हेटौंडामा भेटियो बर्डफ्लू : कुखुरा निकासीमा रोक
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लू भेटिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ७ नागबस्ती स्थित एक फर्ममा रहेका कुखुरामा बर्डफ्लू देखिएको हो ।
कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फर्मको नमूना परीक्षण गर्दा कुखुरमा बर्डफ्लू भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले बर्डफ्लू भेटिको फर्मलाई केन्द्रविन्दु मानेर गाउँको चारैतिर कुखुरा निकासी तथा वितरणमा रोक लगाएको छ।
अन्यत्र गएर रोग नफैलियोस् भनेर कुखुरा, अण्डा र कुखुराको सुली पनि बाहिर नजाओस् भनेर रोक लगाइएको प्रशासनले निकालेको विज्ञप्तीमा उल्लेख छ।
कुखुरा फर्मको सीमा पूर्वमा वडा नम्बर ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना र उत्तरमा वनदेवी दुग्ध उत्पादन संस्था भवनको सीमानाको बाटो, दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रबाट कुखुरा जन्य सामग्री बाहिर लान रोक लगाइएको छ।