मृतकको नाममा सामाजिक सुरक्षा भत्ता खाने सचिव र सह-लेखापालविरुद्ध मुद्दा
काठमाडौं : मृतकका नामको सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको आरोपमा दैलेख जिल्ला साविक द्वारी गाउँ विकास समितिको कार्यालयका सचिव र सहलेखापालविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव टिकाराम रेग्मी र लेखापाल छविराम शर्माविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सचिव रेग्मीविरुद्ध एक लाख ८४ हजार र लेखापाल शर्माविरुद्ध चार लाख ९७ हजार विगो मागदाबी गरिएको छ। तत्कालीन गाविस सचिव रेग्मीले २०६९/०७० को दोश्रो र तेश्रो किस्ता तथा २०७०/७१ को प्रथम, दोश्रो, तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरी एक लाख ८४ हजार हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
लेखापाल शर्माले २०७१/७२ को प्रथम र तेश्रो चौमासिक तथा २०७२/०७३ को प्रथम, दोश्रो र तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणबापतको तीन लाख ४४ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा आफ्नै औँठाछाप लगाई बदनियतसाथ रकम निकाली हिनामिना गरेको देखिएको छ। यस्तै कृषि, वन तथा वातावरण शीर्षक बापतको रकम एक लाख ५२ हजार ५७० कामै नगरी बदनियतसाथ हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको देखिएको आरोप पत्रमा जनाइएको छ।
सचिव रेग्मी र लेखापाल शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग गरिएको छ।