रियल म्याड्रिडको सजिलो जित, बेन्जेमाको २ गोल, कासेमिरोलाई रातो कार्ड
म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई उसैको मैदानमा ४-१ गोलले हराएको छ । जितका बावजुद रियल म्याड्रिड तालिकाको पहिलो स्थानमा आसिन बार्सिलोनाभन्दा १२ र दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडभन्दा पाँच अंकले पछाडि छ ।
खेलमा सुरुमै गोल खाएको रियल म्याड्रिडले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको २९औं मिनेटमा भालाडोलिडका लागि एनुअरले पहिलो गोल गरेका थिए । ३४औं मिनेटमा राफेल भारानेले जवाफी गोल गर्दै रियल म्याड्रिडलाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको दोस्रो हाफमा रियल म्याड्रिडले तीन गोल थपेको थियो । रियल म्याड्रिडका अनुभवी खेलाडी करिम बेन्जेमाले दोस्रो हाफको खेल सुरु भएको केही समयभित्र केवल नौ मिनेटको बीचमा लगातार दुई गोल गरे । ५१औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका बेन्जेमाले ५९औं मिनेटमा टोलीको अग्रता ३-१ पु¥याएका थिए ।
यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि लुका मोड्रिचले रियल म्याड्रिडका लागि चौथो गोल थपेका थिए । त्यसअघि ८०औं मिनेटमा रियल म्याड्रिडका कासेमिरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । उनले ६९औं मिनेटमा पहिलो कार्ड पाएका थिए ।
ला लिगामा २७औं चरणको खेलको समाप्तिपछि ६३ अंकसहित बार्सिलोना पहिलो, ५६ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो र ५१ अंकसहित रियल म्याड्रिड तेस्रो स्थानमा छन् । ला लिगाको अन्य खेलमा भिल्लारियलले लेभान्तेलाई उसैको मैदानमा २-० गोलले हरायो भने सेभिलले घरेलु मैदानमा रियल सोसिएडाडमाथि ५-२ गोलको जित हात पा¥यो । भ्यालेन्सिलाले पनि जिरोनालाई उसैको मैदानमा ३-२ गोलले हरायो ।