पास गराइदिने प्रलोभनमा विद्यार्थीसँग घुस लिने शिक्षकविरुद्ध मुद्दा
काठमाडौं : परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभनमा विद्यार्थीसँग घुस लिएको आरोपमा भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाहीसहित तीनजनाविरुद्ध मुद्दा दायर भएको छ। प्रति विद्यार्थी २५ हजार लिएको आरोप उनीहरूमाथि छ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ संकायको गत असोज महिनामा लिइएको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई पास गराइदिने प्रलोभनमा पारेर शाहसहित तीनजनाले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
महानगरीय प्रहरी परिसर टेकुले आयोगमा दर्ता गरेको उजुरीका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए।
पूर्वाञ्चल विश्वविद्यालयबाट बायोस्टाटिस्टिक्स विषयको उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी शाहले पाएका थिए। उनले अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरालसँग मिलेमतो गरेर फेल भएका विद्यार्थीलाई आर्थिक लेनदेन गरी पास गराएका थिए।
उनले फेल भएका परीक्षार्थीहरूसँग आर्थिक लेनदेन गरी परीक्षाको नतिजा फेरबदल गर्ने गलत मनशाय राखी परीक्षार्थीहरूसँग सम्पर्क गर्ने काममा अर्जुन भाटलाई खटाएका थिए।
केही परीक्षार्थीसँग तत्काल र केहीसँग पछि पैसा लिने शर्तमा परीक्षामा सहभागी ६ जना अनुर्त्तीर्ण परीक्षार्थीलाई पास गराएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उत्तरपुस्तिकामा आफैंले तथा भाट र प्रवेग कोराललाई लेख्न लगाई अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराई परीक्षार्थीबाट रकम लिई एक आपसमा बाँडफाँड गरी खाएको पाइएको छ।
शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार 'प्रश्नपत्रको गोपनीयता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाफल फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी' गरिएको छ।
शाहीसँग मिलेमतो गरी परीक्षार्थीलाई करकाप तथा प्रलोभनमा पारी आर्थिक लेनदेन गरी रकम लिई एक आपसमा बाँडफाँड गर्ने मनशायका साथ परीक्षाको नतिजा फेरबदल गर्ने कार्यमा भाट र कोरालविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार प्रतिबन्धात्मक बाक्यांश बमोजिम सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।