रुझेको ग्रेटवाल
अक्षरले मनमा बनाउने चित्र र आँखाले देखाउने प्रतिविम्ब उस्तै हुँदैन। मानव सभ्यताकै अद्वितीय निर्माण ग्रेटवाललाई चित्रमा होइन, आँखाले सुम्सुम्याउन पाउनु र आफ्नै पाइतालाले नाप्न पाउनु जीवनकै अविस्मरणीय क्षण हो, जोकोहीका लागि।
बेइजिङ बसाइ छोटिँदै थियो, ग्रेटवाल जाने दिनको प्रतीक्षा पनि व्यग्र हुँदै हुँदै थियो। हाम्रो कार्यक्रमकी संयोजक सी होङले बिहान ८ बजे नै ग्रेटवालमा हाइकिङ गर्न जाने भनेर वी च्याटमा सन्देश पठाएकी थिइन्। चिनियाँहरू एक सेकेन्ड पनि ढिलो मन पराउँदैनन् भन्ने हामीले बेइजिङ बसाइमा राम्ररी जानिसकेका थियौं र त्यसैअनुसार गर्न थालिसकेका थियौं। त्यसैले भनिएको समयभन्दा अलिकति अगाडि नै तोङ चाङ यान होटलको लबीमा झर्न तयार थियौं। ग्रेटवालमा हिँड्न पाउने खुसीमा बेलुका चाँडै सुतेका थियौं। तर मनको उत्साहले निद्रालाई जिस्क्याइरहेको थियो। कल्पना र निद्राको दोहोरीमा रातको धेरै पल अनिदो नै बितेको थियो। ग्रेटवाल फोटोमा हेरेकै थिएँ, भिडियो पनि हेरेकै थिएँ तर पनि प्राचीन मानव सभ्यताको यो विशाल सिर्जना टेक्न पाउने खुसीमा धेरै नै तरंगित भएँ।
हामी लबीमा झर्न ठिक्क परेका थियौं, विच्याटमा सन्देश आयो, ‘भारी वर्षा हुने मौसम भविष्यवाणी छ। त्यसैले आजको भ्रमण रद्द !’ हाम्रो उत्साह एकाएक जम्न पुग्यो। हत्तेरिका ! हामी त्यसै चिसियौं। झ्यालबाट बाहिर हेरेँ, बेइजिङको आकाश अलिअलि रुँदै थियो। हल्का वर्षा हाम्रा लागि खासै ठूलो थिएन। यति जाबो पानीमा त हामी छाता ओढेर मजाले हिँडिहाल्छौं नि ! मैले मनमनै भनेँ।
जुलाई अगस्ट महिना पर्यटनका लागि बेइजिङ उपयुक्त मानिन्न। जाडोमा हिउँ पर्ने बेइजिङमा हामी बस्दा ३५ डिग्री तापक्रम थियो। पानी पर्दा पनि २८ डिग्रीबाट तल तापक्रम झरेको थाहा पाएनौं। चिनियाँ भाषासंस्कृतिबारे अन्तरक्रिया गर्न हामी यहाँ पुगेका थियौं। फुर्सदमा बेइजिङका सडक नाप्दै त्यहाँको समृद्धिलाई नेपालको विकाससँग दाँजेर कुरा गथ्र्यौं हामी। पसिनाले निथ्रुक्क भिजेका हुन्थ्यौं तर पनि हामी हिँडिरहेका हुन्थ्यौं। कस्तो समयमा यहाँ आइएछ, मनभित्र गुनासोले जन्म लियो। ग्रेटवाल नै घुम्न पाइँदैन कि क्या हो ? आशंका बलियो भयो। हाम्रा सबै कार्यक्रम निर्धारित थिए। एउटा कार्यक्रम रद्द हुनुको अर्थ अर्को कार्यक्रममा असर पर्नु हो। तर हामीलाई सी होङले अर्को दिन त्यहाँ लैजाने भनेपछि ढुक्क भयौं।
त्यो अर्को दिनको प्रतीक्षा पनि सकियो। उस्तै झरी बोकेर अर्को दिन आयो र मनभरि आशंकालाई बास दियो। आज पनि गइएन भने त ग्रेटवालसँग भेट नै हुँदैन— म ओइलाएँ। उस्तै गरी विच्याटमा सन्देश आयो र अनिच्छाका साथ सन्देश पढेँ। तर यसपटक भने खुसी बोकेर ल्याएको रहेन विच्याटले। ठूलो झरी पर्दैन तर छाता बोक्नुहोला भन्ने सन्देश थियो।
मन सधैं खिसिक्क भइरहन्छ। फेरि त्यो लमतन्न तन्किएको ग्रेटवालमा उभिएर फोटो खिच्न पाउँला त ?
हामी ठीक आठ बजे बस चढ्यौं। चिनियाँहरू समयमा यति बाँधिएका हुँदा रहेछन् कि एक मिनेट पनि ढिला केही हुँदैन। सबै काम तोकिएकै समयमा। बस गुडेपछि हामी गीत गाउन थाल्यौं, अन्ताक्षरी गाउन लाग्यौं। चिनियाँ र अन्य विदेशी मित्रहरूले पनि हाम्रो उत्साहमा साथ दिए। पर्यटक बस थियो, त्यसैले माइकको समस्या भएन। राजेन्द्र खड्का सरको देउडा र चौधरी भाइको गीत सुन्दै हामी बेइजिङको फराकिलो र चिल्लो सडकमा चिप्लिँदै थियौं। झ्यालबाहिर चिनियाँ समृद्धि नियाल्दै र भित्र नेपाली गीत गाउँदै हाम्रो यात्रा अगाडि बढ्यो। बेइजिङको यो विशाल सहरभित्र यो बसमा भने पूरै नेपाल थियो, मानौं हामी नगरकोटतिर पिकनिक गइरहेका छौं। कतै पानी बेस्सरी परेर जलाम्मे सडक देखिन्थ्यो त कतै घाम र बादलको लुकामारीको छाया। बिस्तारै सहर पातलिँदै गयो, फाट्टफुट्ट घरमात्र देखिन थाले, ती मजदुर बस्ती जस्ता थिए। तर, सफाचाहिँ लोभलाग्दो। प्रदूषणमा बेइजिङले विश्वमै नाम कमाएको समाचार पढेको थिएँ, त्यहाँको सफा देख्दा पत्यार लागेन। धुवाँ र धुलोको मुस्लोमा बस्न अभ्यस्त म त्यहाँको सफा देख्दा अचम्ममै परेँ। विगत दुई वर्षमा त्यहाँका अत्यधिक उद्योगहरू टाढा सारिसकिएका रहेछन्।
मौसमले साथ दिएको थिएन। बिहानैदेखि घामपानीको लुकामारी चलिरहेको थियो। कुनै बेला पानी पर्न थाल्थ्यो र कुनै बेला आकाश खुल्न थालेको देखिन्थ्यो। ६ लेनको कालोपत्रे सडक। दुवैतिर रेलिङ। अनगिन्ती फ्लाइओभर। अर्थात् सडकमाथि सडक। हरेक सडक सीधा बगेका। घुमेको छ त केवल सडकहरूको इन्टरलिंक मात्रै। विपरीत दिशातिर हुइँकिएका मोटरहरू हतारमा देखिन्छन्। गाडीको घुइँचो हरेक बखत तर मानिसचाहिँ देखिन्नन्, चार करोड मानिस खै त घुइँचो ? सडकमा नगुड्नेहरू जमिनमुनिको मेट्रोमा हुइँकिने रहेछन्। अनि बाहिर मानिस कसरी देखिनु ?
मनले कामना गरिरह्यो ः मौसम घमाइलो होस्। टाढासम्मका दृश्यहरू आँखा सामुन्नै खुल्दै जाऊन्। पहाड घामको किरणमा पल्टिएको होस्। आकाशको नीलिमा आँखाले नाप्न पाओस्। तर बेइजिङको आकाश कहिल्यै नीलो देखिएन, सधैं घुमाइलो मात्रै। मनले पुकारिरह्यो आकाश खुलोस्, धर्ती खुलोस् र सुदूरसम्मका दृश्यहरू मन र आँखामा धीत मरुन्जेलन कैद गर्न पाइयोस्। तर प्रकृतिले सुने पो।
बेइजिङको तेस्रो रिङरोडभित्र पर्ने सान्लिथुनबाट करिब ८० किलोमिटर टाढाको यात्रा पूरा गरेर ग्रेटवालको एन्सिएन्ट पातालिङ प्रवेश भागमा हामी जाँदै थियौं, दुईवटा बसमा ३८ जना नेपालीसहित १३ देशका ५२ जना प्रतिनिधि। यो यात्रो दुई घण्टामै पूरा भयो। यो एक्सप्रेस हाइवे रहेछ। यस्तो हाइवेमा दुई थरी आवागमनका लागि अलगअलग सडक हुँदा रहेछन्। ८०–९० फिट अग्ला पिलर हालेर बाटो सीधा पारिएको, अनि अलि अग्ला पहाड आए भित्ता फोडेर सुरुङ बनाइएको। विकासको गति सडकको गतिले नापिन्छ भन्थे हो रहेछ। देश विकसित भएर सडक राम्रो बन्ने होइन, सडक राम्रो भएर देश विकसित बन्ने हो भने चीनले आत्मसात् गरेको रहेछ। त्यसैले बाटो सीधा, घुमाउरो र जोल्टिने त छँदै छैन। कि त अग्लाअग्ला पुल हालिएको छ कि त सुरुङ छेडिएको छ। सुरुङभित्र झलमल्ल उज्यालो थियो, हाम्रो मन पनि त्यसै गरी उज्यालिएको थियो।
बिस्तारै पहाडी भूभाग देख्यौं, अनि चिनियाँ मित्रलाई भन्यौं, हाम्रो देशमा त यस्तै पहाडै पहाड छ। उनीहरू दंग परे। तर हाम्रो पहाड र यहाँका वनस्पतिमा निकै फरक देखिन्छ। हामीले बसबाटै देख्यौं, पहाडका टुप्पातिर सर्प लम्पसार परेझै लमतन्न फैलिएको ग्रेटवाल अनि त्यसमाथि कमिलासरी पर्यटकहरू ! हाम्रो मन सगरमाथाभन्दा अग्लो भयो। हामीले पढेको र चित्रमा देखेको ग्रेटवाल आँखाको सामुन्ने थियो, हाम्रो अनुहार खुसीले उज्यालिएको अनि मनचाहिँ प्रसन्नतामा नाचिरहेको। ओहो कति भीड ! त्यो भीडको हिस्सा बन्ने भयौं...। तर, बस त्यहाँ रोकिएन, अगाडि बढ्यो। मेरो मन यही ठूलो पर्खालको विचारमा डुबिरह्यो।
ग्रेटवाल झन्डै २१ हजार किलोमिटर लामो छ अर्थात् नेपालको पूर्वपश्चिमको लम्बाइभन्दा १० गुणा बढी तन्किएको। तर, यो पर्खाल सग्लो र सिंगो छैन, धेरै ठाउँमा भत्किएको छ, भत्काइएको छ। कतिपय ठाउँमा भने पुनर्निर्माण पनि गरिएको छ। चीनको गौरव भनिए पनि मानव सभ्यताको आश्चर्य मानिए पनि ग्रेटवालले कुनै गर्वको कथा भन्दैन, कुनै पौरखको इतिहास सुनाउँदैन, न त यसले कुनै सौन्दर्यको गाथा नै रचेको छ। यो त मानिसका आँसु र रगतको कथा हो। लाखौं लाख मानिसको मनभित्र गुम्सिएको पीडै पीडैको पर्खाल हो यो। मानिसको वीरताको चिनारीभन्दा पनि शत्रुता र घृणाको पर्खाल हो यो। आज यो पर्खाल शान्त छ, गम्भीर छ र लामो निद्रामा सुतेझैं लाग्छ। कुनै बेला यहाँ कोलाहल थियो, शत्रुमाथि मार हान्न डाँडाबाट चारैतिर आँखा डुलिरहन्थ्यो। वीरता कसैको रहर थियो होला तर त्यो रहर मनभित्रबाट हैन, शासकको उन्मादले जन्माएको थियो।
हुन त हामीले गौरव गर्ने थुप्रै धरोहर जनताका होइनन्, शासकका रहर हुन्। जनताका त बाध्यता हुन्। चाहे ताजमहलको पोखरीको पानीका तरंग होऊन्, चाहे इजिप्टका पिरामिड वा अरू कुनै विस्मयकारी मानव रचना। ग्रेटवाल लाखौं चिनियाँको चिहान हो, सपनाहरूको मसानघाट हो। मलाई लाग्यो, यहाँका ढुंगामा लतपतिएका रगतका टाटा अझै होलान्। नानी गुमाउने आमा, पत्नी गुमाएको पतिको मौन आक्रोश यी ढुंगाका कापकापमा अझै छोपिएका होलान्। ती आवाज ब्यूँझिएर आए थाहा हुन्थ्यो, क्रूरताको, दयाविहीनताको कठोर मावन हृदय थियो कुनै बेला। गौरव गाथा बोकेको यस्तो धरोहरमा जति नै नाक ठूलो पारे पनि त्यसमा लुकेको आँसु र रगतका छिटाहरू बीभत्स हुन्छन्। आम मानिसका सपना र रहरसँग कुनै कतै साइनो नजोडिएका यस्ता धरोहरमा भावनात्मकता हुँदैन, मुर्दा हुन् यी करङ मात्र देखाइबस्ने।
मेरो सोचाइका तरंगलाई खल्बल्याउँदै सँगैका साथीले भने, यो कुनै एक शासकको सनक होइन, पूरै चिनियाँको अठोट हो, मंगोलियनहरूको आक्रमणबाट जोगाउने। तर, इतिहास कठोर हुन्छ, शासकको स्वार्थको लेखामात्रै हो यो। हो, एउटै राजाका पालामा वा एउटै राजवंशले यसलाई बनाएको होइन। घृणा र शत्रुता रोक्ने यत्रो पर्खालको दुवैतिरको भूभाग अहिले चीन छ। खै त त्यो घृणा र शत्रुता ? समयले मनको पर्खाल भत्काएर एकताको भावनामा जोडिसकेको छ। त्यति बेलाको शत्रुताको साक्षी यो पर्खाल बोल्न सक्ने भए के भन्दो हो ? मेरो मन पुरानै समयतिर दौडँदै थियो।
हामी एनसेन्ट पातलिनको प्रवेश द्वारमा पुग्यौं, आकाशले पिन्चे पानी छाड्न थाल्यो। ग्रेटवाल चढ्न तिर्नुपर्ने शुल्क तिरेर ढोकाबाट छिर्यौं। त्यहाँ ससाना बोट थिए, हाम्रा तिरका जस्ता ठूला रूख कतै देखिएन। पानीले हामीलाई गिज्याउन थाल्यो, छाता निकालेर ओढ्यौं। उसले त्यसमा अझ चुनौती थप्यो, हावा पनि चल्न थाल्यो। ग्रेटवालको उचाइ करिब २५ फिट र चौडाइ १५ फिट रहेछ। ठाउँठाउँमा पर्खाल चढ्न भरेङ बनाइएका रहेछन् र त्यही नजिकै पानी ओत्न मिल्ने भ्यु टावर पनि। यही टावरबाट शत्रु पक्षको गतविधि हेरेर आक्रमण गरिन्थ्यो होला, सूचना दिइन्थ्यो होला। त्यसैले यस्ता टावर एक अर्काले देख्ने गरी बनाइएका। हाम्रो जस्तो पूर्वपश्चिम फैलिएको पहाड यहाँ थिएन।
हाम्रातिरको हरियालीजस्तो पनि थिएन। पहाड ज्यादै अग्ला लागेनन्। मैले आफ्नो देशमा देखेको पहाड चुच्चो परेको र उत्तरी र दक्षिणी भाग भिरालो परेको थियो। तर, यहाँ त्यस्तो थिएन। पहाडको अग्लो भाग छानेर पर्खाल लगाइएको रहेछ। वरपर कतै मानव बस्ती देखिएन, अल्छी पाराले लमतन्न परेर सुतेको पहाड र होचा होचा रूखहरू मात्रै देखिए। योभन्दा त नेपालको पहाड धेरै जवान र धेरै सुन्दर र अनि अत्यन्त जीवन्त लाग्यो मलाई।
यही निर्जीव पहाडहरूमा लामो धर्को तानेजस्तै रहेछ ग्रेटवाल। तर ग्रेटवाल सबै यस्तै ठाउँमा मात्रै रहेनछ। उकालिँदै र ओरालिँदै गएको यो पर्खालको बीचबाट पद यात्रा गर्दै दृश्यावलोकन गर्नुचाहिँ चरम आनन्द आउने रहेछ। हिँड्न सक्ने जोशिलाहरूले यो खण्ड रोज्ने रहेछन्, भन्नुपर्दा यो खण्ड कुमारी मानिने रहेछ। पातालिङमा जस्तो पर्यटकको भीड यहाँ देखिन्न न अन्य सुविधा नै। यो सुनसान खण्ड नेपाली हाँसो र गफले केही बेर नेपालमय बन्यो।
पानी परिरहेकै थियो। तर त्यहाँ हामीलाई झरीको पर्वाह थिएन। जीवनमा पहिलोपटक मानव इतिहासमै विस्मयकारी संरचनामाथि पाइला चालिरहेका थियौं। सामान्य ज्ञानमा पढिएको र चित्रहरूमा हेरिएको पर्खालमाथि हिँड्दै थिएँ म। पर्खालमा बन्दुक छिराएर राख्न मिल्ने प्वालहरू थिए। ग्रेटवाल गढीजस्तो लाग्यो मलाई। रगतले कोरिएका इतिहासका पाना सम्झँदै मैले यहाँ लडाइँ भएको कल्पना गरेँ, भाला रोपिएर वा गोलीका छर्रा लागेर रोइरहकाहरूले आफ्नो गुम्सिएको पीडा सुनाइरहेझैं लाग्यो। हो, बुद्धको धर्तीबाट आएका मनुवा, मनवता छियाछिया परेको इतिहास सुनेर जाऊ, तिम्रो हिमाललाई सुनाऊ, यताको पीडा भनेझैं लाग्यो। दुई हजार वर्षको इतिहास बोकेको ग्रेटवाल। यसको जग हालिँदा आर्थिक, सामाजिक र राजनीतिक यथार्थ अहिलेभन्दा निकै फरक थियो। फरक थिए, मानिसका आकांक्षा पनि। हिंसाको बर्बर युग थियो, मौका पाउनासाथ मार्ने नत्र मारिने। समय नै राज्य विस्तारको थियो। यसैमा मारिन्थे अनेक मानव। मानवता थिएन, क्रूरता थियो र त्यही वीरता मानिन्थ्यो।
छाता ओढे पनि म भिजेको थिएँ, साथीहरूको हालत पनि उस्तै थियो। छिटो हिँड्न सक्नेहरू धेरै टाढा पुगिसकेका थिए, मचाहिँ केही बेर एक्लै हिँडिरहेँ। फोटो खिच्न सबै व्यस्त थिए। समूहमा खिच्यौं, एक्लै एक्लै खिच्यौं। छाताले फोटो बिगार्ने भएपछि हटाउनै पर्यो। छाता हटाएपछि टाउको भर्खर नुहाएजस्तो बन्यो। म भिजेको देखेर साथीहरूले भने, ‘चीनको हावापानी हो, नेपालको हैन, यसरी नभिज्नुहोला। बिरामी भइन्छ।’ त्यसो भन्दै गर्दा एक झोक्का हावाले साथीको छातै उडायो र पर्खालबाहिर खसालिदियो। बित्यास ! त्यो छाता लिन जाने बाटै छैन। पर्खाल उत्तरपश्चिम हुँदै बनेजस्तो लाग्यो। हामी हिँडिरह्यौं, ठाउँठाउँमा घामपानी ओत्न मिल्ने टावर र निरन्तर उकालो ओरालो...। त्यो अनन्त यात्रा जस्तो...। साथीहरूले भने फर्कौं, अब जति हेरे पनि यस्तै; जति हिँडे पनि यस्तै त हो। उकालोओरालोमा हिँड्न सजिलो होस् भनेर दायाँबायाँ सिँढी हालिएका त थिए। तर साँँघुरा ! पानी परेकाले चिप्लिएला कि भन्ने डर !
खासमा पानी परेको दिन पर्खाल चढ्न आउन नहुने रहेछ। वर्षाको समय थियो र हाम्रो बेइजिङ बसाइ सिद्धिन लागेको थियो। पानी परेर हाम्रो यात्रा पहिले पनि रद्द भइसकेको थियो। यस्तोमा आजकै दिन पानी पर्दा खल्लो लाग्यो। टाढाटाढासम्मको दृश्य राम्ररी हेर्न पनि पाएनौं। अझ दुःखको कुरो, अविस्मरणीय यो यात्रालाई राम्ररी क्यामेरामा कैद गर्न पनि पाएनौं। लमतन्न परेको पर्खालमाथि उभिएर फोटो खिच्ने धोको कसैको पनि पूरा भएन; न त पर्खालमाथि उभिएर सुदूरसम्मका दृश्यलाई नै आँखा र मनमा कैद गर्न पायौं। फोटोमा देखेको त्यो लोभलाग्दो दृश्य हामीले लिन सकेनौं।
फोटो खिच्न नपाए पनि एउटा कुरा भने राम्रो लाग्यो— पानीमा भिज्दै ग्रेटवालमा एकडेढ किलोमिटर हिँड्न पायौं। घाम लागेको भए गर्मीले हामीलाई खुबै सताउँथ्यो होला। केही साथीहरू अलिकति हिँडेर उतै बसे। इजिप्टबाट आएकी प्राध्यापक गेहन अनवर भने हिँड्न नसकेर सुरुकै बिन्दुमा बसिरहिन्। प्राध्यापक होङ सी पनि उतै बसिन्। तर हाम्रा चिनियाँ शिक्षिका र सहयोगी भने हामीसँगै थिए। ग्रेटवालमा नेपाली झन्डा फहराएर फोटो खिच्दा त्यहीँबाट सगरमाथा पुगेजस्तो लाग्यो। तर बादलको घुम्टोभित्र अलिकति चियाएजस्तै थिए हाम्रा तस्बिर। कुनै प्राचीन पर्खालजस्तो मात्रै देखिन्थ्यो, त्यो वाल थियो। तर ग्रेट देखिएन हाम्रो चित्रमा। मनभित्रको अनुभूति त ग्रेट नै थियो तर चित्रचाहिँ ग्रेट भएनन्।
खासमा उज्यालो दिन लमतन्न तन्किएको वा हिउँले ढाकिएको ग्रेटवाल सुन्दर हुने रहेछ। हामीले यी दुइटै ग्रेटवाल देख्न पाएनौं, गल्ती थियो बेमौसमको यात्रा। पर्सिपल्ट हामीलाई एक दिन फुर्सद थियो, केही साथीले भने, ‘आज घमाइलो दिन छ फेरि जाऊँ ग्रेटवाल। मज्जाले लामो पर्खाल देखिने गरी फोटो खिचौं। जीवनको एउटा ठूलो अनुभूति किन नमीठो पारेर जाने ? ...। तर मैले भनेँ, ‘हामीले यहाँको आनन्द लिइहाल्यौं, घुम्टो ओढेकै सही, फोटो पनि छँदै छ, त्यत्ति फोटोका लागि किन फेरि जानु ? ’ तर, आज काठमाडौं आएपछि लाग्दै छ, झरीमा ग्रेटवाल, तर ग्रेट कहाँनेर छ ? एउटा तस्बिर पनि नलिएको ग्रेटवाल...। मन सधैं खिसिक्क भइरहन्छ। फेरि त्यो लमतन्न तन्किएको ग्रेटवालमा उभिएर फोटो खिच्न पाउँला त ?