रियल म्याड्रिडमा फर्किए प्रशिक्षक जिनेदिन जिदान
म्याड्रिड : प्रशिक्षक जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियल म्याड्रिडमा फर्किएका छन् । फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी ४६ वर्षीय जिदानले रियल म्याड्रिडबाट पनि पाँच वर्ष ब्यवसायिक फुटबल खेलेका थिए । रियलको सफल प्रशिक्षकका रूपमा परिचय बनाएका जिदानले १० महिनापछि पुनः रियल म्याड्रिडमा फर्किएका हुन् ।
आफ्नो माग पुरा नभएपछि गत मेमा क्लब छाडेको जिदानले यसपटक सन् २०२२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता गरेको बताइएको छ । जारी सिजनमा गतिलो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडलाई पुनः लयमा फर्काउनु यतिबेला प्रशिक्षक जिदानका लागि सबैभन्दा ठुलो चुनौति हो ।
एकपछि अर्को खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिड अहिले स्पेनिस ला लिगा तालिकाको तेस्रो स्थानमा छ । रियल म्याड्रिड लिग लिडर बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ । रियल म्याड्रिड यो सिजन युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगबाट पनि बाहिरिइसकेको छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको सबैभन्दा बढी उपाधि जित्ने टोली हो ।
जिदानलाई पुनः प्रशिक्षकका रुपमा नियुक्त गरेपछि रियल म्याड्रिडले आफु पुनः पुरानै लयमा फर्किने विश्वास लिएको छ । ‘विश्वकै उत्कृष्ट प्रशिक्षकलाई पुनः क्लबको जिम्मेबारी सुम्पन पाउँदा निकै खुसी लागेको छ’, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भनेका छन्, ‘हामीलाई विश्वास छ, जिदानले अब क्लबलाई नयाँ उचाइमा पु¥याउने छन् ।’
जिदानले रियल म्याड्रिडमा सान्टियागो सोलारीको स्थान लिन लागेका हुन् । सोलारीको नेतृत्वमा रियल म्याड्रिडले गत आइतबार रियल भालाडोलिडसँग अन्तिम खेल खेलेको थियो । उक्त खेलमा रियल म्याड्रिड ४—१ गोलले विजयी भएको थियो । जिदानले खेलाडीका रुपमा रियल म्याड्रिडलाई दुई÷दुईपटक स्पेनिस ला लिगा र स्पेनिस सुपर कपको उपाधि जिताएका थिए ।
खेलाडीकै रुपमा उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग, यूईएफए सुपर कप र इन्टरकन्टिनेन्टल कपको उपाधि पनि चुमाएका थिए । यसैगरी उनले रियल म्याड्रिडलाई प्रशिक्षकको रुपमा पनि तीन÷तीन पटक स्पेनिस ला लिगा, स्पेनिस सुुपर कप र च्याम्पियन्स लिगको उपाधि जिताएका छन् । प्रशिक्षककै रुपमा उनले रियल म्याड्रिडलाई दुई÷दुईपटक यूईएफए सुपर कप र क्लब विश्वकपको उपाधि पनि दिलाएका छन् ।