पाँचौं साफबाट बाहिरियो भुटान, बंगलादेशसँग २ गोलले पराजित

पाँचौं साफबाट बाहिरियो भुटान, बंगलादेशसँग २ गोलले पराजित

विराटनगर : बंगलादेशसँग पराजित भएसँगै भुटान विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

विराटनगरस्थित सहिद रंगशालामा बिहीबार भएको खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशसँग २–० गोल अन्तरले निराश बन्दै उही समूहको भुटान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। गर या मरको स्थितिमा रहेको भुटानको प्रदर्शन बंगलादेशको तुलनामा फिक्का रहयो। त्यही कमजोर प्रदर्शनसँगै भुटान समूह चरणबाटै बाहिरिन पुग्यो।

भुटान गत मंगलबार समूह ‘ए’ कै नेपालसँग पनि ३–० गोल अन्तरले पराजित भएको थियो।

बिहीबारको खेलमा बंगलादेशलाई पहिलो हाफमा गोररहित बराबरीमा रोकेको भुटान मध्यान्तरपछि भने सम्हालिन सकेन। खेलको सुरुवातबाटै भुटानलाई दबाबमा राखेको बंगलादेशका लागि दुबै गोल मध्यान्तरपछि मात्रै सम्भव भएको हो। नेपालसँगको खेलको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि मध्यान्तर अघिको रणनीतिलाई कायम राख्न नसक्नु भुटानका लागि दुर्भाग्यपूर्ण बन्यो। मध्यान्तरपछि भुटानका खेलाडी ‘फर्म’मा आउन नपाउँदै बंगलादेशले गोलको खाता खाल्यो।

खेलको ४७ औं मिनेटमा मोस्त मिश्रात अहान मौशुमीले हेडर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाउँदा भुटान गोलसहितको दबाब झेल्न बाध्य बन्यो। मोनिका चक्माको कर्नर प्रहारलाई सदुपयोग गर्दै मौशुमीले आफ्नो टिमलाई अग्रता दिलाएको यही गोल बंगलादेशका लागि ‘टर्निङ पोइन्ट’ बन्यो। बंगलादेश यतिमै रोकिएन। त्यसपछि उसका हरेक प्रयासलाई सफल हुनबाट रोकिरहेको भुटानले खेल सकिन ५ मिनेट बाँकी छँदा दोस्रो गोलको सामाना गर्नु पर्‍यो।

८५ औं मिनेटमा टिम कप्तान सविना खातुनले दोस्रो गोल गर्दै बंगलादेशको जित २–० गोल अन्तरले निश्चित गरिन्। एक्लै अघि बढेकी उनले पहिलो बार च्याप्दै वान भर्सेस वानको स्थितिमा बललाई पोष्टको दिशा दिंदा भुटानलाई सम्हालिन गाह्रो पर्‍यो। खेललाई नियन्त्रणमा लिएको बंगलादेशले अधिकांश समय पोस्ट एट्याकको रणनीति बनाएको थियो।

खेलको १२ औं मिनेटमै मोस्त सिरत अहान सोपानको प्रहार वान भर्सेस वानकोस्थितिमा आकासिंदा बंगलादेशले सुरुवाती अग्रता लिने अवसर गुमायो। २३ औं मिनेटमा मोस्सम्मत अखी खातुनको प्रहारमा भुटानी गोलरक्षक संगीता मगर बाधक बनिन्। ३४ मिनेटमामा सविना खातुनको सशक्त प्रहारलाई पनि गोलरक्षक मगरले उत्कृट ढंगबाट बचाउ गर्दा बंगलादेशको गोलको खाता खोल्न मध्यान्तर अघि सकेन।

६८ औं मिनेटमा मोस्त मिश्रात अहान मौशुमीको प्रहारले पोस्टको दिशा लिन सकेन। ८२ औं मिनेटमा मोस्त सिरत अहन सोपानको डिबक्स भित्रको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन। इन्जुरी समयमा तोहुरा खातुनको प्रहार दोस्रो बार हुँदै बाहिरिंदा बंगलादेशले भुटान विरुद्ध तेस्रो गोल गर्न सकेन।

५८ औं मिनेटमा भुटानले पहिलो पटक फ्रिकिकको अवसर पाएको थियो। २५ यार्ड टाढादेखिको सोनाम छोदेनको फ्रिकिक आकासिंदा भुटानले खेलमा फर्कने अवसरको सदुपयोग गर्न सकेन। ७४ औं मिनेटमा खेलकै पहिलो पटक कर्नर प्रहारको अवसर पाएको भुटानले त्यसलाई पनि सदुपयोग गर्न सकेन। सोनामकै कर्नर प्रहारमा डिबक्स भित्रबाट छिरिङ योङदेनले गरेको बाइसाइकल प्रहार पनि पोस्टमाथिमाथिबाट बाहिरिनु भुटानका लागि दुर्भाग्यपूर्ण बन्यो।

यस अघिकै खेलमा नेपालसँग पराजित भएको भुटानलाई सेमिफाइनल यात्राको सम्भावना जीवित राख्न बंगलादेशलाई हराउनै पर्ने बाध्यता थियो। त्यही योजनाका साथमा मैदान उत्रिएको उसको रणनीति पहिलो हाफसम्म सफल पनि भयो तर दोस्रो हाफमा भने दुई गोल खाँदै प्रतियोगिताबाट बाहिरिनु पर्‍यो। प्रतियोगिताकै कमजोर टिम भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन। पाँचौं संस्करणमा पनि जीत विहीन बनेकै कारण भुटानको यात्रा टुँगियो।

खेलपछि भुटानका प्रशिक्षक सङ जाइ लि ले नेपाल भन्दा राम्रो टिम भएकाले पनि बंगलादेशसँग जित निकाल्न नसकिएको प्रतिक्रिया दिए। नेपाल विरुद्धको खेलमा तीन खेलाडी घाइते अवस्थामा हुनु नै आफ्नो लागि दुर्भाग्यपूर्ण बनेको उनको भनाइ छ। उनले नेपालको रक्षापंक्ती र बंगलादेशको अग्रपंक्ती राम्रो भएको बताए। ‘नेपाललाई जित्न सकिएको भए बंगलादेशलाई पनि हराउने सम्भावना रहन्थ्यो,’ उनले भने, ‘तर दुबै टिमसँग हार बेहोर्नु पर्दा प्रतियोगिताबाटै विदा लिनु पर्‍यो।’

बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले पूरै समय मैदानमा भुटानलाई ‘डोमिनेट’ गर्न सकेका कारण जित सम्भव भएको बताए। उनले आफ्नो टिमको बल पोजिसन राम्रो हुनु पनि जितको मुख्य कारण भएको बताए। ‘आजको दिन हाम्रा लागि महत्वपूर्ण थियो,’ उनले भने, ‘जितसँगै हाम्रो सम्भावना बलियो बनेर गएको छ।’

शुक्रबार समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ। श्रीलंका विरुद्धको खेलमा जित निकाल्न नसके बुधबारको खेलमा भारतसँग ६–० गोल अन्तरले पराजित बनेको माल्दिभ्स पनि समूह चरणबाटै बाहिरिने छ।

नेपाल र बंगलादेश सेमिफाइनलमा

बंगलादेशले भुटानलाई पराजित गरेपछि एक खेल अघि नै आयोजक राष्ट्र नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन्। 

समूह ‘ए’ मा रहेका दुबै टिमले समूह विजेता र उपविजेतका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नु पर्ने छ। समूह बिजेता बन्नका लागि भए पनि नेपालका लागि बंगलादेशसँगको खेल महत्वपूर्ण हुने छ। दुबै टिम जितका लागि खेल्ने छन्।

समूह ‘ए’ को विजेता टिमले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नु पर्ने छ। बंगलादेशलाई हराउन सके नेपालका लागि फाइनलको सम्भावना बलियो बन्ने छ। नेपालको मुख्य ध्यय नै बंगलादेशलाई जसरी पनि हराउनु पर्छ भन्नेमा हुने नेपालका प्रशिक्षक हरि खड्काले बताए। उनले भने,‘समूह ‘बी’ पहिलो टोलीसँग सेमिफाइनलमा नखेल्नका लागि पनि हामीले बंगलादेशमाथि जित निकाल्नै पर्छ। बंगलादेशको खेल हेर्दा नेपालका लागि त्यो सम्भावना बलियो बनेर गएको छ।’ समूह ‘बी’ मा माल्दिभ्सलाई ६–० गोल अन्तरले हराउँदै भारतले समूह विजेताको दावेदारी पेश गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.