भारतबाट ल्याउँछ विप्लव समूहले हतियार
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए। सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए।
प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए। अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ।’
विस्फोटक पदार्थलगायत अवैध वस्तु उपत्यका भित्रिने प्रमुख नाका थानकोट हो। थानकोटमा खटिएका प्रहरी अझै पनि प्रविधिमैत्री छैनन्। प्रहरी जवानले डायरीमा गाडी आउजाउ गरेको तथ्यांक संकलन गरेर बस्छन्। जगाती, फर्पिङ, बाइपासलगायतबाट पनि निर्बाध गाडी आउजाउ हुन्छ। सुरक्षा जाँचमा खटिएका प्रहरीसँग गाडी स्क्यान गर्ने प्रविधि छैन। हेरेको र छामेको भरमा सुरक्षा चलेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन ११ गतेपछि विभिन्न जिल्लाबाट विप्लव समूहमा ३७ जना कार्यकर्ता पक्राउ परेका छन्। तीमध्ये केही जिल्ला सेक्रेटरी छन् भने केही केन्द्रीय सचिवालय सदस्य छन्। प्रहरीले केहीलाई शान्तिसुरक्षा खल्बल्याएको आरोपमा सार्वजनिक अपराधमा मुद्दा चलाएको छ। केही भने धरौटीमा छुटिसकेका छन्। नख्खुस्थित एनसेल मुख्यालयमा लक्षित गराई भएको बम विस्फोटमा विप्लवका कार्यकर्ता सूर्य भुजेल पक्राउ परे। गत साता शुक्रबार वसुन्धरामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको गाडीमा विस्फोट गराएको जिम्मासमेत विप्लव समूहले नै लिएको छ।
प्रहरी मुख्यालयका एक अधिकृत भन्छन्, ‘पक्राउ परेका कसैले पनि विस्फोटक पदार्थ ल्याएको ठाउँबारे खुलेर भन्दैनन्। बरु उनीहरू जस्तोसुकै कारबाही भोग्न तयार देखिन्छन्।’
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी विप्लव समूहलाई सरकारले सामान्य रूपमा लिन नहुने बताउँछन्। उनले सरकारले सुरक्षा निकायमा लगानी नगर्दाको फाइदा विप्लवलगायतका समूहले उठाइरहेको बताए। ‘घटना हुनेबित्तिकै जुरमुराउने र घटना नभएपछि सुस्त देखिने प्रवृत्तिले घटना हुनुपूर्वका अभ्यासमा सुरक्षा निकाय चुकेको देख्छु’, ठकुरीले भने, ‘सुरक्षा निकायका लागि आवश्यक स्रोतसाधनबारे सरकार गम्भीर नहुँदा यस्ता घटना भइरहेका छन्।’
प्रहरी मुख्यालयले नेपाल भित्रिने प्रमुख नाका र उपत्यका भित्रिने मुख्य नाकामा गाडी एक्सरे मेसिनसहितको डिजिटल चेक प्वाइन्ट प्रविधि राख्न पटकपटक गृह मन्त्रालयमा पत्राचार गरेको छ। तर त्यसको स्वीकृति भएको छैन। वीरगन्ज, विराटनगर, काकडभिट्टा, भैरहवा र थानकोटमा पाइलट प्रोजेक्टका रूपमा एक्सरे मेसिन राख्ने प्रस्ताव गृहमा बुझाइए पनि सुनुवाइ नभएको गुनासो मुख्यालयका एक उच्च अधिकृतले गरेका छन्।