सबिरा

सबिरा

सबिरा खातुन भंगा बोकेर कवाड बटुल्दै हिँडिरहेकी थिई। उसका अघिअघि ऊजस्तै दुई तीनजना केटीहरू उसैगरी भंगा बोकेर कवाड बटुल्दै हिँडिरहेका थिए। उसको पछिपछि कवाड बटुल्ने ऊभन्दा ठूला केटाहरू आइरहेका थिए। तिनीहरूले अघिदेखि उनीहरूलाई पछ्याइरहेका थिए। फोहोर शब्दहरू बोलेर जिस्क्याउँदै थिए।

सबिरा भित्रभित्रै डराउँदै हिँडिरहेकी थिई। एउटा केटाले पछाडिबाट उसको छाती बेस्सरी माडिदियो। उसलाई नराम्रोसँग दुख्यो। ऊ रुन पनि सकिन। उसलाई त्यो केटासँग एकदमै रिस उठ्यो। मुहझौंसा बजरखसुवा... भनेर एकपटक गाली गरी। त्यो केटा राक्षसजस्तो हाँस्दै अझै उसलाई पछ्याइरह्यो। अब ऊ डरले छिटोछिटो हिँड्न थाली। अरू केटीहरू पनि छिटोछिटो हिँड्न थाले। उनीहरू छिटोछिटो हिँडेको देखेर केटाहरू हाँस्दै कराए, ‘भगलई छौंडी सब।’

सबिरा पन्ध्र वर्षकी भई। तर ऊ हेर्दा तीस वर्षकी जस्तो देखिन्छे। सायद तीस वर्षको उमेरमा त ऊ बूढी पनि हुन्छे होली। सबिराको परिवारको नाउँमा न घर छ, न जग्गाजमिन। सम्पत्तिको नाउँमा केही छैन उनीहरूको। सहरको सडक छेउमा एउटा सानो झुप्रो थियो। त्यो पनि सडक विस्तार गर्ने क्रममा भत्काइयो। अनि उनीहरूको उठिबास भयो।

उनीहरू सहरनजिकैको एउटा खाली जग्गामा सानो छाप्रो बनाएर बसेका छन्। त्यही छाप्रोलाई उनीहरू घर भन्छन्। त्यही उनीहरूको घर भएको छ। त्यो खाली जग्गाको पनि महिनाको चार हजार भाडा तिर्नुपर्छ। बेलैमा भाडा नबुझाउँदा साहूले जग्गा खाली गर् भनेर धम्की दिन्छ। त्यसैले नखाएर पनि उनीहरू जग्गाको भाडा तिर्छन्, नलाएर पनि भाडा तिर्छन्। यति गर्दा मात्रै ढुक्कले त्यो छाप्रोमा बस्न पाउँछन्। नत्र त कुनै पनि बेला त्यहाँबाट पनि उठिबास हुन्छ।

बस्नलाई छाप्रो त छ तर राति सुत्नलाई न ओढ्ने छ, न त ओछ्याउने नै छ। जसोतसो आफैंले बुनेको परालको सुकुल ओछ्याउँछन् र सुकुल नै ओढेर सुत्छन्। जाडोको तीनचार महिना कालै आएजस्तो लाग्छ उनीहरूलाई। परार साल सबिराकी कान्छी बहिनी माघको जाडोमा चिसोले कठ्यांग्रिएरै मरी। पुसमाघको ठिहीमा कठ्यांग्रिएरै मर्छु कि भन्ने चिन्ता सधैं हुन्छ उनीहरूलाई। त्यसैले जाडो त कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्छ उनीहरूलाई। तर गर्मीले पनि उनीहरूलाई सताउन भने छोड्दैन। एकातिर लामखुट्टे, उपियाँ र उडुसले टोकेर उनीहरू रातभर सुत्न सक्दैनन् अर्कोतिर छाप्रोभित्र साँप पसेर डस्ला भन्ने डरले रातभर निदाउनै सक्दैनन्। गरिबलाई त जहाँ पनि र जहिले पनि दुःख र पीरै मात्र छ।

खानेपानी र नुहाइधुवाइ गर्न चापाकल छैन। टाढा खोलादेखि पानी ल्याएर खान्छन्। खोलामै नुवाइधुवाइ गर्छन्। दिसापिसाब गर्न अँध्यारो बेला चौडीमा जान्छन्।

सबिरालाई गल्लीको भुस्याहा कुकुरसँग त्यति डर छैन, जति मान्छेसँग छ।

खोलामा नुहाउन लाग्दा आवारा केटाहरू आएर हेरिरहन्छन्। एक्लै भेटे हातपात पनि गर्न खोज्छन्। एक दिन सबिरा खोलामा एक्लै नुहाइरहेकी थिई। टोलकै एउटा केटाले पानीमा लछारपछार पार्‍यो। उसको छाती माड्यो र ओठ चुस्यो। बगरमा ल्याएर उसलाई जबरजस्ती गर्न खोज्यो। उसले बल्लबल्ल भागेर आफ्नो इज्जत जोगाई।

त्यसैगरी अँध्यारोमा चौडीमा दिसापिसाब गर्न बस्दा पनि उसैगरी केटाहरूले दुःख दिन्छन्। फरकफरक दिनमा फरकफरक केटाहरू लुक्दै आउँछन् र सबिरालाई सताउँछन्। उसको छातीमा त्यस्तो के छ कुन्नि, जो पनि उसको छाती नै माड्न खोज्छन्। उसको ओठमा त्यस्तो के छ कुन्नि, जो पनि उसको ओठै चुस्न खोज्छन्। सबिरा छक्क पर्दै सोच्छे, यस्तो उसलाई मात्रै पर्छ कि अरू केटीहरूलाई पनि पर्छ भनेर।

ऊ आफूमाथि भएको दुव्र्यवहारबारे आमालाई सुनाउँछे। आमा रुँदै भन्छे, ‘ऐहन सहनाई हमरा नसिबमें लिखलछई। कैलाकि हम सब गरिब छी। गरिबके जवानी ओकरालेल अभिशाप होई छै।’

सबिराले बल्ल बुझी किन केटाहरूले सधैं उसलाई गिजोल्न खोज्छन् भन्ने कुरा। सहरमा धेरै स्कुल छन्। उनीहरूको घर भन्ने छाप्रोनजिकै पनि हाइस्कुल छ। उसकै उमेरका अरू धेरै केटीहरू सफा ड्रेस लगाएर स्कुल गए र अझै पनि जाँदै छन्। तर सबिराले स्कुलको दैलो टेकेकी छैन। त्यसैले स्कुलको कक्षाकोठा कस्तो हुन्छ उसलाई थाहा छैन। स्कुलका सर र मिस कस्ता हुन्छन्, उसले चिनेकी छैन। उसले मात्रै होइन, उसको दाइ र दिदीले पनि स्कुल देखेका छन्, तर स्कुलको दैलो टेकेका छैनन्। किनभने उनीहरूको बाबुआमासँग छोराछोरीलाई स्कुल पढाउने हैसियत नै छैन।

आफ्नै उमेरका केटीहरू स्कुल ड्रेस लगाएर चुल्ठी हल्लाउँदै स्कुल गएको देखेर सबिरालाई पनि स्कुल जाऊँजाऊँ लाग्छ। तर ऊ जान पाउँदिन। गाँस जुटाउन दिनभर भंगा बोकेर कवाड नबटुल्ने हो भने भरे सबै भोकै सुत्नुपर्छ। कति रात त भोकै सुतेका पनि छन्। पानी पर्‍यो भने, सहरमा आन्दोलन भयो भने र कफ्र्यु लाग्यो भने उनीहरूले भोकै सुत्नुपर्छ। त्यसैले पानी, आन्दोलन र कफ्र्यु शत्रु हुन् जस्तो लाग्छ सबिरालाई।

सबिराको बाउ सहरमा रिक्सा चलाउँथ्यो। त्यही पैसाले साँझमा दाल, चामल अथवा पिठो किनेर ल्याउँथ्यो। उसकी आमाले पनि दिनभर खेतबारीमा डुलेर अलिअलि झिक्राहरू बटुल्थी। त्यही झिक्रा बालेर ऊ खाना बनाउँथी र खुवाउँथी।

रिक्सा चलाउन जाँदाजाँदै सबिराको बाउलाई रक्सी खाने बानी लाग्यो। ऊ बिहानै रिक्सा लिएर जानासाथ फतिमाको पसलमा गएर खाली पेटमा निस्तै एक गिलास रक्सी खान्थ्यो। उसैगरी दिउँसो पनि मान्छे ओसार्दाओसार्दा भोकले लखतरान भएपछि अर्को एक गिलास रक्सी खान्थ्यो। अनि साँझमा घर फर्कने बेलामा फेरि एक गिलास रक्सी खान्थ्यो। खाजा भने खाँदैनथ्यो। पसलमा खाजा खाने पैसाले परिवारका सबैलाई एक छाक भात खान पुग्छ भनेर ऊ खाजा खाँदैनथ्यो।

खाली पेटमा रक्सी खाँदाखाँदा एक दिन रक्सीले नै सबिराको बाउलाई खायो। तारन्तार खोकी लागेपछि एक दिन सबिराको बाउले सहरको एउटा मेडिकलमा देखायो। मेडिकलको कम्पाउन्डरले टीबी लागेजस्तो छ, डाक्टरलाई देखाएर औषधि खानुपर्छ भन्यो। तर उसले डाक्टरलाई देखाएर औषधि खाएन वा खान सकेन। तर रक्सी भने खान छोडेन। अनि एक दिन रिक्सा चलाउँदा चलाउँदै रगत छादेर ऊ बाटोमै मर्‍यो। सबिराको परिवारमा बज्रपात पर्‍यो।

गरिब परिवारमा एउटा बाउ नहुँदा पनि धेरै फरक पर्ने रहेछ। यो फरकको अनुभूति सबिराका परिवारले गरे। बिहान बेलुकीको छाक टार्नेदेखि परिवारको सुरक्षामा प्रश्नचिह्न खडा भयो। बाउको मृत्युमा शोक मानेर बस्ने फुर्सद पनि सबिराको परिवारलाई भएन। सकेको गर्नैपर्ने बाध्यता सबैलाई आइपर्‍यो।

सबिराका दाजु र दिदी कवाड बटुल्ने काममा लागे। सबिरा पनि उनीहरूकै पछि लागी। गल्ली, चोक, चौराहा, हाटबजार र बसपार्क छेउछाउमा कवाड बटुल्नु उनीहरूको दैनिकी बन्यो। दमकी रोगी आमाले भने छाप्रो कुर्न बस्थी।

दिनभर बटुलेको कवाड बेचेर सबिरा, उसको दाइ र दिदी साँझमा दाल, चामल, नुनतेल र तरकारी आदि सकेको किनेर लिएर आउँथे। उनीहरू सघाइदिन्थे र दमकी रोगी आमा सकी नसकी पकाउने काम गर्थी।

केही दिन बिते। महिना बिते। वर्ष पनि बिते।

सबिराको दाइ सहरमा काम खोज्न जान्छु भनी गयो। तर फर्केर आएन। सबिराकी दिदी पनि एउटा मालिकको घरमा काम गर्न बसेकी थिई। ऊ पनि त्यहीँबाट गायब भई। पोइल गई कि कसैको पछि लागेर बम्बई पुगी, कसैलाई थाहा भएन। बाँकी रहे सबिरा र बूढी आमा मात्रै। बूढी आमा, त्यसमाथि दमकी रोगी, केही गर्न सक्दिन। अब घर भन्ने छाप्रोभित्रको सम्पूर्ण जिम्मेवारी सबिरामाथि नै आइपर्‍यो। अब ऊ आफैं र आफ्नी आमाको पनि अभिभावक बनी।

सबिरा दिनभर गल्ली, चोक, चौराहा, हाटबजार र बसपार्क छेउछाउ डुलेर कवाड बटुलेर आउँथी। घरमा आउँदा झोलामा अलिकति चामल, दाम, नुनतेल र तरकारी पनि लिएर आउँथी। अब पकाउने काम पनि उसैमाथि खप्टिएको थियो। आमा दम बढेर केही गर्न नसक्ने भएकी थिई। रातभर खोक्थी। निदाउन सक्दिनथी। उसले खोकेको आवाजले गर्दा सबिरा पनि रातभर राम्रोसँग सुत्न सक्दिनथी। बिहानीपख निद्रा लाग्लाजस्तो हुँदा बाहिर मानिसहरूको हल्लीखल्ली सुरु भइसक्थ्यो। अनि सबिरा मन नलागीनलागी उठ्थी। उठेपछि ऊ पर खोलासम्म गएर पानी ल्याउँथी। पानी लिएर आउँदा बाटोमा केटाहरूले घुरेर हेर्थे। ऊ डराईडराई घर आउँथी।

छोरीको माया लागेर एक दिन आमाले भनी, ‘बेटी, तहुँ कनिकऽ पैसा जोगाड कऽकऽ एकटा पुरानो रिक्सा किनले। सब दिन पैदल चइलकऽ कवाड समेट्नाई से हो दिक्कते होई छई।’

सबिरालाई आमाले आफ्नो मनकै कुरा गरेजस्तो लाग्यो। दिनभर भंगा बोकेर कवाड बटुल्न हिँड्दा उसलाई निकै थकाइ लाग्थ्यो। चप्पल लगाए पनि कति पटक उसको पैतालामा फलाम र सिसाले काटेको छ। तर उसलाई यसरी फलामले काट्दा टिटानसको सुई लिनुपर्छ भन्ने थाहा छैन। अहिलेसम्म सुई लिएकी पनि छैन। घाउ पाक्नु र दुख्नु उसका लागि सामान्य बनेको छ।

आमाले भनेजस्तै उसले अलिअलि पैसा जोगाड गरी र एउटा पुरानो रिक्सा किनी। त्यो रिक्सा किन्न उसलाई सहरको कवाड साहूले अलिअलि आर्थिक सहयोग गर्‍यो। सहयोग गरेबापत साहूले एक दिन सबिराको शरीरसँग खेलेर असुल गर्‍यो। सबिराले नाइँनास्ती गरिन। उसले नूनको सोझो गरी। धेरैले धेरै पटक उसको शरीरसँग खेल्ने प्रयास गरे तर पाएनन्।

पहिलो पटक कवाड साहूले खेल्यो उसको शरीरसँग। उसको सहमति भएको हुँदा साहूले कुनै जोरजबरजस्ती गर्नु परेन। उसले आनन्दपूर्वक खेल्यो र मन लागुन्जेल खेल्यो सबिराको शरीरसँग। सबिरालाई पनि पहिलो पटक अलिकति अर्कै खालको अनुभूति भयो। केटाहरूले जबरजस्ती गिजोल्दाको भन्दा फरक अनुभूति। अनि कताकता आफ्नै शरीरले पनि खोजेको जस्तो मीठो आनन्दको अनुभूति।

सबिराको कुमारी शरीरसँग खेल्न पाएर साहू खुसी भयो। बक्सिस पनि दियो सबिरालाई। त्यही बक्सिसले सबिराका आमाछोरीले एकछाक मीठो गरी मासुभात खाए।

अब सबिरा रिक्सामा भंगा राखेर कवाड बटुल्न हिँड्न थाली। ऊ दिनभर रिक्सा डोर्‍याउँदै गल्ली, चोक, चौराहा, हाटबजार र बसपार्क छेउछाउ कवाड बटुल्थी। फ्याँकिएका प्लास्टिकका बोत्तल, फलामका टुक्रा जे भेट्थी त्यो भंगामा हाल्थी। रिक्साले अब उसले भंगा बोकेर हिँड्नु परेन। सररर रिक्सामा गुड्दा उसलाई आनन्द आउँथ्यो।

सबिराले रमाउँदै कवाड बटुल्ने काम गरिरही। कवाड बटुल्दै हिँड्दा कवाड बटुल्ने केटाहरूसँग जम्काभेट हुन्थ्यो। कहिलेकाहीँ केटाहरूसँग झगडा पथ्र्यो। उनीहरू उसलाई जथाभावी गर्न खोज्थे, ऊ रिक्सा डोर्‍याउँदै भाग्थी। घर भन्ने छाप्रोमा पुगेर ऊ मनमनै आफैंलाई प्रश्न गर्थी, ‘सब कइला हमर शरीरसँ मात्र खेल चाहैत छई ?       कि हमर शरीर खेलौना छई ? ’ सहरमा ऊभन्दा धेरै राम्रा तरुनी केटीहरू निस्फिक्री हिँड्छन्, डुल्छन्। तिनलाई कसैले केही गर्दैनन्। तर उसलाई चाहिँ जसले पनि मौका हेरी हेरी किन गिजोल्न खोज्छन् ?       त्यो उसले बुझ्न सकेकी छैन।

दिनभर कवाड बटुलेर साँझ घर फर्कंदा ऊ झन् भयभीत हुन्थी। कसरी घर भन्ने त्यो छाप्रोसम्म सुरक्षित फर्कने भन्ने पीरले ऊ पिरोलिन्थी। किनभने बाटोमा ढुकेर उसलाई घुरेर हेर्ने आँखाहरू बढेका थिए। उसलाई गिजोल्न खोज्नेहरू बढेका थिए। ऊ भित्रभित्रै आतंकित हुन्थी।

एक दिन सुनसान ठाउँमा आइपुगेपछि एउटा न जवान न बूढो, अधबैंसे मान्छेले उसको बाटो छेक्यो। उसले रिक्सा दौडाउन खोजी। तर उसले रिक्सा नै रोक्यो। उसलाई तानेर सडकभन्दा पर खेतमा लग्यो र उसलाई जबरजस्ती गर्न थाल्यो। सबिराले सक्दो प्रतिकार गरी। तर उसको केही सीप लागेन। त्यो बलिष्ठ पाखुरा भएको मान्छेले सबिरालाई कर्‍यापझ्याप पारेर आफ्नो कब्जामा लियो। सबिराको छाती माड्यो। ओठ चुस्यो। अनि त्यही गर्‍यो, जेका लागि उसले त्यत्रो दुस्साहस गरेको थियो।

त्यो मान्छेले आफ्नो मिसन पूरा गर्‍यो। जाँदाजाँदै उसले खल्तीबाट एउटा औषधिको पत्ता झिकेर सबिरालाई दिँदै भन्यो, ‘ले ई खो, पेटसँ नई हेबे।’

सुनेर सबिरालाई बेसरी रुन मन लाग्यो। ऊ रोई र एकछिनसम्म रोइरही। उसलाई एकपटक त्यो मान्छेको अनुहार नियालेर हेर्ने हेक्कासम्म पनि भएन। त्यो मान्छे तृप्त भएर आफ्नो बाटो लाग्यो। सबिरालाई आफ्नो जिन्दगीसँग निकै विरक्त लाग्यो। आँपगाछीमा झुन्डिएर मरूँ कि भन्ने विचार पनि आयो। तर उसले त्यस्तो गर्न सकिन। किनभने उसलाई पर्खेर बस्ने दमकी रोगी उसकी आमा छ।

सबिरा रुँदै रिक्सा डोर्‍याएर घर भन्ने छाप्रोमा पुगी। उसको हालत देखेर आमाले अन्दाज लगाई कि आज छोरी लुटिएर आई। उसले छोरीलाई के भयो भनेर सोध्ने आवश्यकता पनि ठानिन। आफैं रुन थाली।

सबिराले रुँदै भनी, ‘गे माई, अपना सब गरिब नई रैहती तऽ ऐहन सह पैर्तो ? ’ (आमा, हामी गरिब नभएको भए यस्तो सहनु पथ्र्यो ? )

आमा केही नबोली रोई मात्र रही। सबिरा पनि आफ्नो भाग्य सम्झेर रोइरही। त्यो घर भन्ने छाप्रोभित्र धेरै बेरसम्म आँसुका दुइटा नदी बगिरहे।

भोलिपल्ट बिहानै दमले लामोलामो सास फेर्दै आमाले भनी, ‘बेटी, आब तु कवाड समेट नई जो।’

सबिराले अचम्म मानेर आमालाई हेरी र भनी, ‘कवाड समेट नई जेबौ तऽ कि खाकर बचबे ? ’

‘बरु तुँ हमर मालिकलग काम कर। ओहिठाम् काम करबे तऽ बहुते कुकुरसबसँ तोरा नई नोचाय् पर्तौ।’ आमाले सबिराको कपाल सुमसुम्याउँदै भनी।

सबिरा चुप लागिरही। उसले आमाको कुरा ठीक हो कि बेठीक केही सोच्नै सकिन।

दुई दिनसम्म सबिरा कवाड बटुल्न गइन। गल्ली, चोक, चौराहा, हाटबजार र बसपार्क छेउछाउमा सबिराकै बारेमा कुरा भए— सबिरा कहाँ गई ?

तेस्रो दिन सबिरा मालिकको घरमा देखा परी। सबिरा अब मालिकको नोकर्नी भएकी थिई।

सबिराको कर्म बदलियो तर भाग्य बदलिएन। मालिकले पनि उसलाई लुछ्न बाँकी राखेन। गएको तेस्रो दिनमै घरमा अरू कोही नभएको मौका पारी मालिकले सबिराको शरीरसँग खेल्यो।

सबिरा त्यहाँबाट पनि भागेर फेरि त्यो घर भन्ने छाप्रोमा आइपुगी। आमाले फेरि पनि बुझिहाली, छोरी कुकुरबाट लुछिएर आएको कुरा। उसले पर्तिर हेरेजस्तो गरेर आँसु झारी।

सबिराले रोइरहेकी आमालाई झकझक्याएर भनी, ‘गे माई, अपना मधेसमे बहुतो बेटीके पेटेमे मारिदेने छई। तहुँ हमरा ओहिनाक कैला नै मारी देले ?       कैला हमरा जन्मेले ? ’

आमाले केही जवाफ दिइन। खाली बर्बर्ती आँसु झारेर रोइरही।

सबिराले फेरि रिक्सामा भंगा राखेर कवाड बटुल्न थाली। ऊ पुरानो भइसकेको रिक्सा डोर्‍याएर उसैगरी गल्ली, चोक, चौराहा, हाटबजार र बसपार्क छेउछाउ कवाड बटुल्दै हिँड्न थाली। उसका पछिपछि भुस्याहा कुकुरहरू भुक्दै आउँछन्। ऊ भुइँको ढुंगा टिपेर हान्छे। कुकुरहरू भुक्दै भाग्छन्। सबिरालाई गल्लीको भुस्याहा कुकुरसँग त्यति डर छैन, जति डर मान्छेसँग छ।

जे–जस्तो बेहोर्नु परे पनि सबिराले कवाड बटुल्न छोडिन। कवाड बटुल्न छोडे ऊ र उसकी आमा भोकै पर्छन्। जसरी सबिराले कवाड बटुल्न छोडिन, उसैगरी केटाहरूले उसलाई गिजोल्न छोडेनन्। अनि अँध्यारोमा लुकेर बस्नेहरूले उसलाई खेतमा सुताएर आफ्नो तिर्खा मेट्न पनि छोडेनन्। सबिरा सबथोक सहन बाध्य भई, अलिअलि आफ्नो लागि र अलिअलि आमाको लागि। ऊ नभए आमा कसरी बाँच्थी र !

फेरि पनि दिनहरू बिते। महिनाहरू बिते। वर्षहरू पनि बिते।

सबिरा अहिले तीस वर्षकी भई। तर ऊ साठी वर्षकी जस्तो देखिन्छे। अर्थात् ऊ बूढी देखिई। अचेल कवाड बटुल्न हिँड्दा सबिरालाई कसैले घुरेर हेर्दैनन्। कसैले पछ्याउँदैनन्। कसैले गिजोल्ने प्रयास पनि गर्दैनन्।

सहरमा सबिराजस्तै कवाड बटुल्ने अरू धेरै कुमारी केटीहरू छन्। सबिरालाई ताक्ने आँखाहरू अचेल तिनै कुमारी केटीहरूतिर सोझिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.