जापान र ललितपुरका सम्पदा मिल्दाजुल्दा
ललितपुर : जापानस्थित अमूर्त लोक सांस्कृतिक सम्पत्ति विभागका प्रमुख हिरोमिची कुबातोले ललितपुर महानगरले आयोजना गरेको काठमाडौं उपत्यका र काभ्रेका मेयरहरूको दोस्रो सम्मेलनमा जापान र नेपालको संस्कृति मिलेको बताएका छन्। कार्यक्रममा २४ वटा नगरपालिकाका मेयर सहभागी थिए। कार्यक्रममा संस्कृति सम्पदा पुनर्निर्माण, संरक्षण, प्रवद्र्धनको विषयमा छलफल भएको थियो। कुबोताले नेपालमा जस्तै जापानमा पनि सन् २०११ मा गएको भूकम्पले महत्वपूर्ण मूर्त र अमूर्त सम्पदामा क्षति पुर्याएको बताए।
उनका अनुसार जापानमा आठ हजारभन्दा धेरै अमूर्त सम्पदा छन्। उनले खोकनाबारे अध्ययन गरिरहेका छन्। ‘जापान र नेपालको संस्कृति मिलेको देखिन्छ,’ कुबोताले भने, ‘जसरी यहाँ मत्स्येन्द्रनाथको रथ तानिन्छ त्यसरी नै जापानमा पनि रथ तान्ने प्रथा छ। धार्मिक कथा अनुसारका पहिरन र मखुन्डो लगाएर परम्परागत नृत्य गर्ने प्रचलन जापानमा पनि छ।’ रोपाइँ जात्रा तथा गठेमंगल पर्व जापान र नेपालमा उस्तै तरिकाले मनाउने गरिएको दृष्टान्त पनि उनले सुनाए।
भने, ‘यस्ता अर्थपूर्ण संस्कृति जोगाएर राख्न आवश्यक छ।’ खोकनामा रहेको प्रत्येक जात्रा, पर्व गर्ने ठाउँ, देवी÷देवता निकाल्ने बाटोघाटोलगायत अमूर्त सम्पदालाई बचाउन स्थानीयको पनि पहल आवश्यक रहेको जनाए। यसले पर्यटन प्रवद्र्धन हुनेमा निश्चित रहेको र आफ्ना संस्कृति सम्पदा कति महत्वपूर्ण छन् भन्ने जानकारी हुन आवश्यक भएको सुझाव दिए। जापानको कोबे डिजाइन युनिभर्सिटीका प्रोफेसर युकिओ निसिमुराले यति धेरै मेयरले एउटै उद्देश्यका लागि छलफलमा सहभागी हुनुलाई ठूलो उपलब्धि मानेको बताए।
उनले भने, ‘मेयरहरूले यस्ता विषयलाई सरकारसमक्ष पुर्याउनेछ भन्ने बुझेको छु।’ ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा पुनर्निर्माणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक भएको बताए। भूकम्पले तहसनहस बनाएको मूर्त सम्पदा बिग्रेपछि अमूर्त पनि मासिँदै गएको उनको बुझाइ छ। यसलाई पुनःस्थापना गर्न धेरै बाँकी रहेको र यसमा यस ऐन बाधक बनेको छ। सम्पदा निर्माणमा गत वर्ष नेपाल सरकारको तर्फबाट ५÷६ वटा ठेक्काको काम सुरु भए पनि कुनै काम सम्पन्न नभएको बताए।
उनले भने, ‘भएका काम गुणस्तरीय छैनन्।’ बुङमतीको रातो मत्स्येन्द्रनाथको शिखर शैलीको मन्दिर जापान र श्रीलंका सरकारको सहयोगमा बन्दै गरेको भए पनि म्याद गुज्रिसकेको जानकारी दिए। महर्जनका अनुसार यो मन्दिर सात महिनापहिल्यै सम्पन्न भइसक्नुपर्नेमा ३३ प्रतिशत मात्रै काम भएको छ।
काम गुणस्तरीय नभएकाले युनेस्कोलेसमेत काममा रोक लगाएको छ। सार्वजनिक खरिद ऐन २०६३ अनुसार सडक बनाउने ठेकेदारले सम्पदा बनाउने काम पाएकाले यस्ता समस्या आएको आरोप उनको छ। संस्कृति, सम्पदाको निर्माण र संरक्षणका लागि यस्ता व्यवधान हटाउनुपर्ने उनले बताए। महर्जनले भने, ‘यसले ठेकेदार मोटाउँछ, सम्पत्ति बिग्रिन्छ र इज्जत जान्छ।’ ललितपुर महानगरपालिकाले यस आर्थिक वर्षमा मूर्त सम्पदा संरक्षणका लागि ९ करोड बजेट विनियोजन गरेको छ भने अमूर्त सम्पदाका लागि दुई करोड रुपैयाँ छुट्ट्याएको जानकारी दिएको छ।
मूर्त सम्पदा : पाटी, पौवा, मठ, मन्दिर, ढुंगेधारा, पोखरीलगायत पर्छन्।
अमूर्त सम्पदा : परम्परागत बाजागाजा, नृत्य, सांस्कृतिक, साहित्यिक विकासका कार्यक्रम, ऐतिहासिक सीप विकास, जात्रा, पर्वलगायत छन्।