१० थान अवैध भरुवा बन्दुक बरामद
ताप्लेजुङ : प्रहरीले १० थान अवैध भरुवा बन्दुक संकलन गरेको छ। फक्ताङ्लुङ गाउँपालिकाको विभिन्न स्थानबाट बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख संञ्जयसिंह थापाले बताए।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी भरुवा बन्दुक सार्वजनिक गरेको छ। थापाका अनुसार बरामद भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर सङ्कलन गरिएका हुन्।
जिल्लामा अवैध हतियारका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत माघमा बसेको सर्वपक्षीय बैठकले गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको थियो। हतियार सङ्कलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।
स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बन्दुकसहितका अवैध घरेलु हतियार संकलन अभियानलाई तीब्रता दिएको प्रहरी प्रमुख थापाको भनाई छ। ‘स्थानीय तह सँगको समन्वयमा सम्बन्धित ठाउँमा रहेको प्रहरीचौकीमार्फत अवैध हातहतियारबारे हाल सूचना लिने कार्य पनि भइरहेको छ,’ थापाले भने, ‘सुरुमा बुझाउन आग्रह गर्ने र बेवास्ता गरी नबुझाएमा प्रहरीले नै हतियार नियन्त्रणमा लिने र धनीलाई कानुनी कारबाही गर्छौं।’
हतियार धनीले आफूसाग भएको हतियार आफैं बुझाएमा र कसैसँग हतियार रहेको छ भन्ने सुराक (सूचना) दिनेलाई पनि गोप्य रुपमै पुरस्कृत गरिने नीति प्रशासनले लिएको छ। यसअघि पनि विभिन्न समयमा प्रशासनले ९० थान अवैध हतियार (भरुवा बन्दुक) बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।