त्यो उरन्ठ्यालो हाँसो
दुःख पर्दा म जिन्दगीलाई धिक्कार्छु। बाँच्न नपरे हुन्थ्यो भन्ने ठान्छु। तर मेरा अनगिन्ती सपनालाई मर्न मन लाग्दो रहेनछ। ती त अमर बन्न चाहँदा रहेछन्।
हाँस्नेप्रयास दुस्साहस हो; रुने आँखाहरू गज्जबको खुबी। जैविक प्राणी सबैमा यो लागू हुन्छ भन्ने लाग्छ। यो मेरो आफ्नै अनुभव हो। र कथा पनि। तर यो संघर्ष मानव तथा जीवजन्तुमा मात्र सीमित छ त ?
कसले भन्छ, निर्जीव वस्तुमा प्राण हुँदैन; तिनमा भावना हुँदैन; ती हाँस्दैनन्; ती रुँदैनन्। काठमाडौंबाट चार घण्टाको यात्रापछि भोटेकोसी पुग्दा त्यहाँ मानिसभन्दा ज्यादा चराचुरुंगी बाँचिरहेका थिए। त्याङ्थलीको प्रकृति हाँसिरहेको थियो। पाङलाङ खोलाका चट्टान रोइरहेका थिए। भोटेकोसीको पानी बेजोड चिच्याउँदै थियो। अनि गाउँ ? कताकता ‘डिप्रेसन’को सिकार भएको थियो।
०००
बिहान तीन बजे आँखा जुरुक्कै उठें। कान टाठा भए। अघिल्लो दिन विष्णुकान्तले तीनचार पल्ट फोनमा भनेका थिए, ‘बहिनी भोलि भोटेकोसी जानुपर्छ है।’ आहा ! भोटेकोसी। त्यहाँको बन्जीजम्प मार्ने पुल। अग्लाअग्ला पहाड, झरना, खोलाको बगर र काला चट्टान। सम्झिँदै जाऊँजाऊँ लाग्यो।
लामो यात्रा नगरेको धेरै भएको थियो। पत्रकारको टोलीसँग मिसिन पाउँदा रमाइलै हुने सोचेँ। र पाँचै मिनेटमा निर्णय लिएर भनेँ, ‘हुन्छ दाइ, म आउने पक्का भो।’
त्यसैले त ब्यूँझिएकी थिएँ, बिहान आलर्म बज्नुभन्दा एक घण्टा अघि नै। तर त्यसको दई घण्टापछि मात्र बल्ल ओछ्यानबाट उठेँ। फटाफट तयार भएर ट्याक्सी लिई ठमेलतिर लागेँ। खाली सडकमा गाडी यसरी कुदिरहेका थिए, मानौं ती सीधै आत्महत्या गर्न जाँदै छन्। सूर्य अझै उदाएका थिएनन्। काठमाडौं सहर पूरै अँध्यारो। सडक छेउका ल्याम्प लाइट एउटै बलेका थिएनन्। मलाई कताकता यो सहरदेखि डर लाग्न थाल्यो।
पाँच बजेर एक्काउन्न मिनेटमा म ठमेल पुगेँ। बोलाइएको समयभन्दा झन्डै ६ मिनेट ढिला। गाडी छुट्ला भन्ने चिन्ता भो। धन्न सबै आएकै रहेनछन्। कस्तो खुसी लाग्यो। अनि त्यत्तिकै हाँसिदिएँ।
विष्णुकान्त सबै साथीको फोनबाटै खबर लिँदै थिए। उनी यो यात्राका संयोजक हुन्। म र अञ्जान एक मित्र धुमधुम्ती तिनै अरू साथी पर्खिंदै थियौं। पर्खिनु जस्तो बिजोग अरू केसैमा हुन्न। साथीहरू बिस्तारै जम्मा भए। सबै एक अर्काप्रति अपरिचित। यात्राभर ‘एजस्ट’ गर्ने कसरी ?
केही समयमा साथीहरू जम्मा भए। र यात्रा सुरु भयो पनि।
गाडी सूर्यविनायक हुँदै धुलिखेलबाट अगाडि बढ्यो। आधा बाटोसम्म खासै हामी एकअर्कासँग बोलेनौं। म, विष्णुकान्त र पत्रकार अर्जुन पोखरेल हँसीमजाक गर्दै थियौं। शोभा, सबिना, किरण र टिमोथी बीचबीचमा फाट्टफुट्ट मुख खोल्दै थिए। कवि नवीन प्यासी यात्रालाई कवितामा वर्णन गर्दै थिए। उनी आफ्ना अभिव्यक्ति साहित्यमा दर्शाउँथे। मेरो अभिव्यक्ति उरन्ठ्यौलो हाँसोमा व्यक्त हुन्थ्यो। यस्तो हाँसो जसले कहिलेकाहीँ आफ्नै कानको जाली फुटाउँछ। अरूको कुरै छोडौं।
हामी बन्जी जम्प गर्ने भन्दै भोटेकोसी गएका थियौं। केही रोमाञ्चक यात्रा गर्न गएका थियौं। यात्राभरि गुरुजीले ‘सालको पातको टपरी हुनी’ गीत बजाए। जब हिन्दी रोमान्टिक गीत बज्थ्यो, साथीहरू आग्रह गरिहाल्थे, ‘गुरुजी भोल्युम अलि बढाउनू न।’
बिहानको नास्ता हामीले सिम्मेमा गर्यौं। बल्ल ज्यानमा फूर्ति आयो। त्यसअघिसम्म सबै लर्याकलुरुक थिए। त्यसपछिको यात्रा भोटेकोसी पुगेर अन्त्य भो— बिहान १० बजे। ‘उः यही पुलबाट पारि जाने हो’, विष्णुकान्तले हातले इशारा गर्दै भने। भोटेकोसीको नीलो पुल हावासँगै झुलिरहेको थियो। मार्मिङको त्याङ्थली जोड्ने एक सय ६६ मिटर लामो झोलुंगे पुल थियो त्यो। यो पुल जमिनबाट एक सय ६० मिटर उचाइमा छ। एसियाकै दोस्रो अग्लो बन्जी मार्ने ठाउँ यही हो।
न्युजिल्यान्डका नागरिक डेबिड एलडाइस र भैरहवाका विष्णु न्यौपानेले यहाँ रिसोर्टसहितको बन्जी सुरु गरेका थिए। डेबिडले नै भोटेकोसीमा र्याफ्टिङ सुरु गरेका हुन्। डेबिड र उनका साथी विलियम लिंकनलगायतको टोलीले सन् १९९९ को नोभेम्बरमा पहिलो बन्जी गरेका थिए।
त्यही पुलमाथि टेक्दै हामी पारि जाने भयौं। कानतिर हावाले बेग मारिरहेको थियो। नदी नियालेँ। त्यो उफ्रँदै थियो। लाग्थ्यो, त्यो पेट मिचीमिची हाँस्दै छ। उही उरन्ठ्यौलो हाँसो। ठूलाठूला चट्टानको हृदयलाई नदी आफ्नो धारिलो हाँसोले रेट्दै छ— दुई टुक्रा हुने गरी। नवीन प्यासीले भनेजस्तै, ‘आहा ! कस्तो मीठो धोका।’
पारि ‘दी लास्ट रिसोर्ट’ पुगेर हामीले एकैछिन वि श्राम गर्ने सोच्यौं। तर त्यो सम्भव भएन। फोटो खिच्न हतार भो। मेरो अघिअघि रोमा न्यौपाने थिइन्। हामी यो यात्राका सहयात्री थियौं। वानलेग डान्सर रोमा वैशाखी टेकेरै सबैभन्दा छिटो हिँड्न सक्छिन्। रिसोर्ट पुगेपछि थाहा भो उनले बन्जी गर्न पाउँदिनन्। उनी निकै दुःखी भइन्। तर उक्त पीडा उनले साहसिलो मुस्कानको पछि लुकाइन्। हाँस्नु मानिसको सबैभन्दा ठूलो दुःख हो। यो दुःखसँग रोमाको पुरोनो देखेँ।
झरनासँगको दोहोरी
बीचमा योजना परिवर्तन भएपछि हामी क्यान्योनिङ गर्ने भयौं। वेट सुट लगाएर हामी रिसोर्टबाट पाङ्लाङ खोलातिरको उकालो डाँडा चढ्यौं। भोटेकोसीमा क्यान्योनिङ गर्न जम्बो खोला (तीन घण्टा), पाङ्लाङ खोला (३ घण्टा), हाँडीखोला (चार घण्टा), काभे्र खोला (तीन घण्टा ४५ मिनेट) र घलुङ खोला (६ घण्टा) छन्।
प्राविधिक तयारीका साथ गरिने हाइकिङ, क्लाइम्बिङ जस्तै हो क्यान्योनिङ। गाइड विश्व बजगाईंले यो खेलका सम्पूर्ण नियम सम्झाइदिए। चट्टान, खोच, झरनाको बहावसँगै हामीले यात्रा गर्नुपर्ने भो। यसका लागि हामी सबैले हेल्मेट अनिवार्य लगाएका थियौं। साथै वेट सुट, हार्नेस, बेली डिभाइस र डोरी त झन् अत्यावश्यक भइहाले। वेट सुट लगाएका सबै मित्र एस्ट्रोनटझैं देखिए।
विश्व, भोला र रमेश जस्ता क्यान्योनिङ मास्टरहरूले हाम्रो सेफ्टीको पूर्ण जिम्मेवारी लिएका थिए। तर मनमा चैन भएन। कसरी यो अमूल्य ज्यान एउटा डोरीको भरमा छोड्नु ? खुट्टा चिप्लियो भने ? डोरी चुँडियो भने ? अनेक प्रश्न मनमा आए।
हामीसँग म्याक्सिमम सेफ्टी इक्विपमेन्ट थिए। तर जुन खोँचबाट हामी तल झर्दै थियौं त्यहाँको प्रकृतिले हामीलाई सुरक्षित महसुस गराएन। तल हेर्दा कहाली लाग्थ्यो। भोटेकोसीले चुले चिम्तो दिए जस्तो लाग्थ्यो ! म साथीहरूलाई हेरेर हाँस्न थालेँ। साथीहरू पनि हाँसे। मनभित्रको डरलाई जित्न हाँस्नु सिवाय अरू पनि त थिएन। विश्व दाइले अलि झर्किए जस्तो गरी भने, ‘हाँस्नेहोइन। अरूले बोलेको सुन्ने गर्नुपर्यो।’
उनी फेरि राइट ह्यान्ड र लेफ्ट ह्यान्डको पोजिसन बताउन थाले। ब्याक लेनबाट कसरी तल झर्ने सिकाउन थाले। उनी भन्दै गए, ‘झरनाको आवाजले मेरो इस्ट्रक्सन तपाईंहरूले सुन्न सक्नुहुन्न। मैले चिच्चाउनुपर्ने हुन्छ। त्यति बेला तपाईंहरूले चित्त दुखाउनुभएन।’
अन्ततः चट्टान र झरनासँग खेल्ने नै निर्णय गरियो। यो खेलमा खुट्टाको अहं भूमिका रहन्छ। रोमाले खेल्न पाइनन्। मन खिन्न भो। त्यही पनि हाँसीहाँसी उनले आफ्नो असंलग्नता स्वीकारिन्। सबैको मनमा डर र कौतूहल थियो। मुस्कुराउँदै म डर पन्छाउँदै थिएँ। कोही उट्पट्याङ गर्दै थिए। र कोही बिल्कुल चुपचाप।
डोरीमा झुन्डिँदै हामी झरना झरेझैं तल झर्यौं। सहयात्री सबिना सापकोटा र शोभा शर्मा अलि डराए। उनीहरूले एकै स्वरमा भने, ‘ओ आन्टी। लडिएला है, लडिएला।’ झरनासँगै हाँसोको फोहोरा गुन्जियो। डराउने केटीजति सबै आन्टी हुने भए। केटाहरू जति अंकल, बाजे, दादाजी हुने भए।
जम्माजम्मी आठ स्टेपको क्यान्योनिङ गर्ने कुरो भएको थियो। चार स्टेप सकियो। तर म पानीले भिजिन। अरू नि भिजेका थिएनन्। विष्णुकान्तले झर्किंदै भने, ‘खेलको मज्जा लिनु पर्दैन ? झरनाको पानीसँग खेल्नु पर्दैन ? चार स्टेप पूरा गरिसक्दा नि मान्छे भिजेको छैन।’
झरनाको पानीमा रुझ्न मन नभएको होइन। खुब मन थियो। तर कताकता मनमा भय थियो। हामी त्यसै आत्तिएका मान्छे। पानीले झनै अत्याउने पो हो कि ?
पाँचौं स्टेपमा पानीको बहाव अलि बढी थियो। पहेँलो डोरीमा समाउँदै तल झर्दा झरनाले मसँग दोहोरी खेल्यो। हुरुरु पानी शरीरभरि पस्यो। त्यसपछि म एकाएक चिच्याएछु। सायद ज्यादै ‘एक्साइटेड’ भएछु। खुसीको सीमा नभएर होला, म हाँसेको हाँस्यै भएँ। अरू साथी पनि त्यत्ति नै रमाइरहेका थिए। क्यान्योनिङ सकिएपछि पारिपट्टि ढुंगाको डिलमा बसेर घोत्लिएँ। मसँगै सबिना, अगाडि अर्जुन र किरण, बायाँपट्टि नवीन र टिमोथी थिए। हामी सबै निथ्रुक्कै भिजेका थियौं। जाडोले काँपिरहेका थियौं।
खेल सकिएपछि हामी सबै एकोहोरिएका थियौं। तीन घण्टासम्म त्यत्रो ठाडो पहाडलाई माथ दिएको ठान्ने हामी आफूभित्र उठेका ज्वारभाटालाई माथ दिन भने असमर्थ भएछौं क्यारे। इतिहास साक्षी छ, मान्छेले हार्न जानेको छैन। तर चट्टान र झरनाको ताकतसँग हामी हारेका थियौं।
सपनाहरू मर्नदेखि डराए
क्यान्योनिङ गरेलगत्तै बन्जी गर्ने प्रस्ताव आयो। हतारहतार डे«स चेन्ज गरेर बन्जी मास्टरको इस्ट्रक्सन सुन्न गयौं। खै केके भने, तिनले। मैले ध्यान दिनै सकिनँ। त्यही पनि सुनेझैं गरेँ। बन्जी गर्दा माथिबाट दुई पल्ट झट्का दिइन्छ। त्यसपछि रातो डोरी आफैंले तानेर दुई खुट्टालाई अर्को डोरीबाट मुक्त गराउनुपर्छ। त्यसपछि हामी आकाशतिर हेर्दै हावामा तैरिन पाउँछौं।
स्वास्थ्यसम्बन्धी केही समस्या नभएकाले सीधै वजन नापियो। भिजेको जुत्ता, भिजेकै बाक्लो केश यसै पनि गह्रौं भइरहेको थियो। त्यसमाथि मोबाइल खल्तीमा राखेँ। जाडो भयो भन्दै ज्याकेट लगाएँ। यति गरेपछि शरीरको वजन पक्कै ४० किलो कट्ने सोचेकी मलाई यन्त्रले ४८ किलो देखाइदियो। खुसीको सीमा रहेन। बन्जी मास्टरले दाहिने हातमा ‘बी फाइभ जेरो फिप्टी’ लेखिदिए। म झनै दंग।
साथीहरू कोही बन्जी गर्ने भए; कोही स्विइङ। स्विइङ दुई जनाले पनि गर्न मिल्दो रहेछ। यो बन्जीभन्दा पनि बढी छलाङ मार्न पाइने खेल हो। त्यसैले एक सय ६० मिटरमा छलाङ मार्ने निर्णय गरेँ। छलाङ मार्नुअघि किरणले भने, ‘तिमी सबैको मुटुको धड्कन सुन, जो बाहिरै निस्किएला जस्तो गरी उफ्रिरहेका छन्।’ मैले साथीहरूको धड्कन जाँचेँ। कत्ति धड्किएको ? मेरो भने चुपचाप चुपचाप थियो।
मलाई आफू मृत अनुभव भयो। तर डर अवश्य थियो। त्यो डर मेरो शारीरिक हाउभाउ र अनुहारबाट झल्किरहेको थियो। जुन सबै साथीले देखे। शरीरमा हार्नेसिङ फिट गरियो। बन्जी मास्टरले तौलअनुसारको डोरी भिराइदिए। सबै तयारीपछि जम्पर्सलाई प्लेटफर्ममा लगिँदो रहेछ। म डराई डराई फलामको पाताछेउ पुगेँ। आधा पाइला फलाममा आधा हावामा।
बन्जी मास्टरले खोलातिर नहेर्नू भनेका थिए। तर मैले हेरें— नचाहँदा नचाहँदै। नियम तोडेँ। भोटेकोसीको गहिराइ देखेर मलाई रिँगाटा चल्यो। केही सोच्ने मौकै पाइनँ। जम्प मार्न पछाडिबाट थ्री... टू... वान... को आवाज आयो। जम्प भन्नुभन्दा पहिले नै विष्णुकान्त र मैले सँगै छलाङ मार्यौं। हावामा उडेको मात्र दुई सेकेन्डसम्म पृथ्वीले मलाई यसरी तान्यो कि मानौं म सक्किएँ। नधड्किएको मेरो मुटु झन्डै ठप्प भो।
आँखा खुल्लै राखेकी थिएँ। मेरा अगाडिको हरियो पहाड मभन्दा तीव्र गतिमा दौडिरहेको थियो। वरिपरिको दृश्यको गति यतिविघ्न थियो, जहाँ सबै दृश्य मेरा आँखाअघि अदृश्य भए। म शून्यतामा पुगेँ।
त्यो यस्तो शून्यता थियो, जहाँ हामी आफूले आफैलाई भेट्छौं। परिचय गर्छौं। यो भेट स्लोमोसनमा हुन्छ— बिल्कुल फिल्मी शैलीमा, जहाँ हजार सपनाहरू एकआपसमा ठोक्किन आइपुग्छन्। तिनीहरूले जमिनमा घुँडा टेक्छन्। दुई हात जोड्छन्। आँसु झार्दै ‘म’लाई विनम्र अनुरोध गर्छन् र भन्छन्, ‘कृपया हामीलाई मर्न नदिनुस्।’ यो पुकार सुनेर एकैछिन ‘म’लाई राजा भएको महसुस हुन्छ। निरंकुश राजा। अनि मेरा सपनाहरू ‘म’को दास। यो अनुभव मैले मात्र दुई सेकेन्डभित्रै गरेँ।
डोरीमा झुन्डिरहँदा मैले बन्जी मास्टरले दिएको इस्ट्रक्सन सबै भुलिसकेको थिएँ। त्यतिखेर ‘म ज्यूँदै छु’ भन्नेबाहेक अरू केही सोचिनँ। खेल सकिएपछि म झोलुंगे पुल तलको खोला किनारामा गएँ। त्यहाँका ठूलाठूला ढुंगामाथि बसेँ। र आकाशतिर नजर डुलाएँ।
दुःख पर्दा म जिन्दगीलाई धिक्कार्छु। बाँच्न नपरे हुन्थ्यो भन्ने ठान्छु।। तर मेरा अनगिन्ती सपनालाई मर्न मन लाग्दो रहेनछ। ती त अमर बन्न चाहँदा रहेछन्। उनीहरूको बिन्तीभाउ देखेर भित्री मन रोयो। अनि बाहिरी मन खुब हाँस्यो। ‘म’को शक्तिलाई पहिलो पटक महसुस गरेँ। अनि उही उरन्ठ्यौलो हाँसो निस्कियो। उही हाँसीहाँसी सबैलाई डाम्न सक्ने बेपर्वाह हाँसो।
अन्य साथीहरू पनि डर लाग्यो भन्दै रोएनन्। हाँसीहाँसी आफ्नो अनुभव सुनाए। भोलिपल्ट तातोपानी नाका पुग्दासम्म पनि यो हाँसो सेलाएको थिएन। पहिरोले उजाड बनाएको त्यहाँको बस्ती कताकता मुस्कुराइरहे जस्तो लाग्यो। किनकि मुस्कुराउनुको विकल्प थिएन। मलाई लाग्यो, लिभिङ थिङ्स र नन लिभिङ थिङ्सबीच केही भिन्नता हुँदो रहेनछ।
बाटोभरि यी सबै पीडालाई हामीले हाँसोमा उडायौं। हामी हाँसिरहँदा त्यहाँका चट्टान हाँसिरहे। हामीसँगै खित्खिताइरहे। डङ्डङ आवाज निकाल्दै हाम्रो हाँसो यात्राभरि बौलाइरह्यो।