'७ दिन ७ विशेषता' का साथ हाम्रो पात्रोको ' मेगा अपडेट' : यस्ता छन् सुविधा
काठमाडौं : हाम्रो पात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ। गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रो पात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक सहज बनाउने कम्पनीले जनाएको छ।
'१० वर्षअघि आफ्नो व्यक्तिगत सोख तथा आवश्यकताका लागि नेपाली क्यालेण्डरका तिथिमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरीकास्थित केही साथीहरुका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासलाई यहाँहरुले क्रमशः मलजल गर्दै जानुभो र निरन्तर हामीले यसमा गोडमेल गरी रह्यौं, हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतीले भने, 'यो अवधिमा म तथा मेरो टिमले हरेक दिन, हरेक क्षण नेपाली प्रयोगकर्ताको दैनिकिको मूलभूत आवश्यकता के हो भन्ने विचारमा निरन्तर खोजी गरिरह्यौं र समयानुसार फरक सुविधा, नविन प्रविधियुक्त अपडेट गर्दै गयौं।यसक्रममा 'हाम्रोपात्रो' एउटा पात्रोमा मात्र सिमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ।हाम्रो पात्रो नेपाली एप्सहरुको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ।हाम्रो यो स्मार्ट नेपाली परिवार लाखौं सदस्यसहितको एउटा विशाल पारिवारिक संरचना बनिसकेको छ।'
'हामीलाई हाम्रो विचारमा, हाम्रा हरेक अपडेटमा अनेक खुशी साट्ने, अनेक जिज्ञासा राख्ने, थुप्रै विचारोत्तेजक प्रश्न, प्रतिक्रिया राख्ने प्रयोगकर्ताप्रति आभारी छुँ।म विश्वस्त छु, हामीले यो पल्ट पस्किएको २१ औं शताब्दिको अनेकौं विशेषता सहितको नयाँ हाम्रो पात्रो हाम्रो प्रयोगकर्तालाई मनपर्नेछ', उप्रेतीले भने।
यस्ता छन् विशेषता
स्थानीय भाषाका साथमा
हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ। नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ।अबलाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सकिने।
नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमै तिथिमितिबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ।नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन्। आउँदा दिनहरुमा नेपालभाषा लिपी समेतको हाम्रो पात्रो सार्वजनिक हुने भएको छ।
दिन तथा रात थिमका साथ
प्रयोग सहजतामा प्रभावकारी लाइट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो।अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन्।
हाम्रो भिडियो
विविध भिडियो वर्ग 'क्याटोगरी' अनुसार भिडियो हेर्ने सुविधासहित भिडियोको नयाँ डिजाइजन राखिएको यो सुविधा तपाईँलाई मनपर्न सक्छ। यूट्यूबमा विभिन्न श्रोतका आधिकारिक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतिको विषय हो।आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ। त्यसका लागि 'Spam-free' समाचार, गीत संगीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियो समावेश हाम्रो भिडियोको विशेषता हो।
नोटरटिपोट
हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट। आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोटरटिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ। यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग(इन गरेको हुनुपर्छ र यो लग(इन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग(इन अप्सन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग इन गर्न सकिनेछ।
नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ।अब तपाईँका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र 'नेपाली टाइम'को आक्षेप कुनै कार्यक्रममा या उपस्थितिमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ।
मोबाईल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रोपात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट र टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउनेछैन। तपाईँको विभिन्न इभेन्ट प्लान र गतिविधि व्यवस्थापन गर्नका लागि G-mail, Twitter अथवा Facebook बाट हाम्रोपात्रो लग(इन गरिसकेपछि राख्नु भएका नोट र टिपोट तपाईँले प्रयोग गर्ने जुनसुकै Android फोनमा पहिले लग(इन गरीएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरु यथास्थानमैं देखिनेछन्।
समाचार सर्च तथा ट्रेण्डिङ समाचार
यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिंग विषयको सुविधा।आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिंग विषयमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ।सर्च गर्ने प्रभावकारी तरिकादेखि सर्च हिस्ट्रि सम्पादनसम्मको सुविधाको एप्लिकेशनले दिएको छ।
न्यूज पर्सनलाइजेसन
व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेसन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचार पस्किँदै छ। अब हाम्रो पात्रोमा आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सकिनेछ।
दैनिक नोटिफिकेसन हिस्ट्री
हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेसनहरु हिस्ट्रीमा पछि समेत हेर्न मिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ।दिनहुँका नोटिफिकेसन हिस्ट्रीमा बस्ने नयाँ समाचारका साथै पुराना समाचारको नोटिफिकेसन पनि क्रमैअनुसार मोबाइलमा रहिरहनेछ।हाम्रो पात्रोको यस मेगा अपडेट अन्तर्गतको '७ दिन ७ विशेषता' ले प्रयोगकर्ताको सहयोगी साथी बन्न सक्ने कम्पनीले जनाएको छ।