‘जानी नजानी’बाट निरिशाको फिल्मी यात्रा
काठमाडौं : निरिशा बस्नेत हिन्दी धारावाहिक चन्द्रनन्दिकाबाट चर्चामा आएकी थिइन्। मुम्बई सहर, त्यहाँ बन्ने हाई बजेटका सिरियल, ठूलाठूला सेटको माहोलबाट उनी नेपालको फिल्मी बजारमा आफूलाई नायिकाका रूपमा स्थापित गर्न आएकी छन्। निरिशा पुराना कलाकार विश्व बस्नेतकी छोरी हुन्।
उनको पहिलो डेब्यु फिल्म ‘जानी नजानी’ चैत २९ गते देशभर प्रदर्शनमा आउँदै छ। निरिशा भन्छिन्, ‘म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा अभिनेत्रीका रूपमा चिनिन चाहन्छु।’ पातलो ज्यान, लामो कपाल अनि निक्खर अनुहार भएकी निरिशा लामो समय भारतमै बसिन्। त्यहीँ बन्ने भारतीय सिरियलमा काम गरिन्। उक्त टीभी सिरियलको नाम थियो, चन्द्रनन्दिका।
सिरियल सकिएपछि उनी नेपाल फर्किन्। जानी नजानीमा नायिकाको रूपमा डेब्यु गरिन्। भारत र नेपालको रंगमञ्चमा काम गर्ने तरिकामा उनले आकाश जमिनको फरक देखिन्। बलिउडको तुलनामा नेपालमा कम बजेटमा फिल्म बन्छ। प्राविधिक स्तरमा जनशक्तिको कम प्रयोग हुन्छ। यसका बीच कलाकार र टेक्निसियनले राम्रो फिल्म बनाउन कडा मेहनत गरेको देखेर अचम्ममा परिन् निरिशा। भन्छिन्, ‘ यहाँका चलचित्र कम बजेटमा पनि उत्कृष्ट बनाउन अधिकतम प्रयास गरिरहेका छन्।’
निरिशाले रजतपटलाई सानैदेखि नियाल्दै आएकी छन्। कयौंपटक फिल्मको सुटिङ सेटमा पुगेर कलाकारको काम हेरेकी छन्। जानी नजानी उनको पहिलो फिल्म भए पनि आफूलाई राम्रो कलाकारका रूपमा दर्शाउन चुनौती नभएको उनी बताउँछिन्।
नेपाली चलचित्र क्षेत्र कुनै निश्चित कलाकारको सफलता र असफलताले मापन हुने हुँदा नयाँ कलाकारलाई स्थापित हुन चुनौती भएको ठान्छिन्। ‘नयाँ कलाकारमा पनि प्रतिभा छ’, उनी भन्छिन्, ‘तर त्यसलाई प्रस्फुटन गर्ने मौका उनले कमै पाउँछन्।’ सफल कलाकार विश्व बस्नेतकी छोरी असफल पो हुने हुन् कि भन्ने हल्लाले उनलाई कुनै असर पारेको छैन रे। निरिशा आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताउँछिन्। ‘फिल्मी दुनियासँग सानैदेखि नजिक हुन पाउनु मेरा लागि बोनसजस्तै भएको छ’, उनी भन्छिन्।
निरिशाले पहिलोपटक चन्द्रनन्दनीबाट नै क्यामेरा फेस गरेकी थिइन्। औपचारिक तयारीबिना नै उनले आफ्नो भूमिकालाई न्याय गरेको देख्दा सिरियलका निर्देशक चकित भएका थिए रे। सानैदेखि उनको एउटै लक्ष्य भन्नु नै फिल्मको नायिका बन्नु थियो। बीचमा उनी एअर होस्टेज बन्ने भन्दै मुम्बई हानिएकी थिइन्। त्यहीँ बस्दा उनले चन्द्रनन्दनीका लागि अडिसन दिइन्। त्यो उनको जीवनको पहिलो अडिसन थियो। भन्छिन्, ‘यो अडिसन दिएको डेढ महिनामै मैले उक्त सिरियलमा काम गर्ने मौका पाएँ।’
बलिउडमा संसारभरबाट कलाकार आफ्नो कला देखाउन आउँछन्। नेपालबाट पनि कलाकारितामा भविष्य खोज्न निरुता सिंह, गौरी मल्ल, करिश्मा मानन्धर, उषा पौडेलजस्ता नायिका गए तर मनीषा कोइरालाबाहेक अन्यले आफूलाई साबित गर्ने अवसर पाएनन्। के निरिशाले आफूलाई बलिउडमा पनि साबित गर्न सक्लिन ?
निरिशा भारतीय सिरियल हुँदै अन्तर्राष्ट्रिय फिल्म जगत्मा पनि आफूलाई उभ्याउन चाहन्छिन्। नेपाली फिल्म खेल्ने सुरुदेखि नै धोको भए पनि विभिन्न कारणवश मौका पाएकी थिइनन्। भन्छिन्, ‘कहिले कथावस्तु ठीक लागेन, कहिले टिम त कहिले सित्तैमा काम गराउन खोज्ने प्रवृत्ति ठीक लागेन।’
चन्द्रनन्दनीबाट नै निरिशा भारतीय मिडियामा नोटिस भएकी थिइन्। उनको अर्को धारावाहिक छिट्टै दर्शकमाझ आउन लागेको छ। ‘केही दिनमै मेरो नयाँ हिन्दी सिरियलको फस्ट लुक सार्वजनिक हुँदै छ’, उनले भनिन्, ‘यो सिरियलमा म मुख्य भूमिकामा छु।’ सुपर स्टार राजेश हमालकी फ्यान निरिशा नेपाली फिल्ममा निरन्तरता दिने सोच बनाएर नेपाल आएको बताउँछिन्। जानी नजानीमा उनी मीराको भूमिकामा छिन्। प्रेमकथाका साथै राष्ट्रियताको मुद्दा बोकेको फिल्मकी पात्र मीरा र आफ्नो स्वभावमा धेरै भिन्नता नभएको उनी बताउँछिन्।
वसन्त अधिकारीको डेब्यु निर्देशनमा तयार भएको यो फिल्मको निर्माण लागत दुई करोड रुपैयाँ बताइएको छ। फिल्ममा निरिशालगायत नायक मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ। फिल्ममा सञ्जय लामाको छायांकन र सामीप्यराज तिमल्सिनाको कथा छ।