क्यान्सर उपचारमा समस्या, शुल्क तिर्दा पनि सेवाबाट वञ्चित

क्यान्सर उपचारमा समस्या, शुल्क तिर्दा पनि सेवाबाट वञ्चित

काठमाडौं : क्यान्सर लागेको पहिचान भएका दर्जनौं बिरामी उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुग्छन्। तर उपचार नै नपाई निरास हुँदै फर्कन्छन्। माफी माग्दै बिरामीलाई उपचार सेवा नभएको बताउँदा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वराम पौडेल दिक्क मान्छन्। ‘अस्पतालको अवस्था हेर्दा दिक्कलाग्दो मात्र होइन, लाजै लाग्ने खालको छ। क्यान्सरका बिरामीलाई रेडियोथेरापी सेवा दिनै सकिएको छैन। फर्काउनुपरिरहेको छ,’ उनले भने। क्यान्सरका उपचार विधिमध्ये रेडियोथेरापी मुख्य मानिन्छ। क्यान्सर पहिचान भइसकेपछि विकिरण भएको मेसिनद्वारा उपचार गरिने विधि रेडियोथेरापी हो।

शरीरका संवदेनशील अंग मुख, घाँटी, ओठ, जिब्रो, पाठेघरको मुख, छालालगायत स्थानमा भएको क्यान्सरका लागि रेडियोथेरापी महत्वपूर्ण मानिन्छ। क्यान्सर बढिरहेको अवस्थामा पनि शल्यक्रिया र रेडियोथेरापी जरुरत पर्छ। सुशील कोइराला क्यान्सर अस्पतालमा दुवै सेवा छैन। करिब ७० प्रतिशत क्यान्सरका बिरामीलाई कुनै न कुनै समयमा रेडियोथेरापी आवश्यक पर्छ। ३० प्रतिशतलाई आवश्यक नपर्ने क्यान्सर विशेषज्ञको भनाइ छ।

रेडियोथेरापी लिने बिरामीको चाप बढेपछि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यलाई भ्याइनभ्याई छ। ‘बिरामीलाई अतिरिक्त समयमा सेवा दिँदासमेत थेग्न गाह्रो भइरहेको छ। डेढ÷दुई महिना कुर्नुहोस् भन्न बाध्य छौं’, डा. आचार्यले भने। अस्पतालमा अहिले रहेको तीनवटा रेडियोथेरापी मेसिनले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेको उनले जानकारी दिए। रेडियोथेरापी मेसिन थप्न सरकारसँग आग्रह गरिएको डा. पौडेलले बताए।

सुरुको अवस्थामा पहिचान भएर उपयुक्त उपचार हुन सके रेडियोथेरापीबाट पूर्णरुपमा निको पार्न सकिने क्यान्सर रोग विशेषज्ञ बताउँछन। तर रेडियोथेरापी सेवा मुलुकका ठूला सरकारी अस्पताल वीर र शिक्षण अस्पतालमा पनि छैन। सरकारीबाहेक अन्य स्वास्थ्य संस्थामा तीन वटा मात्र रेडियोथेरापी सेवा छ। जुन महँगो भएको बिरामीको गुनासो छ।

मुलुककै सबैभन्दा ठूलो वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द भएको दुई वर्ष पुगिसक्यो। अस्पतालले नयाँ मेसिन ल्याएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले जानकारी दिइन्। ‘मेसिनको व्यवस्था हुँदै छ। तीन महिनाभित्र सेवा दिन सकिन्छ जस्तो छ’, डा. शाहले भनिन्।

 काठमाडौंका ठूला अस्पतालका रूपमा लिइने शिक्षण अस्पताल र सिभिल अस्पतालमा रेडियोथेरापी सेवा छैन। ‘रेडियोथेरापी सेवा दिन दुई वर्षजति लाग्छ होला’, शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले भने।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निवर्तमान अध्यक्ष एवं वरिष्ठ क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपाने सेवा सीमित हुँदा बिरामीलाई समस्या भइरहेको बताउँछन्। ‘सरकारी अस्पतालको रेडियोथेरापी सेवाले बिरामी धान्नै सक्दैन, पालो कुर्नुपर्ने बाध्यता छ,’ डा. न्यौपानेले भने। नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी देखापरेको चिकित्सकको भनाइ छ।

सुशील कोइराला क्यान्सर अस्पतालले रेडियोथेरापीका लागि मेसिन खरिद गर्ने बजेट नभएको जनाएको छ। अत्याधुनिक मेसिनका लागि झन्डै ३० करोड हाराहारी पर्ने भएकाले सरकारको मुख ताक्नुबाहेक विकल्प नभएको डा. पौडेल बताउँछन्।

निजी अस्पतालबाट रेडियोथेरापी सेवा लिन गरिब बिरामीका लागि आर्थिक अवस्थाले नभ्याउने डा. न्यौपाने बताउँछन्। ‘रेडियोथेरापी सेवाको जिम्मा सरकारले नै लिनुपर्छ। निजी क्षेत्रबाट सेवा लिँदा घरजग्गा बेच्नुपर्ने अवस्था हुन सक्छ’, उनले भने। सरकारी अस्पतालमा १० हजार रुपैयाँ लाग्छ भने निजी संस्थाले एक लाखभन्दा बढी शुल्क लिने गर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १० लाख जनसंख्यामा एउटा रेडियोथेरापी मेसिन आवश्यक पर्ने जनाएको छ। यसलाई आधार मान्दा नेपालमा ३० वटा मेसिन आवश्यक पर्ने डा. पौडेल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.