रेन्जरसहित चारजना विरुद्ध मुद्दा
काठमाडौं : नेपालगन्ज सवडिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठ टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइरहेका अवस्था पक्राउ भएका रेन्जर खत्री, फरेष्टरद्वय बहादुर केसी (खत्री) र केशवबहादुर वली तथा वन रक्षक हरीकुमार चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन मागदावी लिई विशेष अदालत आरोपपत्र दायर गरिएको छ।
गिरी र दुराविरुद्ध नक्कली प्रमाणमा मुद्दा
नेपाल विद्युत प्राधिकरण अन्तर्गत सेती फेवा पावरहाउस, पोखरामा कार्यरत इलेक्ट्रिकल फोरमेन (तह ४) वलदेव गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाण प्रयोग गरी जागिर खाएको आरोपमा मुद्दा दायर गरिएको छ।
सेन्टअप टेस्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि गरी विरुद्ध अख्तियारले मुद्दा दयार गरेको हो।
गिरीले इलेक्ट्रिकल फोरमेन पदमा बढुवा हुने प्रयोजनको लागि नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौंबाट प्राप्त सेन्टअप टेस्टको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भई सरकारी लाभ सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन मागदाबी लिई विशेष अदालत आरोपपत्र दायर गरिएको छ। नक्कली प्रमाण पत्र पेश गरी जागिर खाएको आरोपमा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड, प्रधान कार्यालय, नेपालगन्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दुराविरुद्ध मुद्दा दायर गरिएको छ।
सेवा प्रवेश तथा बढुवाका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई पेश गरी सुविधा लिएकोको आरोपमा पुराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता दंगालले जानकारी दिए।
दुराले डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद (उ.प्र.) अन्तर्गतको जवाहरलाल नेहरु पी.जी. कलेज बाराबंकी, भारतबाट प्राप्त गरेको स्नातक (बीए) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक अधिकृत पदमा बढुवा समेत भई सरकारी लाभ सुविधा लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।