औद्योगिक व्यापार मेलामा पाँच करोडको कारोबार
हेटौंडा : हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाँच करोड रुपैयाँको कारोबार भएको छ। ११ दिनसम्म हेटौंडा ५ स्थित क्याम्पडाँडा चौरमा सम्पन्न मेलाको करिब एक लाख दर्शकले अवलोकन गरेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ।
फागुन १८ गतेदेखि सुरु भएको मेला बुधबार सकिएको हो। मेलामा मकवानपुरका चेपाङहरुले खाने गिट्ठा, भ्याकुर लगायतका स्थानीय परिकार तथा स्थानीय उत्पादन राखिएको थियो। पञ्चेबाजा, खैंजडी भजन, रोटेपिङ, हेलिकप्टरबाट सिटी टुर र बोटिङले दर्शकहरुको ध्यान तानेको थियो।
चार सयवटा स्टल राखिएको मेलामा ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिइएको संघका अध्यक्ष कृष्ण कट्टवालले बताए। राष्ट्रिय कलाकारले दैनिक प्रस्तुति दिएका थिए।