छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद
ओखलढुंगा : छोेरीलाई बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ। ओखलढुंगाको सुनकोसी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा सजाय सुनाएको हो।
ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालका अनुसार हाडनाता करणी तर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिनागरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो।
मुलुकी अपराध संहिता कार्यन्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले जानकारी दिए। प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन।
पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए। उनी विरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जवरजस्ती करणी तथा हाडनाता करणाी मुद्दा दर्ता भएको थियो। यसअघि पनि पीडक उक्त मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए।