हतियार राखेर त्रसाउने समय गयो : प्रहरी महानिरीक्षक
परासी : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार राखेर जनतालाई त्रसाउने समय गइसकेको बताएका छन्। नेत्रविक्रम चन्द्र विप्लव ले नेतृत्व गरेको नेकपालाई इंगित गर्दै खनालले भने, ‘कुनै ठाउँमा हतियार राखेर बसिराख्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ।’
पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित प्रहरी युक्ती महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन र सर्पदंश उपचार केन्द्रको सोमबार उद्घाटन गर्दै महानिरीक्षक खनालले भने- ‘जनतालाई तर्साउन र अपराधिक गतिविधि बढाउन कपिलवस्तु र पूर्वी क्षेत्रबाट लुकाएर राखेका हतियार प्रहरीले समातेको छ। अब हतियार लुकाएर जनता त्रसाउने सोंच कसैले नराख्नुस्।’
पछिल्लो समय अपराधका घटनामा कमी आएको उनको छ। ‘सुन काण्डमा एक सय बढीलाई समातेर जेलमा हालिएको छ। ठूला परिमाणमा लागूपदार्थ बरामद गरी कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइएको छ।'
उनले महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन उद्घाटन गरे। महाविद्यालय परिसरभित्र निर्माण गरिएको सर्पदशं उपचार केन्द्रको महानिरीक्षक खनाल र सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे।
कार्यालयसहितको व्यारेक भवन कुल दुई करोड २० लाखमा निर्माण गरिएको महाविद्यालयका प्रचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए। त्यसैगरी ३२ लाखको लागतमा सर्पदंश उपचार केन्द्र भवन निर्माण गरिएको हो। केन्द्र निर्माण गर्न सुनवल नगरपालिकाको २५ लाख र ७ लाख जनश्रमदान रहेको उपाध्यायले जानकारी दिए।