इमान गुमाउँदा नेतृत्वको खडेरी
नेतृत्व बेइमान हुँदा सिक्किम कुन अवस्थामा पुग्यो र पाकिस्तानको हालत के छ भन्ने हाम्रो नेतृत्वले बुझ्नुपर्छ।
कसैले लठ्ठीसँगै गोलाकार चस्मासहितको मानव आकार कोर्यो भने धेरैको उत्तर हुन्छ– महात्मा गान्धी। उनै गान्धीका अनेकन कालखण्डका तस्बिर समेटिएको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको छ। प्रदर्शनीमा पुग्दा विश्वमै राजनेताको खडेरी लागेको दृश्य जोकोहीको मानसपटलमा आउँछ। गान्धीको परिवार, उनले अध्ययन गर्दाको समयकाल र भारतका लागि गरेको समर्पण हेर्दा वर्तमान नेतृत्वप्रति टिठ लाग्छ। अनि स्मरण हुन्छ, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको आकृति।
गान्धी र बीपीलाई हाम्रो पुस्ताले प्रत्यक्ष देख्न पाएन। सुराही, छाता र पुरानो बाकस जोडेको आकृति बन्यो भने भट्टराईको सादगीपनको स्मरण हुन्छ। मुलुकप्रति त्याग गरेको नेतृत्व मात्र आम जनताको मनमनमा बस्न सक्छ भन्ने उदाहरण बनेका थिए भट्टराई। व्यक्तिगत जीवन, परिवार, नातावाद र कृपावादभन्दा माथि मुलुकलाई राख्ने नेता मात्रै कालान्तरमा सबैको मनमनमा अटाउँछन्। उनीहरू जनसरोकारका विषयलाई मात्र महŒव दिन्थे। त्यसैले त तत्कालीन नेताहरूप्रति सम्मान थियो। तर अहिले त्यसको ठीक उल्टो। आफू जनताको प्रतिनिधि हुँ भन्ने नै बिर्सेका छन् उनीहरूले। आसेपासेले समेत भुल्ने अवस्थामा पुगेका छन्।
हो, यतिबेला विश्वलाई यस्ता सादगी राजनेताको खाँचो छ। विश्वकै नेतृत्व गरिरहेको मुलुकमा समेत अब्बल नेताको अभाव महसुस भइरहेको छ। विश्व नेतृत्व गर्ने अभिलाषासहित अघि बढेको मुलुकको नेतृत्व पनि समाज रूपान्तरणभन्दा विश्व व्यापारमा बढी अल्मलिएको छ। मुलुकको भविष्यलाई कुन दिशामा लैजाने भन्ने विषय सम्बन्धित मुलुकको राजनेतामा निर्भर हुन्छ। आफूपछि अरू आउनै नसक्ने देख्नु नेतृत्वको कमजोर मानसिकता र तानशाहको रूपान्तरित रूप हो। नेताले नै नीति बनाउने भएकाले उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले त आम नागरिक सधैं आफ्ना वास्तविक नेता र नेतृत्वको खोजीमा भौंतारिइरहन्छन्। अहिलेको विश्व यथार्थ पनि यही हो। दलीय नेता र नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेकैले यस्तो अवस्था आएको हो।
नेपाल पनि यसबाट अछूतो छैन। दस वर्षदेखि चलेको सशस्त्र द्वन्द्वको अन्त्य गर्नेबाहेक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका खासै रहेन÷देखिएन। पछिल्ला दुई दशकको प्रजातान्त्रिक यात्रामा किसुनजीले देश निर्माणको अवसर नै पाएनन्। गिरिजाले धेरै समय सत्तामा बसे पनि देखिनलायक काम गर्न सकेनन्। शक्तिमा रहँदा जनतासँग नजिक हुन चाहेनन्। त्यसैले त बीपी, मदन, गणेशमान र किसुनजीको नाम मात्र स्मरण गर्छन् सबैले ? किन राजा महेन्द्रलाई झलझली सम्झन्छन् ? वर्तमान पुस्ताको अव्यावहारिकता र जनताप्रति गरेको वाचा पूरा गर्न नसकेकै परिणाम हो यो। वर्तमान राम्रो भए मात्र भविष्यले त्यसलाई किताबमा उतार्ने हो। वर्तमान लथालिंग भएपछि विगतको स्मरण स्वाभाविक हो। फ्रान्सका राष्ट्रपति गाउँमा गएर जनताका गुनासा सुनिरहेका छन् यतिबेला। उनी युवा पुस्ताका नेता हुन्। जनताको निकट देखिन उनी गाउँगाउँ पुगेका हुन्।
सत्ताको बलमा कानुन मिच्ने, आफ्ना परिवार र आफन्तमार्फत अकूत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारकै रोग बनेकाले अहिलेको पुस्ताले गतिलो र अब्बल नेतृत्व नपाएकोमा दुईमत छैन।
नेतृत्वले किन दीर्घकालसम्म जनताका मनमनमा बस्ने काम गरेर देखाउन सकेको छैन ? यस विषयमा नेतृत्वले घोत्लिनुपर्छ। हुन त हरेकमा फरकफरक गुण हुन्छ। जुन प्रकारको समाज छ, त्यस्तै नेतृत्व जन्मिने हो। महापुरुष त युगले एक÷दुई मात्र जन्माउँछ। नेतृत्व समाजकै परिकल्पना हो। तर त्यही समाज अहिले भनिरहेको छ, ‘शक्तिशाली र चामत्कारिक नेतृत्व आओस्, जसले अहिलेको बेथिति अन्त्य गरोस्।’ त्यसो त नेतृत्वको क्षमता आफैंमा आउने एक गुण पनि हो। नेतृत्वमा परिश्रम, अध्ययन र मेहनत पनि आवश्यक हुन्छ। यसको अर्को पाटो पद्धतिअनुरूप वैधानिक विधिमा स्वीकार्य हुने। सबैलाई मिलाउन सके मात्र नेतृत्वले सफलता पाउँछ। यहाँ पछिल्लो समय वैधानिक विधिका नेतृत्व मात्र देखिएको छ, जुन यस कालखण्डकै लागि दुर्भाग्य हो।
नेतृत्व निर्णायक, समय बुझ्ने, बलवान्, बुद्धिमान, जवाफदेही र पारदर्शी हुनुपर्छ। अधिकांश नेतृत्व त्यसबाट विमुख छ। राजनीतिक संक्रमणसँगै समाज परिवर्तनको सँघारमा अब्बल नेतृत्वको उदय हुने हो। विडम्बना ! पछिल्लो समय विश्वमा राजनीतिक नेतृत्व जाली, आडम्बरी र आफूकेन्द्रित बन्दै गएको छ। यो नेपाल मात्र होइन, विश्वले भोगिरहेको समस्या हो। अधिकांश राजनीतिक दलका नेतृत्वले सत्ता र शक्तिको दम्भले अरूलाई पुड्को देख्ने गरेको छ। राजनीतिले देखाएको बाटोबाट अहिलेको नेतृत्व विमुख छ। जनताबाट नजिक होइन टाढा भइरहेको छ। उनीहरूमा अरूको विचार सुन्ने र अध्ययन गर्ने फुर्सद छैन। यस्तो अवस्था अनुत्तरदायी र बेइमानीको उच्चतम् पराकाष्ठा हो। नेतृत्व बेइमान हुँदा सिक्किम कुन अवस्थामा पुग्यो, पाकिस्तानको हालत के छ ? हाम्रो नेतृत्वले बुझ्न जरुरी छ।
नेतृत्व बेइमान हुँदा बीसौं शताब्दीको आरम्भमा फर्कन आवश्यक हुन्छ। त्यतिबेला सयौं वर्ष पुराना बादशाह र सम्राट् सकिए। अस्ट्रियाका हाप्सवर्ग, टर्कीका ओटोमन वंश, रूसका रोमानोब, जर्मनीका कैसरवंशीय सम्राट्को अधोगति त्यहींबाट भयो। पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्रको दम्भले पुख्र्यौली शासन नै समाप्त भयो। नेता बेइमान हुँदा तानाशाह जन्मन्छ भने नेतृत्वमा दम्भ पलाउँदा ढल्छ। तानशाह परिवर्तन गर्न जनता नै जुर्मुराउँछन्। अनि ढल्छन् पनि। कुनै पनि राष्ट्रको परिवर्तन जनताले लडेर ल्याएका हुन्छन्। तर बेइमान नेतृत्वमा आफ्नै कारणले परिवर्तन भएको भ्रम हुन्छ। अनि उसमा आडम्बर जन्मिन्छ र आफूलाई मालिक सम्झन्छ। उनीहरूले नागरिकको सर्वोच्चता चटक्कै भुलेका हुन्छन्। यही अवसरवादीपनले लोकतन्त्रलाई नै धराशायी बनाउँछ। नेतृत्वले इतिहासको अनुशरण गर्दै वर्तमानमा सिक्दै अघि बढ्ने हो। विश्वका सफल नेता र नेतृत्वबाट सिक्न सक्नुपर्छ। राजनीतिमा लागेकाहरू नै लगानीकर्ता बन्न थालेपछि समस्या आउनु स्वाभाविक हो। लगानी गरेर नेता बन्ने सोचकै परिणति हो अहिलेको समस्या।
नेतृत्व पारदर्शी हुुनैपर्छ। अन्य मुलुकमा नेता बनाइन्छ। यहाँ केही अपवाद छोडेर अधिकांश नेता बन्न दौडिरहेका हुन्छन्। राजनीति ठूलो त्याग हो। आफ्नो भन्दा अन्यको हितमा लाग्ने सुविचारले राजनीतिमा होमिएको विषय समाजलाई बुझाउन नसक्दा समस्या उत्पन्न भएको हो। हुन त अहिले विश्वका नेतालाई हेरौं। अमेरिकाका डोनाल्ड ट्रम्प छन्, उत्तर कोरियामा किम जोन उन। चीनमा सी जिनपिङ, रसियामा भ्लादिमिर पुटिन। भारतमा नरेन्द्र मोदी र बेलायतमा थेरेसा मे। फ्रान्स र क्यानडामा युवा नेतृत्व। यस्तो नेतृत्व विगतमा भएको भए संसारले कुन रूप लिन्थ्यो, अनि आफैंमा उत्तर आउँछ, सायद यतिबेला हामी सकसमा हुन्थ्यौं। यही नेताको प्रसंगलाई राखेर नेतृत्वसम्बन्धी परामर्शदाता रहेका माइक म्याटले फोब्र्स म्यागेजिनमा लेखेका छन्, ‘कुशल संवाद शैलीबिना महान् नेता बन्न असम्भव छ। त्यसका लागि अध्ययन जरुरी हुन्छ। पुराना विश्व विख्यात नेतालाई नियाल्दा पनि यो स्पष्ट हुन्छ।’
पछिल्लो समय विश्वका अधिकांश नेताहरूलाई जनताले विश्वास गर्दैनन्। यसको कारण हो, ‘उनीहरू आफ्ना वाचा पूरा गर्न चुक्छन्। हाम्रो हकमा त्यो बढी नै लागू भएको छ।’ बोल्ने एकथोक र गर्ने अर्कै भएपछि नेतृत्वको बारेमा सोच्नुपर्ने बेला आएको हो। त्यसैले त अहिलेको नेतृत्वको स्मरण कसैमा आउँदैन। असल नेतृत्वले बोल्नुअघि धेरै सोच्छ र आफ्नो व्यक्तित्व र विश्वासलाई तोड्न दिँदैन। उनीहरूको अडान दृढ हुन्छ। तर अहिलेको नेतृत्वमा त्यसको आभाषसमेत पाइँदैन। वाचा पूरा गर्ने नेतृत्व नै अब्बल नेतृत्वमा दरिन्छ। अहिले त ठीक उल्टो। राज्यशक्तिको दुरुपयोगमा विश्वका नेता अग्रसर देखिन्छ। भ्रष्टाचारमा तानिएको अवस्थाले त्यही इंगित गर्छ। चर्चित बनेका राजनीतिक नेतासमेत द्रव्यमोहका कारण भ्रष्टाचारको मुद्दामा तानिएका कैयन् उदाहरण छन्। शक्तिको दुरूपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सम्पत्तिको हिनामिनामा दक्षिण कोरिया, दक्षिण अफ्रिका, जिम्बाबे, ब्राजिलका, मलेसिया, पाकिस्तान, बंगलादेश, इजरायललगायतका दर्जनौं मुलुकका कार्यकारी प्रमुख मुछिएका छन्। विश्व बैंकको पछिल्लो एक तथ्यांकअनुसार हरेक वर्ष १ खर्ब २५ अर्ब डलर राजनीतिक नेतृत्वको भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार संस्कृतिका रूपमा फैलिँदै गएको र त्यो भयावह रहेको भन्दै नेतृत्वप्रति आमविश्वास गुमेको जनाएको छ। सत्ताको बलमा कानुन मिच्ने, आफ्ना परिवार र आफन्तमार्फत अकूत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारकै रोग बनेकाले अहिलेको पुस्ताले गतिलो र अब्बल नेतृत्व नपाएकोमा दुईमत छैन। ९२ वर्षीय महाथिर मोहम्मद सत्ता सम्हाल्न मलेसियामा फर्कन बाध्य हुनुको कारणले यसको पुष्टि हुन्छ। मानिस र समाज एकसाथ अतीत र भविष्यमा बाँचेकाले नेतृत्वले केही राम्रा उदाहरण पनि सिक्न जरुरी छ। विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्र तथा सरकार प्रमुखको जीवनशैली साँच्चिकै सादगी देखिन्छ। आडम्बरका लागि नभई वास्तविकरूपमा नै कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा पढाउँछन्। शक्तिबाट फर्केपछि पनि पुरानो पेसामा फर्कने गरेको पाइन्छ। तर हामीकहाँ पदीय मर्यादामा बसेको व्यक्ति पुरानो काममा फर्कंदा आफूलाई सानो भएको महसुस गर्छ। त्यसैले त नेतृत्वको खडेरी परेको हो। यस्तै वास्तविकता र नेतृत्वको खडेरी अहिले विश्वकै समस्या बनेको छ।