु हुन्न, उसो गर्नु हुन्न किनकि हाम्रो सामाजिक मूल्य, मान्यता र संस्कार नै यस्तै छ भन्ने मान्यताले आजसम्म धेरै महिला पुरुषको तुलनामा आफूलाई तल्लो दर्जाको प्राणी सम्झन बाध्य छन्। त्यसैले होला महिलाको सम्मान गर्दै ओशो भन्नुहुन्छ– समाजले गजबको नियम बनाएको छ, जुन नियम पुरुषले अपनाउँदा चरित्रहीन हँुदैन भने महिलाले अपनाउँदा चरित्रहीन हुन्छिन्। जे पनि कुरा आचरण बेठीक छ, खराब छ भने त्यो महिला पुरुष दुवैमा लागू हुनुपर्दछ। समाजमा पुरुषलाई चुरोट पिउन, भट्टीमा पस्न, मदिरा सेवन होस् या वेश्यालय जान छुट गरेको छ तर महिलालाई वञ्चित।

 महिलाले यी काम गर्दा चरित्रहीनताको उपमा दिइन्छ। के पुरुषको चरित्र राम्रो हुन जरुरी छैन ? एकै घर, परिवार, समाजमा एकै मानव जाति महिला र पुरुषलाई फरक फरक मापदण्ड किन ? आत्मविकास, नैतिक विकास, प्रेरणादायी कर्म, मनोरञ्जन, सीपमूलक कर्म अर्थात् गर्न मिल्ने काम छन् भने महिला पुरुष दुवैले आफ्नो रुचि र स्वेइच्छाले गर्न पाउनुपर्छ, अन्यथा महिलालाई मात्र प्रतिबन्ध जस्तो, महिला सहभागी भए भने चरित्रहीनको संज्ञा दिने अधिकार कसैमा छैन। चरित्रको कुनै लिंग हुँदैन, मनोभावना र मनोविज्ञानको कुनै लिंग हुँदैन। त्यसैले जुन कुरा पुरुषले गर्दा मान्यता पाउँछन् त्यो मान्यता महिलाले पनि नपाएसम्म लैंगिक समानता कायम हुन सक्दैन।

राजनीतिक सहभागिता

अहिलेको नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आफ्नै स्वेइच्छा, लगनशीलता र योगदानले भन्दा आरक्षण र नातावादको आडमा राजनीतिक सक्रियता र सहभगिता देखाउने महिलाको संख्या धेरै छ। विगतको चुनाव, त्यसमा महिलाको उम्मेदवारी र महिलाको विजय अनि महिलाको नेतृत्वदायी भूमिकाले प्रस्ट पारेको छ– महिला राजनीतिमा कति सक्रिय हुने, कुन पदभार ग्रहण गर्ने र निर्णय क्षमता कसरी प्रयोग गर्ने। जानीनजानी पुरुष प्रवृत्ति हावी हुनु र आरक्षणको प्रयोगबाट राजनीतिमा प्रवेश गरेका महिलाले आफ्नो क्षमता विकास गर्ने अवसर नपाएको तथ्य जगजाहेर छ। आफ्नो स्वविवेकको प्रयोग गर्न नपाएकाले विकासका काममा योगदान पुर्‍याउन नसकेको गुनासो पोख्ने थुप्रै महिला राजनीतिकर्मी हुनुहुन्छ।

शैक्षिक रूपमा समानता

शिक्षाको पनि लिंग छैन। प्रत्येक व्यक्ति शिक्षाको अवसरबाट वञ्चित हुनु हुँदैन। जसरी एउटा शिक्षित पुरुषले आफ्नो घर, समाज र देशलाई शिक्षित बनेर योगदान दिन सक्छ त्यसैगरी एक महिला शिक्षित भइन् भने पनि त्यत्तिकै योगदान गर्न सक्छिन्। धेरै शिक्षित महिलाले धेरै आयाममा देशलाई योगदान पुर्‍याएका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि यो विकास ८० प्रतिशत नेपाली महिलामा नपुग्दासम्म औंला गनेर आँकडा बताउनुको अर्थ रहँदैन। बाहिरी डिग्रीको शिक्षा र भौतिक विकासको शिक्षा मात्र होइन, आध्यात्मिक शिक्षा र चेतना जागरणका शिक्षाहरू पनि चाहिएको छ हाम्रो समाजमा समानता र समभाव विकास गर्नका लागि।

मानिसलाई मानिस नै बनाएर फेरि सुन्दर संसारको सिर्जना गर्न पनि आन्तरिक नैतिक शिक्षाको जरुरत खट्केको छ। कानुनले मात्र निर्मूल पार्न नसकेका, समाजमा शीयौंदेखि जरा गाडेर बसेका कतिपय रुढिवादी परम्परा तथा मान्यतालाई शैक्षिक ज्ञानद्वारा नै परिवर्तन गर्नुपरेको छ। त्यसनिम्ति सामाजिक रूपमै चेतना जागरण अभियानलाई निरन्तरता दिइनुपर्दछ। महिला मात्र होइन, पुरुष पनि अग्रसर भएमा मात्र चेतनाको स्तर उकास्नमा मद्दत पुग्छ। महिला र पुरुषको समभावले नै लैंगिक विभेद र हिंसा निर्मूल पार्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.