जब रुद्रायणी मन्दिरमा गिद्ध बस्यो...
ललितपुर : करिब सय वर्षपहिले खोकनाको (वि.स १५७० तिर बनेको) रुद्रायणी मन्दिरमा गिद्ध आएर बस्यो। गिद्ध बस्नुको अर्थ अशुभ मानिन्छ। मन्दिरमा गिद्ध आएपछि ज्योतिषीलाई हेराउन जाँदा समस्त खोकनामै अशुभ हुने भनियो। त्यसपछि (पञ्चबलि) राँगा, थुमा भेडा, बोका, हाँस र माछा बलि दिने परम्परा थालनी भयो। रुद्रायणी मन्दिरमा चढाएको पञ्चबलिको प्रसाद खोकनाभरि बाँड्न थालिएको किंवदन्ती रहेको खोकनाका रामहरि महर्जनले सुनाए।
खोकनाकै रुद्रायणी माविमा अध्यापन गराउँदै आएका महर्जनका अनुसार मन्दिरमा गिद्ध आएपछि मात्रै पञ्चबलि दिन थालिएको हो। तर, भोज खाजे चलन भने धेरै पछि मात्र सुरु भएको उनले बताए। प्रत्येक वर्ष घोडेजात्राभन्दा अघि फागुनमा रुद्रायणी मन्दिरमा पूजा गर्ने र भोज खाने चलन छ। खोकनाका सात सय घरपरिवारले एकै ठाउँमा भोज खाने गरेको उनले जानकारी दिए।
खोकनाकै ६५ वर्षीय शिवलाल महर्जनका अनुसार प्रत्येक घरबाट चार पाथी धान उठाइन्छ। इच्छा लाग्नेले भोजका लागि चाहिने तेल, मसला, तरकारी र पैसालगायत दिने गर्छन्। प्रत्येक घरको एक जना भोजमा सहभागी हुनुपर्छ। खोकनावासी भोजमा लसुन प्रयोग गर्दैनन्। मन्दिरका पुजारी कपाल काट्दैनन्। उनीहरू लसुन र कुखुराको मासु खाँदैनन्। सबैभन्दा पाका उमेरकालाई उनीहरू ‘थकाली’ भन्छन्। तिनै थकाली पूजामा सक्रिय हुन्छन्। खोकनामा जम्मा ४६ जना देवताका परिवार मिलेर एउटा गुठी बनेको छ। यही ४६ परिवारले भोजको सम्पूर्ण तयारी गर्नुपर्ने हुन्छ। पदअनुसार आफ्नो स्थान तय हुन्छ। भोज खाँदा पनि पदअनुसार मिलेर बस्नुपर्ने हुन्छ। महर्जनले भने, ‘सबैभन्दा धेरै उमेर भएकालाई अगाडि राखिन्छ, त्यसपछि क्रमशः मिलेर बस्नुपर्ने हुन्छ।’
रुद्रायणी मन्दिरका पुजारी आधा घण्टा हिँडेर बागमती नदीबाट जल ल्याई पूजा गर्छन्। तर, हिजोआज बागमतीको पानी दुर्गन्धित र फोहोर भएकाले खोलाछेवैको कुवाबाट पानी ल्याएर पूजा गर्ने गरिन्छ। सनई, दमाहालगायत बाजासँगै रुद्रायणीलाई पञ्चबलि दिने परम्परा रहेको स्थानीय बताउँछन्।