साफ महिला च्याम्पियनसिप : आज बंगलादेशको सामना गर्दै नेपाल
विराटनगर : विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा शनिबार आयोजक राष्ट्र नेपालले समूह विजेता बन्नका लागि बंगलादेशको सामना गर्दैछ। बंगलादेश साविक उपविजेता हो। यसअघिका चार संस्करणमध्ये नेपाल तेस्रो संस्करणसम्म उपविजेता बनेको टोली हो। एउटै समूहमा रहेका दुवै टोलीले भुटानलाई हराएर सेमिफाइलनमा स्थान बनाइसकेका छन्।
घरेलु मैदान भएकाले पनि बंगलादेशमाथि जित नेपालले निकाल्न सक्ने अनुमान गरिएको छ। दुवै टोली समूह विजेता बन्ने होडमा छन्। भुटानमाथि जित निकालेर दुवैले समान तीन अंक बनाएका छन्।
नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाब नरहेको जनाएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेका कारण जित निकाल्न गाह्रो नहुने बताए। ‘हामी जितका लागि खेल्ने छौं। घरेलु मैदान र दर्शकको पूर्ण साथ नै जितको आधार हो।’ विगतमा भएको पाँच भेटमा नेपालले बंगलादेशमाथि चार खेलमा जित निकालेको छ। एक खेल बराबरी भएको थियो।
साफको पाँचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भिडन्त भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा तीनमा जित र दुईमा हार बेहोरेको छ। नेपालले भारतमा आयोजित वुमन्स हिरो गोल्डकपमा इरानलाई ३–० र भारतलाई २–१ गोलले पराजित गरिसकेको छ।
प्रशिक्षक खड्काले बंगलादेशका केही महत्वपूर्ण खेलाडीविरुद्ध रणनीति बुनिरहेको बताए। ‘बंगलादेशका राम्रा खेलाडीमाथि हामीले मार्क गरिरहेका छौं’ उनले भने, ‘शनिबार त्यहीअनुसारको रणनीति बनाएर खेल्ने छौं।’
नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान नीरु थापामाथि रहने देखिएको छ। ३६ क्याप जितेकी नीरुले हालसम्म ११ गोल गरिसकेकी छिन्। त्यसैगरी टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारी पनि महत्वपूर्ण हतियारका रूपमा रहने छिन्। भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ क्याप जितेकी छिन्।
टोलीमै सर्वाधिक अन्तर्राष्ट्रिय २५ गोल गर्ने खेलाडी उनै हुन्। त्यसैगरी नेपाली टोलीमा युवा गोलरक्षक अञ्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्ने खड्काले बताए। पहिलो रोजाइको किपर तुम्बाफोले १६ क्याप जितेकी छिन्।
भारत र श्रीलंका सेमिफाइनलमा
जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा समूह ‘बी’बाट भारत र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोलले हराएपछि एक खेल अघि नै भारत र श्रीलंकाले अन्तिम चारमा स्थान बनाएका हुन् । माल्दिभ्स जितविहीन बनेर प्रतियोगिताबाट बाहिरिएको छ । साफको पाँचौं संस्करणमा लगातार दुई खेलमा हार बेहोरेर बाहिरिने माल्दिभ्स दोस्रो टोली हो ।
श्रीलंकाविरुद्ध दर्बिलो काउन्टर एट्याकको जवाफ फर्काउन नसक्दा माल्दिभ्सका लागि नेपालमा पहिलो पटक आयोजित साफ च्याम्पियनसिप बिर्सनलायक बन्यो ।
शुक्रबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह ‘ए’बाट आयोजक नेपाल र बंगलादेश पनि सेमिफाइनल पुगिसकेका छन् ।
एक खेलअघि नै सेमिफाइन पुगेका भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र बंगलादेशबीच शनिबार प्रतिस्पर्धा हुनेछ । यो खेलले समूह विजेताको छिनोफानो गर्नेछ ।
माल्दिभ्सलाई पराजित गर्न श्रीलंकाकी चलानी इकनायकेको प्रदर्शन उत्कृष्ट रह्यो । उनले नै माल्दिभ्सविरुद्ध दुई गोल गरिन् । उनले मध्यान्तर अघि पहिलो र मध्यान्तरपछि दोस्रो गोल गरिन् । ३७औं मिनेटमा कप्तान इरान्डी लियानाङ्गेको फ्रिकिक प्रहार रिवान्ड भएपछि उनले गोल गरेकी थिइन् । ५०औं मिनेटमा अचला सञ्जीवनी परेराको पासमा उनले बललाई जाली चुमाएकी थिइन् ।
पहिलो हाफको तुलनामा माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दैै अन्तिम समयमा आक्रामक बने पनि श्रीलंकाविरुद्ध गोल गर्न नसक्दा हारलाई टार्न सकेन । खेलपछि माल्दिभ्सका प्रशिक्षक मोहमद आतिफले खेलाडी अस्वस्थ हुँदा पराजय बेहोर्नु परेको बताए । ‘हाम्रा खेलाडी अस्वस्थ्य हुँदा सुरुदेखि नै पराजय मात्रै हात लाग्यो’ उनले भने, ‘स्वास्थ्यका कारण खेलाडी पूर्ण रूपमा तयार हुन नसक्दा प्रतियोगिता लाभदायक बन्न सकेन ।’
श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले खेलाडीको उत्कृष्ट प्रदर्शन नै जितको कारक भएको बताए । उनले समूह विजेताको छिनोफानोका लागि भारतसँग हुने खेलमा जितका लागि मैदान उत्रिने बताए ।